सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले भरिएको सानो र सुन्दर देश हो। नेपाल पर्यटकहरूले धेरै मन पराउने देशहरूमध्ये मुख्य दशमा पर्छ।
प्रदूषणले गर्दा भने नेपाल र राजधानी काठमाडौं धुँवाधूलो र फोहोरी भइसकेको थियो। अहिले विश्वमै फैलिएको कोरोना महामारीले गर्दा विश्व नै लकडाउनमा छ। हामीले यो लकडाउन शब्द पनि यही कोरोना त्रासमा थाहा पाएका हौ। लकडाउनले गर्दा प्रकृतिलाई भने धेरै फाइदा पुगेको छ। काठमाडौं पनि स्वच्छ हराभरा र सुन्दर भएको छ।
पहिले गाडीहरूको ट्याँट्याँटुँटुँसँगै धुँवाधूलोले ढाकिने सहर अहिले सफा र शान्त बनेको छ। काठमाडौं उपत्यकाको चारैतिरका डाँडाकाँडा तथा हिमाल छर्लङ्ग देखिएका छन्। नेपालमा भएका बाटा, वनजंगल, नदी आदि सफा र सुन्दर देखिएका छन्। यो वसन्त ऋतुको बेलामा डाँडाकाँडा, रूख बिरूवा, फूलका बोटहरू सुन्दर देखिएका छन्। मलाई त आजकल काठमाडौं सहर हेरिरहूँ जस्तो लागेको छ।
लकडाउनले गर्दा बाहिर निस्कन नमिले पनि घरको कौसीबाट प्रकृतिको आनन्द लिइरहेको छु। विश्वका धेरै प्रदूषित सहरहरू पनि अहिले सफा भएका छन्। कतिपय सहरहरूमा जंगली जनावरहरू पनि हिँडेको हामीले समाचारमा देखेका छौं।
म बुढानिलकण्ठ स्कुलको होस्टलबाट छुट्टीमा घर आउँदा बाटोमा धुँवाधूलोले उकुसमुकुस हुन्थे।
कहिले यो सहर सफा र सुन्दर देख्छु होला भन्ने कुरा मनमा खेलाउँथें। अहिले महामारीको त्रासमा प्रकृतिले भने सुन्दरता पाएको छ।
विश्वलाई लकडाउनको कारण धेरै कुरामा हानी नोक्सानी भए पनि प्रकृतिलाई धेरै फाइदा पुगेको छ।
भोलि आउने दिनहरूमा प्रकृतिलाई यस्तै जोगाई राख्न के गर्नुपर्ला भनेर सोच्न पर्ने समय आएको छ।
(कार्यषु सुवेदी बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)