सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हामी सबै लकडाउनमा परेको दुई महिना भइसक्यो। हामीमध्ये कति अल्छी भइसक्यौं, कतिपयले आफ्नो दैनिक रूटिन सम्झिरहेका छौं।
कतिपय त घरभित्र बस्दाबस्दा निराससमेत भइसकेका छौं। यो स्वभाविक पनि हो। यसको सकारात्मक पक्ष पनि छ। यसरी घरभित्र बसियो भने कोरोना भाइरसको संक्रमण हुनबाट जोगिन्छौं। दोस्रो हाम्रो शरीरलाई चाहिने मात्रामा आराम र निद्रा पुगेको छ। न त हामीले कुनै लामो यात्रा तय गर्नु परेको छ, न त हाम्रा अभिभावकलाई बच्चाहरू विद्यालय पुर्याउने हतार नै छ।
लकडाउनका कारण हामीले घरमा पाकेको स्वस्थ खाना खान पाएका छौं। घरमा नै व्यायाम गर्ने समय मिलेको छ। यस समयमा घरमा आमालाई मद्दत गर्न सकिन्छ। यसले आमालाई घरको काममा केही सहज हुन्छ। यो परिवारसँग समय बिताउने राम्रो मौका हो।
कोरोना भाइरसका कारण धेरैजसो मानिसहरू त्रासमा छन्। यसरी खाली बसिराख्दा मानिसको मनमा अनेकौं सोच उत्पन्न हुन्छ। यस्ता सोचबाट भरसक टाढा रहने प्रयास गर्नु पर्छ। हामीले यति बुझ्न जरूरी छ कि यहाँ हुने हरेक कुरा अस्थायी हुन्। त्यसैले, मनमा धैर्य र आस्था राख्नुपर्छ। स्वस्थ्य रहने कोशिस गर्नु पर्छ।
म एसइईको तयारी गरिरहेको विद्यार्थी हो। हाम्रो परीक्षा रोकिएकाले हामीले कक्षा दशको पढाई गरेको चौध महिना भइसकेको छ। अब अझै कति महिना यही किताब पढिरहनु पर्ने थाहा छैन। मेरो पढाइको लागि म, मेरो परिवार र विद्यालयले चिन्ता लिएको छ। हामी विद्यार्थीले पाठ्यपुस्तक नभुलुन भनेर हाम्रो विद्यालयले अनलाइन कक्षा पनि संचालन गरेको थियो। धेरैजसो विद्यार्थीसँग अनलाइन कक्षाका लागि चाहिने सामग्री मोबाइल, कम्प्युटर र नेट नभएकाले अनलाइन कक्षामा सहभागी विद्यार्थी थोरै थिए। त्यसैले, यो कक्षा निरन्तर रूपमा चल्न सकेन।
लकडाउनले धेरै विद्यार्थीको भविष्यसँग खेल्ने त होइन? यो प्रश्नको जवाफ कोहीसँग छैन। एसइई परीक्षा यो वर्ष नहुने हो कि भनेर एक हिसाबले मलाई चिन्ता पनि लागेको छ। यदि यो वर्ष एसइई परीक्षा भएन भने हामीलाई एक वर्षको घाटा लाग्नेछ। यसैको कारण हामी एक वर्ष पछि पर्नेछौं। यदि हामीले एसइई परीक्षा तोकिएकै मितिमा लेखेको भए अहिले हाम्रो मनमा शान्ति हुने थियो। समयमा परीक्षा भएको भए नतिजा पनि समयमा हुने थियो होला। लकडाउनको समय समाप्त हुनसाथ कक्षा ११ को पढाइ सञ्चालन हुने थियो होला। हामीले समयको गतिलाई पहिले जसरी भेट्ने थियौ।
लकडाउनलाई पूर्ण पालना गरेर बसेका छौं तर लकडाउन खुले पछि के हुने हो थाहा छैन। स्वस्थ्य रहियो भने परीक्षा जहिले भए पनि हुन्छ भन्ने सोचेकी छु। यदि अहिले नभएमा पनि मेरो काम पढ्ने हो र म कामबाट पछि हट्ने छैन।
लकडाउनमा परेका धेरै मानिस आफ्नो परिवारको नजिक छैनन्। त्यो हाम्रो घरमा पनि लागू भएको छ। जस्तैः हाम्रो परिवार पनि सँगै छैनौं। लकडाउनपछि मेरो बुवा र भाइ गाउँको घरमा हुनुहुन्छ। दिदी काठमाडौंमा र घर इलाममा म र मेरी आमा मात्र छौं। तर हाम्रो हातमा भएको मोबाइलले उनीहरूसँग सम्पर्क गराएको छ।
म बिहान ५ बजेदेखि ६ बजे भित्रमा उठ्ने गर्छु। उठेर हात मुख धोएपछि घर बाहिरको पेटी सफा गरेर फूलमा पानी हाल्छु।
चिया पकाएर आमा र मसँगै खान्छौं। चिया खाइसकेपछि म १, २ घन्टा पढ्छु। त्यसपछि आमालाई सब्जी काट्न मद्दत गर्छु। खाना खाइसकेपछि केही समय इन्टरनेट चलाउँछु। इन्टरनेटको माध्यमबाट साथीहरूसँग गफ गर्ने र विभिन्न वेभसिरिज र भ्लग हेर्छु।
ग्लोबलाइजेसनको कारण कुनै पनि मुलुकको उत्पादन त्यही मुलुकभित्र मात्र सीमित रहँदैन। त्यसैले, भाषा बाधाको विषय रहेन। अंग्रेजी सबटाइटल भएकाले भाषामा समस्या छैन। त्यसैले, म चाइनिज, जापानिज र कोरियन सिरियलहरू हेरेर केही समय बिताउने गरेको छु। विशेषगरी जापानी एनिमेटेड सिरिज मलाई मन पर्ने सिरिज हो।
के-पपको संगीतले विश्वमा तहल्का मच्चाएको छ। नेपालमा पनि के-पपका फ्यान धेरै छन्। विशेष त बिटिएस (बे ग्रुप) को फ्यान र म पनि त्यसमा पर्ने गर्छु। युट्युबमा धेरै अमेरिकन भ्लगरलाई पनि फलो गरेकी छु। जसले गर्दा मेरो अंग्रेजी सिकाई राम्रो हुने र बोलीमा पनि सुधार हुने विश्वास राखेकी छु।
हामी समय र प्रकृतिसँग लड्न सक्दैनौं। त्यसैले यो समयमा धैर्य भएर जीविका चलाउनु पर्छ। जहिले समय कहाँ एकैनासको हुन्छ र? यो समयले पनि कोल्टे फेर्नेछ र फेरि पहिलेको जस्तै जीवन सुन्दर हुनेछ।
(नुगेन लक्सम्बा मन्टेश्वरी सेकेण्डरी स्कुल, इलामकी एसइई परीक्षार्थी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)