सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले विश्वका धेरै देशमा लकडाउन छ। नेपालमा पनि लकडाउन भएको कारण हामीहरू घरबाहिर निस्कन पाएका छैनौं। कोरोनाले विश्वभरी आतंक मच्चाएका कारण हामी सुरक्षित भएर बस्न जरूरी छ।
मलाई त अचम्म लाग्छ कि, हामी अचेल पिँजडामा रोखेको चरा जसरी बाँच्नु परेको छ। यो सबैमा कसको दोष छ त? यो सबै हामीले गर्दा त भएको हो नि।
हामी प्रकृतिविरुद्ध गएका छौं। रातभर अबेलासम्म घुमफिर गर्ने, ल्यापटप, मोबाइल कम्युटर चलाएर ढिलो सुत्छौं। बिहानभर बेडमै बसिराख्छौं। र करेसाबारीको ताजा तरकारीको सट्टा फ्रिजका जंक फुड खाने गरेका छौं। खान नहुने कुरा खाएर, ध्यान, योग नगरेर हामीले आफ्नै जीवनको शक्तिलाई चिनेका छैनौं। त्यसैले त यस्तो बिमारीको जन्म भयो।
अहिले त कोरोना मात्र होइन क्यान्सर, डिप्रेसन, मानसिक तनाव र अन्य बिमारले गर्दा मानव जातिलाई हानी भएको छ। यो सबै हाम्रो त्यही नराम्रो बानीले भएको हो।
परीक्षापछिको छुट्टिमा मैले केही नयाँ सिक्ने वा गर्ने योजना बनाएकी थिएँ। ममीसँग योगका आसनहरू सिक्ने, बाबासँग रेडियो एफएममा 'एन्करिङ' सिक्ने योजना बनाएकी थिएँ। तर लकडाउनले मेरो इच्छा पूरा हुन पाएन। तपाईंहरूसँग पनि मेरो जस्तै कति राम्रा इच्छा र योजना थिए होलान्। तपाईंका धेरै इच्छा पनि पूरा हुन पाएनन् होला।
जब सरकारले लकडाउन घोषणा गर्यो, लकडाउन भनेको के हो थाहै थिएन। बाबाले लकडाउनमा घरबाट बाहिर निस्कन मिल्दैन भन्नुभएपछि मलाई अचम्म लाग्यो। यो नयाँ कुरा थियो। अब घरबाट बाहिरै ननिस्कीकन कसरी बस्न सकिएला भन्ने पिर पनि पर्यो।
सुरूसुरूमा त मलाई मेरो स्कुलको साथीहरू र शिक्षकहरूको धेरै याद आयो। छिट्टै स्कुल जान मन लागेको थियो। तर मैले मेरो समयलाई सदुपयोग गरेँ। धेरै कुरा सिकिरहेकी छु।
म बिहान सधैं ६ बजे उठेर १ घण्टा ममी र भाइसँग बसेर योग गर्छु। त्यसपछि भाइसँग खेल्ने र सधैं २ घण्टाजति पढ्ने लेख्ने गर्छु। कहिलेकाहीँ नाच सिक्ने पनि गरेकी छु। हामी सबै परिवार बेलुकातिर चेस, लुडो र ब्याडमिन्टन खेल्ने पनि गरेका छौं। मैले ममीसित खाना पकाउन पनि सिकिरहेकी छु। सधैं मिठो मिठो खाना र खाजा आफ्ना परिवारका लागि बनाएकी छु।
यो समयमा सकभर कम मोबाइल वा ट्याब चलाएर र नयाँ कुरा सिकिरहेकी छु। तपाईंहरूले पनि आफ्नो लकडाउनको सदुपयोग गर्नु भएको होला। स्कुलका केही साथीहरूले सायद विभिन्न कला र गार्डेनिङ सिकेर समय सदुपयोग गरिरहनुभएको होला।
मैले त लकडाउनलाई खुसी र रमाइलो बनाउन 'लिग जक्सन डटकम'ले आयोजना गरेको 'हाउ क्रियटिभ' भन्ने खुल्ला भिडिओ प्रतियोगितामा एउटा रचनात्मक भिडिओ बनाएर अनलाइनमार्फत सहभागिता जनाएकी छु। यसमा मलाई बाबा र ममीले सहयोग गर्नुभयो। तपाईंहरूले पनि आफनो कला देखाउन भिडिओहरू बनाउनुस्। लेख्ने र बोल्ने प्रयास गरेर लकडाउन सदुपयोग गर्न सक्नु हुन्छ।
सुरूमा जे सोचेकी थिएँ, लकडाउन त्यस्तो भएन। अहिले मलाई कत्ति पनि बोर लागेको छैन। किनकी बाबाममी र हजुरआमासँग अघाइन्जेल बसेर कति धेरै नयाँ र रमाइलो कुराकानी गर्न पाएकी छु। हजुरआमाले आफ्ना पुराना दिनबारेमा बताउनु हुन्छ।
लकडाउन अगाडि भाइ र घरको सानो पप्पीसँग खेल्ने समय निकाल्न शनिबार मात्रै कुर्नु पर्थ्यो। अहिले हामी दिनदिनै खेल्छौं, चल्छौं र रमाउँछौं। हामी यति धेरै नजिक र आत्मीय भएका छौं कि लकडाउन हाम्रो लागि वरदान साबित भएको छ। पहिले ममीबाबासँग बोल्न पनि समय कम हुन्थ्यो। सधैं स्कुल र ट्युसनको हतार हुन्थ्यो। अहिले हामी सबै फुर्सदमा छौं। बाबाममी र हजुरआमाको साथले हरेक दिन रमाइलो हुन्छ।
यो डरलाग्दो भाइरसले विश्व डराइरहेको छ। तर यसले घर परिवारलाई फुर्सद दिएको छ। खुसी पनि ल्याएको छ।
आशा गरौं वैज्ञानिकले चाँडै यसको औषधि निकाल्ने छन्। विश्वभरका सबै स्कुल, बाटो र एअरपोर्ट खुल्ने छन्। र हामी त्यो गल्ती गर्ने छैनौं जसले गर्दा प्रकृति रिसाओस्। अब विश्वलाई एउटा सन्दुर प्राकृतिक बगैँचा बनाऔं। प्रकृति आमा समान छिन्। उनी विरूद्ध जानु हुँदैन।
(मानुषी भण्डारी कुमुदिनी होम्स मावि गैह्रापाटन, पोखरामा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)