परदेशमा रहेका नेपाली समुदायले विश्वका विभिन्न देशबाट आएका समुदायहरूसँग सहकार्य गर्दै आफ्नो संस्कृतिको प्रवर्द्धन गर्दै आएका छन्। सोही सिलसिलामा बेलायतको बेजिंगस्टकमा 'बेजिंगस्टक मल्टिकल्चरल फोरम' ले संसारका विभिन्न देशहरूबाट आएका समुदायले आ-आफ्ना परम्परागत संस्कृति प्रदर्शन गर्न 'विश्व मेला' सम्पन्न गरेको छ।
गत शनिबार स्थानीय इस्ट्रप पार्कमा भएको मेलामा २७ देशका ७५ वटा संस्थाहरूले सहभागिता जनाएका थिए।
बेजिंगस्टक मल्टिकल्चरल फोरमका अध्यक्ष शिवजी श्रेष्ठले भने, 'आफ्नो मौलिक संस्कृति भनेको नै आफ्नो समुदाय र देशको पहिचान हो। एक्लैभन्दा पनि मिलेर सहकार्य गर्दा अझ सामूहिक सफलता पाइन्छ। त्यसैले स्थानीय सरकारसँग मिलेर अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान चलाएका हौं।
पूर्व नेपाल प्रहरीका अधिकृत श्रेष्ठ विगत १८ वर्षदेखि बेलायतमा बस्दै आएका छन्।
मेलामा सबै समुदायले आ-आफ्नो समुदायको सांस्कृतिक झलक, नृत्य प्रदर्शन गरेका थिए।
बिहान दस बजेदेखि सुरू भएको उक्त कार्यक्रमको सुरूमा आ-आफ्नो देशका राष्ट्रिय एवं जातीय पोशाक लगाएका समूहले स्थानीय सांसद मारिया मिलर, नेपाली राजदूतावास, बेलायतका नियोग उपप्रमुख रोशन खनाल, बेजिंगस्टक तथा डिन काउन्सिलका मेयर डेभिड लिक, काउन्सिल लिडर डा पल हार्भे, काउन्सिलरहरूसहित भएर सांस्कृतिक परेड गरेका थिए।
परेडपछि भएको विभिन्न देशबाट आएका स्थानीय समुदायको तर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
सो अवसरमा बेजिंगस्टक स्थित बेजिंगस्टक नेपाली समुदायको तर्फबाट लिम्बू जातिको धाननाचसहित 'माथि माथि सैलुंगे' मा भन्ने गीतमा नाच पनि प्रस्तुत गरेका थिए। नेपाली कलाकारहरूले लगाएका लिम्बू जातिको पहिरनको बारेमा धेरै बेलायती र अन्य देशका स्थानीयबासीले चासो राखेका श्रेष्ठले बताए।
मेलालाई सम्बोधन गर्दै नेपाली राजदूतावासका खनालले संसारका विभिन्न देशहरूबाट बेलायत आएर बसोबास गर्नेहरूले एकापसमा सहकार्य गर्दै आ-आफ्नो देशको संस्कृति र परम्परा जोगाउन गरेको प्रयास सराहनीय भएको बताइन्। यसका लागि स्थानीय काउन्सिल तथा मेयरको भूमिकाको प्रशंसा पनि गरिन्।
कार्यक्रममा उपस्थित पाहुना एवं आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गरेका संस्था तथा व्यक्तिहरूलाई फोरमका अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरे।
स्थानीय काउन्सिलका अफिसर रोसका अनुसार कोभिडका कारण ३ वर्षसम्म रोकिएको विश्व मेलामा यसपटक तीन हजार जनाभन्दा बढीको उपस्थिति रहेको बताए।
यस अघि क्यारेबियन, नाइजेरियन र भारतीयले नेतृत्व गरेकामा पहिलोपटक नेपालीले नेतृत्व गरिरहेको सो फोरममा अफ्रिकन, एसियन, युरोपियन, क्यारेबियन, अरेबिक समुदायका ७५ वटा संस्थाको आबद्धतामा यहाँका काउन्सिल, राष्ट्रिय स्वास्थ्य सेवा, प्रहरी, सांसद समेतको संलग्नतामा विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्।