सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अपिल पौडेल हो। हाल बंगलादेशको राजधानी ढाकामा बस्छु। म क्यानेडियन ट्रिलेनियम स्कुल गुलशन-२, ढाकामा कक्षा ५ मा पढ्छु। मेरो बाबा बिमम्स्टेक सचिवालयमा काम गर्नुहुन्छ।
बंगलादेशमा मार्च २६ देखि लकडाउन भएको हो। यस अवधिमा म र मेरो परिवार एउटा एपार्टमेन्टको चौघेराभित्र बन्द छौं। मूल ढोका काटेर बाहिर ननिस्केको आज दुई महिना बितिसकेको छ। १० कक्षामा उही विद्यालयमा पढ्ने मेरी दिदी अपेक्षा र म अनलाइन कक्षा पढिरहेका छाैं। हाल इदका कारण दुई हप्ताको बिदा छ।
कोरोना भाइरसको प्रकोप सुरू हुनुअघि हामी नियमित जस्तै नजिकै रहेको गुलशन पार्कमा जाने र खेल्ने गर्थ्यौं। पार्क जान नपाउँदा मलाई दिन कटाउन निकै गाह्रो भइरहेको छ। यसलाई मैले केही नयाँ काम सिक्ने अवसरको रूपमा लिएको छु। यसैअनुसार मेरो दैनिक तालिका बनाएको छु।
स्कुल जान हतार नभएकाले म आजभोलि बिहानको करिब सात बजे उठ्छु। बाबामामुसँग करिब एक घण्टा घरमै मर्निङ वाक र योग गर्छु। मेरो ब्रेकफास्ट आफैं बनाउँछु। ब्रेकफ्रास्टमा दूध र अमलेट लिन्छु। त्यसपछि अनलाइन क्लास भएको समयमा ८ः३० बजेदेखि कम्प्युटरमा बस्छु। हाम्रो क्लास स्काइपमा हुन्छ। प्रायः अंग्रेजी, विज्ञान, गणित र सामाजिक शिक्षाको क्लास हुन्छ। कहिलेकाहीँ बांगला, आर्ट र हेन्डराइटिङ पनि हुन्छ।
प्रायजसोः अनलाइन कोर्समा कुनै विषयमा छलफल तथा आ-आफ्नो प्रस्तुति गर्नुपर्ने हुन्छ। त्यसपछि म केहीबेर घरमै टेबलटेनिस खेल्छु। कहिलेकाहीँ टेलिभिजन पनि हेर्छु। हामी घरमा बाबामामु, दिदी र म पालैपालो कुनै विषयमा पावरप्वाइन्ट प्रस्तुति पनि गर्ने गर्छौं। यसबाट पनि सिकिरहेका हुन्छौं।
बंगलादेशमा मुस्लिम जनसंख्या धेरै छ। त्यसैले, हाल करिब दुई हप्ताको लागि इदको बिदा भएकाे हाे। यस अवधिमा अनलाइन कक्षा हुँदैन। यसबेला मैले गर्दै आएका शारीरिक अभ्यास, योग, किताब पढ्ने, खेल खेल्ने र टिभी हेर्ने अतिरिक्त मलाई जीवनभर आवश्यक पर्ने केही कुरा सिकिरहेको छु। यस समयमा मैले युट्युब हेरेर तथा मामुको गाइड लिएर विभिन्न प्रकारका खाना बनाउन सिकिरहेको छु। साधारण दाल-भात-तरकारी बनाउन सजिलो लागेको छ। पूर्ण रूपमा मैले नबनाए पनि मामुलाई यसका लागि सघाउने गर्छु।
यस अवधिमा मेरै अनुरोधमा मैले नै धेरै काम युट्युब हेरेर सिकेको कारण हामीले पिज्जा, लाफिङ, डोनट्स, प्याटी, केक, समोसा, रसवरी र रसमलाई बनायौं। आजभोलि प्रायजसो सलाद भने मैले नै बनाउने गरेको छु। चिया र ब्रेकफास्ट भने मैले नियमित बनाइरहेको छु। यसका साथै बिरयानी बनाउन पनि बाबालाई केही सहयोग गरेँ। मःम भने हामी नियमित रूपमा हप्ताको एक पटक बनाउने गर्छौं।
कोभिड-१९ ले जनजीवनलाई अवश्य पनि तहसनहस बनाएको छ। दैनिक क्रियाकलापमा फेरबदल आएको छ। घरमै बस्नु अनिवार्य भएकाले हामीसँग समय धेरै छ। यो समयलाई मैले अवसरको रूपमा नयाँ कुरा सिक्न उपयोग गरिरहेको छु। बढी भन्दा बढी पुस्तक पढ्ने काम गरिरहेको छु। जस्तै: एम्मा सेरिज, विम्पी किड्स सेरिज, क्याप्टेन अन्टरप्यान्टस सेरिज, जुडीमुडी, गुजबम्स र अरू नेपाली तथा अंग्रेजी कथाहरू।
एक दिन कोरोना भाइरस हाम्रो संसारबाट हटेर जानेछ। अनि फेरि हामी साथीभाइ तथा परिवारसँग भेट गर्न सक्नेछौं। सँगसँगै बसेर रमाइलो गर्न सक्नेछौं।
घर बसौं। सुरक्षित रहौं। जीवन बचाऔं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)