सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हामीलाई कोरोनाको संक्रमणबाट जोगाउन सरकारले २०७६ साल चैत ११ गतेबाट सुरू गरेको लकडाउन २०७७ जेठ ३२ गतेसम्म लम्बाएको छ। लकडाउनले गर्दा हाम्रो देशका सबै अफिस, कलेज र विद्यालय बन्द छन्। त्यसैले म जस्तै साना बालबालिका विद्यालय गएर पढ्न पाएका छैनौं।
लकडाउनको फुर्सदको समयमा मैले फरक फरक किसिमका किताब पढ्ने र महाभारत हेरेर बिताएकी छु। आज मैले महाभारतमा भएका पात्रहरूको नाम र उनीहरू सत्य वा असत्य के-को पक्षमा थिए भनेर लेखेकी छु।
श्रीकृष्ण, बलराम, मैया यशोदा, कंश, वासुदेव, देवकी, वलराम, राजा नन्दराज, स्वर्गका देवता इन्द्र, रोहिणी, राजा विराट, राजा द्रुपद, राजा पाण्डु, रानीहरू कुन्ती र माद्री, भिष्म पितामह, कुलगुरू कृपाचार्य, गुरू द्रोण, महामन्त्री विदुर, राजा भरत, राजा सन्तनु, रानी गंगा र सत्यवती, राजा धृतराष्ट्र, रानी गान्धारी, युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव तथा दुर्योधन, दुशासन, सकुनी, कर्ण, अश्वत्थामा, धृष्टध्युम्न, अभिमन्यू सञ्जय, सुभद्रा, हिडिम्बा, रूक्मिणी, कृपा, घटोत्कच, सिखण्डी, अम्बा, अम्बिका र अम्बालिका, जरा, जरासन्ध, आदि महाभारतका पात्र हुन्। पाण्डुका पाँच छोरालाई पाण्डव र धृतराष्ट्रका एक सय छोरालाई कौरव भनिन्छ।
महाभारतका पात्रहरूमा मलाई विदुर असाध्यै मन पर्छ। किनभने उनी सधैं सत्यको पक्षमा उभिन्छन्। त्यस्तै, मलाई दुर्योधन, दुशासन, सकुनी, धृतराष्ट्र मन पर्दैनन्, किनभने उनीहरू असत्यको पक्षमा उभिन्छन्। महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो। यो युद्ध पाण्डव र कौरव बीच भएको थियो। पाण्डवहरू धर्म र सत्यको पक्षबाट लडेका थिए भने कौरब अधर्म र असत्यको पक्षबाट लडेका थिए।
धर्म र सत्यको पक्षमा पाँच पाण्डवको साथमा भगवान श्रीकृष्ण, राजा द्रुपद, राजा विराट, धृष्टध्युम्न, अभिमन्यु, सिखण्डी, उत्तर, घटोत्कच, दुशासनको भाइ युयुत्शु र द्रौपदीका पाँचवटा छोरा थिए। अधर्म र असत्यको पक्षमा कौरबका उनान्सय भाइ, भिष्म पितामह, कुलगुरू कृपाचार्य, गुरू द्रोण, सकुनी, कर्ण, अश्वत्थामा, जयद्रत र मद्र नरेश शाल्य लगायतले युद्ध गरेका थिए।
महाभारतको युद्धमा मर्ने पहिलो व्यक्ति उत्तर हुन् र उनलाई मद्र नरेश शाल्यले मारेका थिए। अभिमन्युलाई चक्रव्युहमा पारी धेरै जना मिलेर मारेका हुन्। दुर्योधन र दुशासन दुवैलाई भीमले मारेका हुन्। भिष्म पितामह र जयद्रथलाई अर्जुनले मारेका हुन्। गुरू द्रोणलाई धृष्टध्युम्नले मारेका हुन् भने अश्वत्थामाले धृष्टध्युम्न र द्रौपदीका ५ वटा पुत्रलाई मारेका हुन्। गुरू द्रोणले द्रुपद र विराटलाई मारेका हुन् भने सकुनीलाई नकुलले मारेका हुन्।
(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा अध्ययनरत छिन्।)