नेपालमा गुल्मी जिल्ला घर भई बेलायतमा बस्ने नेपालीले नेपाल झल्काउने गरी बार्षिक भेटघाट कार्यक्रम गरेका छन्।
गुल्मी जिल्ला समाज युकेको आयोजनामा बेलायतको अल्डरसटमा झन्डै १५ सयको उपस्थितिमा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो।
बेलायतका बिभिन्न शहरबाट बस कोच बुकिङ गरेरे सयौंको संख्यामा सहभागी गुल्मेली तथा समग्र नेपालीको जमघट अवलोकन गर्न लायक थियो।
कार्यक्रम हलमा औपचारिक कार्यक्रम चलिरहँदा बाहिर भने नेपालको पश्चिमी भेगमा प्रसिद्द सालैजो झ्याउरे, तीज गीत, भजन-चुटका लगायत गुल्मेली नौमती बाजाको प्रस्तुतीमा सहभागीहरु झुमेर नाचेको दृश्य निकै रोचक थियो। कार्यक्रममा नेपालबाट आएकी कलाकार शान्तारानी परियार सहित स्थानीय कलाकारहरुले भब्य प्रस्तुती दिएका थिए।
खुलाचौर सहितको हलको प्रांगणमा भएको नाचगान, खानपान लगायतका कार्यक्रमहरुमा रमाएका नेपालीहरुले नेपालकै मौलिक महोत्सवको झल्को मेटाएको बताए। कार्यक्रममा उल्लेख्य संख्यामा आफ्ना परिवारजन भेट्न बेलायत आएको अवसरमा यस्तो नेपाली उत्सव देखेर उनीहरु दंग थिए।
संस्थाका अध्यक्ष बीर बलालले सांस्कृतिक कार्यक्रम पूर्वको औपचारिक कार्यक्रमको अध्यक्षता गरेका थिए। प्रमुख अथितिको रुपमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले शुभकामना मन्तब्य दिदै बेलायतमा बस्ने गुल्मेलीले नेपालको मौलिक संस्कृतिलाई यहाँ पनि जीवन्त बनाएकोमा धन्यवाद ज्ञापन गरेका थिए।
संस्थाकी उपाध्यक्ष मन्जु भण्डारी खरेलले संयोजन गरेको कार्यक्रमलाई एनआरएन युके अध्यक्ष प्रेम गाहा मगर लगायतले सम्बोधन गरेका थिए।
सन् २००७ मा स्थापना भएको गुल्मी समाजले नेपाल र बेलायतमा बिभिन्न परोपकारी कामहरु गरेर प्रसिद्दी कमाएको छ ।






