गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्।
केसीले आगामी २०२३–२५ कार्यकालका लागि बुधबार जुममार्फत् उम्मेदवारी घोषणा गरेका हुन्।
केसीले औपचारिक घोषणामा आफूले एनआरएनएमा विगतमा खेलेको भूमिकाको चर्चा गर्दै अधुरा काम पूरा गर्नका लागि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताएका छन्।
अक्टुबर १७ देखि २० गतेसम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनमा उम्मेदवारी दिँदै केसीले संस्थागत सुधार लगायतका विभिन्न प्रतिबद्धता प्रस्तुत गरेका छन्।
उनी संघको केन्द्रीय कोषाध्यक्ष, महासचिव र उपाध्यक्ष हुँदै वर्तमानमा कार्यकारी अध्यक्ष छन्।
केसीलाई साथ दिँदै उपाध्यक्षमा हेमराज शर्मा, रामशरण सिंखडा, महासचिवमा गौरीराज जोशी लगायतले उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनएको आसन्न निर्वाचनमा महेश श्रेष्ठ, आरके शर्मा र रविना थापाले पनि यसअघि अध्यक्ष पदको उम्मेदवारको दाबेदारी प्रस्तुत गरेका छन्।
गत निर्वाचनमा तीव्र विवाद देखिएपछि एनआरएनएमा कुल आचार्य, रबिना थापा र बद्री केसीलाई सहमतिमा आलोपालो अध्यक्ष हुने गरी संघमा ३ अध्यक्षको व्यवस्था गरिएको थियो।
आगामी निर्वाचनको लागि निर्वाचन समितिले ४ हजार २ सय २७ जना सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। यसपटकको निर्वाचनमा प्रत्यक्षको अलावा इलेक्ट्रोनिक माध्यमबाट डेलिगेटस्टसले संसारको जुनसुकै देशबाट पनि मतदान गर्न सक्नेछन्।