सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आराधना पराजुली हो। कक्षा ४ मा पढ्छु। मैले मेरो छुट्टीबारे लेखेकी छु।
२०७६ सालमा म तीन कक्षामा पढ्थेँ। चैतमा वार्षिक परीक्षा हुन लागेको थियो। म स्कुलको परीक्षा तयारी गरिरहेकी थिएँ। चीनको वुहानमा भने कोरोना सुरू भइसकेको थियो। त्यति बेला आमाले भन्नुभयो— कोरोना भाइरसले गर्दा हाम्रो अन्तिम परीक्षा अगाडि सार्ने रे। ५ गतेसम्म सकिसक्नु पर्ने भनेर सरकारले भनेको छ।
साँच्चिकै हाम्रो परीक्षा अघि सर्यो। यता परीक्षा सकियो, उता कोरोना विश्वभर फैलिँदै गयो। कोरोनाले गर्दा अहिले विश्वभर धेरै मान्छे मरिसकेका छन्। मेरो जाँच सकिएपछि रिजल्ट लिने दिन पनि तोकिएको थियो। हामी रिजल्ट लिएर मामाघर दमौली जाने विचार गरेका थियौं। तर भाइरसको डरले स्कुलले रिजल्ट लिन बोलाएन। स्कुलको एपबाट पास भएको सूचना पठाइदियो। स्कुलमा रिजल्ट लिन जान पाइएन तर कक्षा ३ बाट ४ मा जान पाएकोमा खुसी भएँ।
सरकारले लकडाउन घोषणा गरेकाले हामी दमौली जान पाएनौं। त्यहाँ मेरो मादी नदीमा खेल्न जाने विचार थियो। पोहोर साल म खेल्न गएकी थिएँ। यसपटक खेल्न पाइएन। मामाहरू र दिदीदादाहरूसँग मानुङ डाँडा पनि जाने विचार थियो। आन्टीको घर जाने भनेकी थिएँ, त्यो पनि पाइएन। म फन पार्क पनि जान चाहन्थेँ तर पाइएन। नमज्जा भयो।
यो लकडाउनले गर्दा मलाई दिक्दार लागिसकेको छ। मेरा साथीहरूलाई पनि दिक्दार लागेको छ। म लकडाउनमा पहिलेपहिले बाबासँग ब्याडमिन्टन खेल्थेँ। तर ब्याडमिन्टनको तार चुँडियो। त्यही भएर खेल्न पाइएको छैन। त्यसपछि साँझ बाबासँग अलिअलि फुटबल खेल्न थालेँ।
अलि पछि छिमेकी साथीहरूसँग खेल्न थालेँ। एउटी साथी लकडाउन सुरू हुँदा चितवन गएकी थिइन्। उनीहरू फर्के। तर हामी उसँग केही दिन खेलेनौं। तर अहिले खेल्न थालेका छौं।
अहिले हाम्रो स्कुलको अनलाइन क्लास चलिरहेको छ। दिनमा एउटा वा दुइटा कक्षा हुन्छ। कक्षाहरू भने स्कुलमा पढाउने जस्तो राम्रो लागेको छैन। घरि अनलाइनमा समस्या आउँछ। घरि सुनिँदैन। अनलाइन क्लासका कारण साथीहरूसँग अलिअलि बोल्न पाइयो तर स्कुलमा जस्तो खेल्न पाइएको छैन।
मलाई यो लकडाउन कहिले खुल्ला र स्कुल जान पाइएला जस्तो भइरहेको छ। साथीहरूसँग भेट्न र खेल्न पाइएला जस्तो भइरहेको छ।
(आराधना पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)