सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नेपालको सन्दर्भमा सामाजिक रूपमा सदियौंदेखि जरो गाडेको जातीय विभेद १९१० सालमा जंगबहादुर राणाद्वारा जारी मुलुकी ऐनले कानुनी मान्यता पायो। जसका कारण सम्पूर्ण जनता, सामाजिक–सांस्कृतिक समूहलाई उच्च र तल्लो जातको सीमारेखा कोरियो।
उच्च जात हुनुको मतलब उच्च किसिमको अवसर प्राप्त गर्नु, उच्च ओहदामा बस्नु, उच्च सुविधाहरू उपभोग गर्नु, तल्लो जातलाई हेप्न र कजाउनका लागि स्वभाविक रूपमा अधिकार पाउनु भन्ने भयो। त्यस्तै, तल्लो जाति हुनुको मतलब तल्लो स्तरको काम गर्नु, कम सम्मान पाउनु, र माथिल्लो जातिबाट हेपिएर बस्नु, उनीहरूको सेवामा तल्लीन हुनु भन्ने भयो।
राजा महेन्द्रद्वारा १९६३ सालमा जारी मुलुकी ऐनले त्यसलाई प्रतिस्थापन गर्यो। राजा महेन्द्रद्वारा जारी मुलुकी ऐनले कानुनी रूपमा जातीय भेदभाव र छुवाछुत अन्त्य त गर्यो तर त्यसको व्यावहारिक कार्यान्वयन र सामाजिक प्रभाव भने शून्य रह्यो।
मलाई लाग्छ, कानुन नै बनाएर नेपालमा जातीय विभेदलाई दण्डनीय बनाइएको घोषणा गरिएको भए पनि व्यवहारमा भने जातीय विभेद कायमै रहेको छ। भर्खरै भएको रूकुम घटनाले पनि प्रस्ट पार्छ। कर्णाली प्रदेशको पश्चिम रूकुमस्थित आफ्नी ‘उच्च जातीय’ प्रेमिकाको घर जाने प्रयत्न गर्दा जाजरकोटका २१ वर्षीय नवराज विक र उनका साथीहरू मारिएको घटना समाचारमा आएको हामी सबैलाई थाहा छ। कठै बिचरा! प्रेमको वसन्त फुलाउने मीठो सपना बोकेर हिँडेका उनीले दलित भएकै कारण आफ्नो ज्यानको बलि दिन बाध्य भए।
बाँच्न पाउनु हामी सबैको अधिकार हो। के जातकै आधारमा अरूको ज्यान लिन पाइन्छ र? अन्तरजातीय प्रेम गरेकै कारण समाजले मानिसको अमूल्य जीवनलाई ढुंगामुढाले हानीहानी अन्त्य गर्यो। एक होइन, दुई होइन, ६ जनाको जीवन। यो दर्दनाक घटनाले मानवीय संवेदनामै प्रश्न उठाएको छ।
मेरो मनमा सधैं एउटा प्रश्न उठिरहनछ। आखिर कहिलेसम्म जातको नाममा मानिसले चुपचाप यो अन्याय सहिरहने? रूकुम घटना त केवल एउटा उदाहरण मात्र हो। विवाहको रोजाइदेखि मन्दिर प्रवेश गर्ने विषय अनि पानी छोएको निहुँमा दलितमाथि कुटपिट र आक्रमण हुँदा समेत त्यस्ता कानून प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेका दृष्टान्त समाजमा प्रस्ट देखिन्छ।
एक दिन अवश्य जातीय विभेदको अन्त्य हुनेछ। समाजमा जातका नाममा कुनै प्रकारको झगडा हुने छैन। नवराज जस्ता व्यक्तिले दलित भएर जन्मनुमा कुनै पीडा सहनु पर्ने छैन। म एउटा बालिकाले देखेको यो नयाँ नेपालको सपना चाँडै साकार हुनेछ।
जातीय विभेद अन्त्य गर्न पर्छ भनेर लेख लेख्दैमा, जुलुस निकाल्दैमा र भाषण दिँदैमा हट्दैन भन्ने त मलाई पनि थाहा छ। तर हामी सारा नेपालीले हातेमालो गर्दै 'हट्ने होइन, डटी लड्ने' नेपालीको नारालाई चरितार्थ गर्ने हो भने नेपाली समाजबाट यो विभेद अन्त्य हुन्छ भन्ने विषयमा कसैको दुई मत नहाेला।
(विभूषी तिमिल्सिना मदरल्याण मा.वि, पोखरामा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)