लन्डन, साउन २८
बेलायतमा बस्ने नेपालीले रक्षाबन्धन तथा जनै पूर्णिमा उल्लासका साथ मनाएका छन्।
लन्डनको पशुपतिनाथ मन्दिर प्लमस्टिडमा जनैपूर्णिमा तथा रक्षाबन्धन विशेष पूजाआजा सहित मनाईएको छ।
मन्दिर परिसरमा प्रत्येक वर्ष जस्तै साउन शुक्ल पूर्णिमाका दिन सयौं आस्थावान सहभागीले रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाईएको हो ।
मन्दिरमा जनै तथा रक्षा बन्धन पुजनको लागि पण्डित निलहरी घिमिरे, विनोद पन्थी, आनन्द लोहनी सहित नेपालबाट बेलायत भ्रमणमा आएका गुरूहरू समेतको सहभागितामा रुद्राभिषेक, सप्तऋषि पुजन सहित बिशेष पूजाआजा सम्पन्न गरिएको थियो।
रक्षा बन्धन ग्रहणको लागि बिहान ७ बजे देखि नै मन्दिरमा सयौं व्यक्तिहरुको घुईँचो लागेको थियो। मन्दिरमा बालबच्चा परिवार सहित मन्दिर आएका दर्शनार्थीहरु नेपालकै झल्को मेटाउने गरी आयोजित अनुष्ठानमा रमाई रहेका थिए।


पशुपतिनाथ मन्दिरका अध्यक्ष दाशु पाण्डेले झन्डै १ हजार जनाले मन्दिरमा रक्षा बन्धन ग्रहण गरेको जानकारी दिए।
मन्दिरमा दैनिक पूजा आरती सञ्चालनका अलावा नेपाली धार्मिक सांस्कृतिक पर्वहरुमा विशेष पूजा आजा आयोजना हुँदै आएको छ।
यसैबीच बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पनि सपत्नी पशुपतिनाथ मन्दिर लन्डनमा रक्षा बन्धन ग्रहण गरेका छन्।
राजदूत सँगै दूतावासका द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरु पनि समारोहमा सहभागी भएका थिए।
रक्षा बन्धनको उपलक्षमा शुभकामना मन्तब्य दिदै राजदूत आचार्यले विदेशमा नेपाली संस्कृति र परम्परा गर्दै कायम राख्दै धार्मिक सांस्कृतिक र सामाजिक केन्द्रको रुपमा मन्दिर विकास गर्नु महत्वपूर्ण रहेको बताए।


उनले नेपाली संस्कृति र पहिचानको पर्वधन गर्न दूतावासको तर्फबाट सदैव सहयोग रहने बताए।
यसैगरी बेलायतको अल्डरसटस्थित शिव कल्चरल सेन्टरमा पनि स्थानीय नेपालीले रक्षाबन्धन गरेका छन्। पण्डित राम पाण्डेद्वारा जनै र डोरोको पूजा गर्दै ऋषि तर्पणी गरेपछि रक्षाबन्धन शुरु भएको थियो।
सेन्टर अध्यक्ष बाचस्पति रेग्मीका अनुसार बिहान र साँझ दुई चरण गरेर रक्षा बन्धनको समय निर्धारण गरिएको थियो।
त्यस्तै बेलायतका अन्य शहरहरु लन्डन ह्यारो, मिडल्याण्ड बरमिंघम, स्कटल्याण्डको ग्लास्गो र आयरल्याण्डमा पनि नेपालीहरुले स्थानीय मन्दिरहरुमा गएर रक्षाबन्धन ग्रहण गरेका छन्।