सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार! म आरूषी सापकोटा। पाठशाला नेपाल फाउन्डेसनमा कक्षा तीनमा पढ्छु। मैले वार्षिक परीक्षापछि बिदाको लामो समय कुरिरहेकी थिएँ। बिदामा बाहिर घुम्न जाने, खेल्ने, मनपर्ने कुराहरू किन्न भाटभटेनी सुपर मार्केट जाने, आइसक्रिम खाने, ट्याबलेट हेर्ने, किताब पढ्ने र आफैंले एउटा साहसिक कथा समेटिएको पुस्तक तयार गर्ने आदि रमाइला काम गर्ने सोच बनाएकी थिएँ।
मेरो घर नेपालगञ्ज हो। आमाले मलाई बिदामा नेपालगञ्ज जाने योजना सुनाउनुभएको थियो। उहाँको कुरा सुनेर म एकदमै खुसी भएको थिएँ। त्यो बेलै मैले त्यहाँ गएर आफूँलाई मन लागेका थुप्रै काम गर्ने सपना आँखामा सजाएको थिएँ। कक्षा ३ को वार्षिक परीक्षा चैत ९ गतेदेखि सुरू हुने भएको थियो। यसपाली कोरोनाका कारण मिति नै सर्यो। हतार हतार फागुनको २८ गतेबाटै सुरू भयो र चैतको ४ गते नै सकियो।
परीक्षाको अन्तिम दिन बेलुकी विद्यालयको बसमा चढेर घर आइपुगेँ। मैले ह्यान्डवासले २० सेकेन्डसम्म हात धोएँ र आमासँग गएँ। मेरी आमा पत्रकार हुनुहुन्छ। आमाले मलाई कोरोनाका बारे जानकारी दिनुभयो। यसबाट म अत्ति नै डराएँ। उहाँले यसरी आत्तिन नहुने तर सजग हुनुपर्ने भन्नुभयो।
यो रोग चीनको वुहान सहरबाट सुरू भएको रहेछ। वुहान सहरबाट सुरू भएको त्यो भाइरस विश्वका थुप्रै देशमा तीव्र गतिमा फैलिएको मैले थाहा पाएँ। कोरोनाको कारण म अहिले घरभित्रै बस्न बाध्य छु। बाहिर कतै निस्कन पाएको छैन। घुम्न जान पनि पाएको छैन। यो त अति नै डरलाग्दो रोग रहेछ। मान्छेदेखि मान्छे डराउनुपर्ने। सुन्दा पनि अति नै डर लाग्छ। घरमा पनि आमा र बुवाका बीचमा यही रोगका विषयमा नै कुराकानी हुन्छ।
बिदा भएको लामो समय भइसकेको छ। सधैं डराएर बस्ने कुरा पनि त भएन। यसबीचमा मैले युट्युबमा केही जीवनोपयोगी कुरा पनि सिकेकी छु। समाचार पनि सुन्छु र यस्तो बेलामा अपनाउनुपर्ने साबधानीका बारेमा पनि सजग छु। यो समयमा चोरहरूले घरमा आएर चोरी गर्न सक्ने चेतनामूलक भिडिओ पनि हेरेकी छु। उक्त भिडिओमा २ जना चोर कुनै एउटा घरमा पुगेर घण्टी बजाउँछन्। त्यसपछि त्यो घरको आमाले ढोका खोल्छिन्। ती चोरहरूले आफूँहरू सरकारले खटाएर किटनाशक औषधी छर्कन आएको जानकारी गराउँछन्।
उनीहरू साँचै नै सरकारले पठाएका मान्छे होलान् भनेर ती आमाले पत्याउँछिन् र चोरहरूलाई औषधी छर्कन कोठामा लान्छिन्। त्यहीबेला चोरहरूले ती आमा र उनकी छोरीलाई बेहोस बनाउँछन्। घरमा भएका सबै गरगहना र पैसा लुटेर लान्छन्। मैले यो भिडिओबाट उपयोगी जानकारी पाएँ। हामीले लकडाउनको बेलामा कोही पनि अपरिचित व्यक्तिलाई घरभित्र छिर्न दिनुहुँदैन।
बिदाका समयमा मैले अरू पनि थुप्रै कामहरू जान्ने मौका पाएँ। घरका काम गर्न सिकें। पनीर, आलु र भाण्टा तथा आलु चनाको तरकारी पकाउन सिकें। चिया पकाउन पनि जानिसकेकी छु। लकडाउनकै बेला ‘आरुषीज् किचेन‘ युट्युब च्यानल पनि सञ्चालनमा ल्याएकी छु। त्यहाँ खानेकुरा पकाउने आइडिया सेयर गरेकी छु।
घरको काममा आमालाई सघाउँछु। उहाँले थुप्रै काम सिकाउनुभएको छ। मलाई लकडाउनका बेला मेरा कक्षाका साथीहरू निवेदा, शिक्षा, प्रगशी, सियाना, शुभांगी, सृष्टि, म्रन्मई, तथा सान्वीको याद आइरहन्छ। उनीहरूले कसरी दिन बिताइरहेका होलान् भनेर सोचिरहन्छु। तर यस्तो बेलामा उनीहरूको घर जानुहुँदैन र बोलाउनु हुँदैन भन्ने मलाई थाहा छ। बेला बेलामा फोन गर्ने र एकअर्काको हालखबर सोध्ने गरेका छौं।
कोरोनाबाट सुरक्षित रहन डिटोलले २० सेकेन्डसम्म हात धुने, घरबाहिर नजाने, अतिआवश्यक काम भए मास्क र पञ्जाको प्रयोग गर्ने र सेनिटाइजारको पनि प्रयोग गर्ने कुराको जानकारी मलाई छ। यदि आफूलाई यो भाइरसको लक्षण देखिएमा तुरून्तै अस्पतालमा गएर रगतको जाँच गराउनुपर्छ। प्रशस्त मात्रामा तातोपानी पिउने र सुख्खा खोकी लागेको मानिसको नजिक जान नहुने आमा र बुवाले सिकाउनुभएको छ।
मैले त यो लकडाउनमा भविष्यमा काम लाग्ने धेरै कुरा सिके। अझैं कति समयसम्म घरभित्रै बस्नुपर्ने हो थाहा छैन। त्यसैले यो समयलाई उत्कृष्ट बनाउन र पढाई लेखाई लगायतमा ध्यान दिन म सबैलाई अनुरोध गर्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)