सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसले गर्दा हाम्रो स्कुलमा हुने परीक्षा पात्रोमा दिइएको भन्दा पहिले नै सकिने सूचना आयो। यसकारण हाम्रो बिदा पनि छिटै हुने भएको थियो। यसले खुसी हुने त हामी धेरै थियौं। साथै केही दुःखी पनि थिए। कसैलाई आफ्नो परिवार र आफन्तहरूको चिन्ता थियो त कसैलाई भाइरसको डर। यत्तिकैमा हाम्रो परीक्षा कहिले सकियो पत्तै भएन।
महिनाको अन्तमा स्कुल बिदा हुने गर्थ्यो। स्कुलबाट बाहिर निस्केपछि म जहिलै बजारको नास्ता गर्थेँ तर यस पटक त बाहिर निस्कने बित्तिक्कै मनमा एक प्रकारको डर उत्पन्न भयो। बजारको नास्ता खाने त के सोच्न समेत हिम्मत भएन।
त्यति खेर नेपालमा एक-दुई जनालाई मात्रै कोरोनाको प्रकोप देखिएको थियो। त्यसैले हामी हतार हतार बसको टिकट काटेर धनगढीको लागि प्रस्थान गर्यौं। त्यसबेला मेरो घर तिर धेरैले कोरोनालाई गम्भीर रूपमा लिइसकेका थिए। तै पनि कोही यस्ता पनि थिए जो कोरोनालाई मजाकको रूपमा लिइरहेका थिए।
तर अब भने कोरोना एउटा महामारी भइसकेको छ। यसलाई गम्भीरतापूर्वक लिएर लकडाउनको सदुपयोग गर्दै घरमा बस्यौं भने यो रोग संसारबाट लुप्त हुन धेरै समय लाग्ने छैन।
हामी प्रायजसो मोबाइल, ल्यापटप, ट्याब, आदि चलाएर लकडाउन बिताउने गर्छौं। चेस जस्ता बुद्धिका खेलहरू खेलेर, खाना, चिया आदि पकाउन सिकेर आमाबाबुलाई सघाएर लकडाउनको सदुपयोग गर्यौं भने हाम्रो पनि फाइदा हुन्छ र आमाबुबा पनि खुसी हुनुहुन्छ।
(प्रान्जल गैरे बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)