बीबीसी मास्टर सेफ विजेता सन्तोष साहले आफ्नो सृजनाका नेपाली रेडिमेड मौलिक परिकारहरु विश्वभर पुर्याउने उद्देश्यले ‘नेपाल फूड्स’ सँगको सहकार्यमा यूरोप, अमेरिका तथा अष्ट्रेलियाको बजारमा पुर्याउने उत्पादनहरुको औपचारिक शुरुवात गरेका छन्।
नेपाल फूड्सको प्याकेजिङमा तयारी मौलिक परिकारको सोमबार बेलायतको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ मा उदघाटन गरिएको छ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, सेफ सन्तोष शाह र नेपाल फूड्सका डाइरेक्टर विकास नेपालले नयाँ उत्पादनलाई संयुक्त रुपमा औपचारिक शुरुवात (लाउन्च) गरेका थिए।
नेपाल फूड्सले बजारमा ल्याएका नेपाली परिकारमा कालो मासको दाल, मुस्ताङको दाल, क्वाँटी, आलु बोडी ताँमा लगायतका नेपाली मौलिक परिकारहरु रहेका छन्। उपरोक्त परिकारहरु ‘हिट एण्ड ईट’ तताउने र खाने गरी तैयारी प्याकेजिङ गरिएको बताईएको छ ।
नेपाल फूड्सका डाइरेक्टर विकास नेपालले कम्पनीले नेपाली मौलिक खानाहरु यूरोपियन बजारमा यसअघि नै ल्याईसकेको र सेफ सन्तोष साहसँगको सहकार्यमा नयाँ स्वाद सहितको नेपाली खाना बजारमा ल्याउन पाउदा खुसी लागेको बताए।
कार्यक्रममा सेफ सन्तोष साहले नेपाली परिकारहरु विश्वभर फैलाउने उद्देश्यले आफूहरू कार्यरत रहेको बताए। उनले विश्वमा नेपाल चिनाउने एउटा प्रभावकारी माध्यम नेपाली खाना हुने कुरा औल्याएका थिए।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली खाना मार्फत नेपाललाई विश्वमा परिचित गराउने कार्यको सराहना गरेका थिए। खानाको माध्यमले नेपाली संस्कृतिको समेत प्रवर्द्धन हुने उनको भनाई थियो। राजदूत आचार्यले विदेशमा नेपाली उत्पादनको बिक्री वितरणले द्विपक्षीय ब्यापारको विस्तारमा समेत टेवा पुग्ने बताए।
कार्यक्रममा कम्पनीको च्यारिटी ‘विंङ’ नेपाल फुड्स फाउन्डेसनको समेत उद्घाटन गरिएको थियो। नेपालमा कृषकलाई सहयोग पुग्ने गरी फाउन्डेसनले काम गर्ने बताईएको थियो। नेपाल फुड्स फाउन्डेसनले ‘ नेपालमा शिक्षा, स्वास्थ्य र जीवनस्तरको क्षेत्रमा परोपकारी काम गरिरहेको ‘फेज वर्ल्डवाइड’ संस्था संगको सहकार्यमा काम गर्ने छ ।
‘फेज वर्ल्डवाइड’ का डाईरेक्टर बिली करिएर ले नेपाल फुड्स फाउन्डेसनको सहकार्यमा नेपालमा काम गर्न पाउनु नेपाली जीवनस्तर सुधारमा परिवर्तन ल्याउने उपयुक्त अवसर रहेको बताएका थिए ।
कार्यक्रममा बेलायती विदेश मन्त्रालयका अधिकारीहरु सहित सम्बद्ध क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो।
नेपाल फुड्सले यसअघि नै नेपाली स्वादमा टिमुर, करेला, कोदो जस्ता मौलिक खाना तथा मसलाको प्रयोग भएका तैयारी खाजा तथा विभिन्न खानाहरु यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा आयात तथा विक्री वितरण गर्दै आएको छ।