सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउन सुरू भएपछि मैले धेरै किताब पढेँ। तिमध्ये एक हो साहित्यकार झमक कुमारी घिमिरेले लेखेकाे 'जीवन काँडा कि फूल'।
झमकको जन्म २०३७ साल असार २१ गते धनकुटा नगरपालिका वडा नं ३ किचिडेमा भएको हो। उनले पिता कृष्णबहादुर घिमिरे र माता आशादेवी घिमिरेको पहिलो सन्तानको रूपमा जन्म लिइन्। यो किताब उनको आत्म जीवनपरक निबन्ध हो।
हरेक मानिस जन्मँदाखेरी उस्तै देखिन्छन्। तर जब वढ्दै जान्छन्, अरूभन्दा फरक हुँदै जान्छन्। साँच्चै भन्ने हो भने हरेक मानिस एकअर्का भन्दा फरक हुन्छन्। त्यस्तै थिइन झमक पनि। उनी अरू मानिस भन्दा धेरै फरक थिइन्। हात गोडा नचल्ने र मुखबाट स्वर नआउने थियो उनको शरीर। उनलाई मस्तिष्क पक्षघात भएको थियो।
झमकलाई यस्तो रोग लागेको छ भनेर त्यो बेला नेपाली समाजलाई थाहा थिएन। उनलाई बहुअपाङ्ग भनेर हेला गर्थे। सानो छँदा उनलाई माया गर्ने एक मात्र उनको हजुरआमा थिइन्। जब हजुरआमाको मृत्यु भयो तब उनको कष्टकर जीवन आरम्भ भयो। उनी अरूभन्दा अवोध थिइन्। यो कुरा कसलाई थाहा थियो र?
उनका बाबाआमाले उनलाई धेरै गाली गर्थे। दिउँसो कोही नभएको बेला उनले घस्रीघस्री आफ्नो लुगा फोहोर बनाउने गर्थिन्। फूल टिपेर भुइँभरी छरिदिन्थिन्। सफा गरेर राखेका भाँडाकुँडामा माटो हालेर फोहोर पारिदिन्थिन्। कहिलेकाहीँ गोठमा रहेको गाई फुकाइदिन्थिन्। बच्चा न हो, छुकछुके भइहाल्छ नि भन्ने कोही थिएनन्। गाली गरेर झापड दिने मात्रै थिए।
झमकका भाइ र बहिनी पनि थिए। जब उनीहरू विद्यालय जान्थे तब झमकको मन चसक्क हुन्थ्यो। आफू पनि कापी किताब समातेर विद्यालय जान पाए हुन्थ्यो भन्ने उनको मनमा खेलिरहन्थ्यो। जति विद्यालय जाने धोकाे उनमा आउँथ्यो उनले त्यति नै आत्मबलका साथ अक्षर चिन्न कोशिस गरिन्। सफल पनि भइन्।
माटोमा सिन्काले लेखेर, ढुङ्गामा सितले लेखेर अक्षर सिकेरै छोडिन्। सुन्ने शक्तिको सहयोगबाट उनले अरूले भनेको सुनेर शब्द निर्माण गर्न सफल भइन्। सुरूसुरूमा यसो गर्दा झमककी बहिनी मीनाले आमाबाबुलाई कुरा लगाइदिएकाले उनले धेरै गाली खाइन्। तर पनि कापी र कलमको सहायताले लेख्ने उनको धोका पूरा गर्न कहिल्यै पछि परिनन्।
झमक जतिजति ठूली हुँदै गइन त्यति नै उनले बहिनी मीनाको साथ पाउँदै गइन्। त्यसपछि उनी साहित्यका किताब पढ्न सक्ने भइन्। यसरी नै उत्साहित हुँदै आफ्नो पहिलो किताब 'संकल्प' प्रकाशित गर्न सफल भइन्। त्यसपछि अझै किताब निकालेर एक सफल साहित्यकार बन्न सफल भइन्।
'जीवन काँडा कि फूल' किताबले मदन पुरस्कार जितेको छ। यो किताबले मानिसलाई धेरै कुरा सिकाउँछ। हात, खुट्टा भएका मानिसले मेहनत गरेर भविष्य उज्ज्वल बनाउनुपर्छ र जति पनि कठिन समय किन नआओस् त्यसको सामना गर्नु नै पर्छ भन्ने यस किताबको मूख्य पाठ हो।
मलाई यो किताबको त्यो क्षण मन पर्यो जसमा मीनाले आफ्नी दिदीलाई किताब किनेर ल्याइदिन्थिन् किनभने पहिले आफ्नो किताब छुन नदिने मीनाले दिदीलाई भनेर किताब ल्याइदिएको परिवर्तन थियाे।
मलाई यो किताब पढ्न धेरै रमाइलो लाग्यो। मैले धेरै कुरा सिकेँ। सुखदुःख बुझ्न यो किताब ज्यादै उपयोगी छ। त्यसैले सबैलाई एकपटक यो किताब पढ्न सिफारिस गर्छु।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)