नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समस्याउन्मुख नेपालको अर्थतन्त्रमा सहयोग पुर्याउन विदेशमा बस्ने नेपालीलाई नेपालमा आर्थिक लगानी तथा डलर खाता खोलेर सहयोग गर्न अपिल गरेका छन्।
नेपाल पत्रकार महासंघ बेलायतको १० औं वार्षिकोत्सवको अवसरमा लण्डनमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले उपरोक्त कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै ढकालले बेलायतमा बस्ने नेपालीले पाउण्डमै खाता खोलेर स्वदेशी तथा विदेशी मुद्रा दुवैमा खर्च गर्न सकिने साथै धेरै ब्याज समेत आय हुने भएकोले सरकारले उपलब्ध गराएको सुविधाको लाभ लिन अनुरोध गरेका हुन्।
उनले कोरोना महामारी र रसिया युक्रेन युद्धलगायतका कारण विश्वमै देखिएको बताउँदै आर्थिक तरलताको असर नेपालमा पनि देखिएको बताए। उपाध्यक्ष ढकालले गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न समेत आव्हान गरे।
‘प्रतिफलको हिसाबले पनि यताभन्दा उता (नेपालमा) को लगानी बढी फलदायी रहने कुरा हाम्रो अनुभवले देखाएको छ’, एनआरएन सँगको सहकार्यका लगानीको हवाला दिदै ढकालले भने। विदेशमा बस्ने नेपालीले पूँजी, प्रविधि र ज्ञानमार्फत मातृभूमीलाई सहयोग गर्न सक्ने बताए। नेपालमा प्रशस्त लगानीका सम्भावनाहरु रहेको उनको भनाई थियो।
बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थिति रहेको पत्रकारको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पत्रकार महासंघ बेलायतको सक्रियता उदाहरणीय रहेको बताए।
उनले पत्रकारिता समाजको ऐनामात्र नभएर यसले समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिता मर्यादित हुन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनाल, एनआरएनए आईसीसी उप महासचिव राम शरण सिंखडा, एनआरएन यूके उपाध्यक्ष नारायण कंडेल लगायतले सम्बोधन गरेका थिए ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्था स्थापनादेखि आजको दिनसम्म ल्याइपुर्याउन योगदान गर्ने संस्थापक तथा अग्रजप्रति सम्मान व्यक्त गर्दै शाखालाई अभिभावकको रुपमा सहयोग, संरक्षण गर्दै आएको बेलायतको सिंगो नेपाली समुदायप्रति आभार प्रकट गरेका थिए ।
त्यस्तै कार्यक्रममा अग्रज पत्रकारहरु खगेन्द्र नेपाली र सुमन खरेल, शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, फोनिज यूके अध्यक्ष गोमा राना, नेपाल प्रेस युनियन यूके उपाध्यक्ष एभरेष्ट गौतम, पत्रकार ददि सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा विशेष वक्ताका रुपमा बीबीसी वर्ल्ड सर्भिसमा पर्यावरण रिपोर्टरका रुपमा कार्यरत पत्रकार नवीनसिंह खड्काले आफ्नो अनुभव सुनाएका थिए।
समारोहमा दशौँ वार्षिकोत्सवका अवसरमा प्रकाशित शाखाको ‘दशौँ वर्ष विशेष स्मारिका’ विमोचन गरिएको थियो ।
समारोहमा यस वर्षको ’एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ पत्रकारद्वय नवीन पोखरेल र खेमराज रानाभाटलाई प्रदान गरियो। प्रमुख अतिथि राजदूत आचार्य, समाजसेवी रविजंग लामिछाने र पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले ५ सय दुई पाउन्ड नगद र सम्मानपत्रसहितको पुरस्कार वितरण गरेका थिए।
सोही अवसरमा शाखाले संस्थापक कार्यसमितिका पदाधिकारीहरु, संरक्षक तथा सल्लाहकार लगायत महासंघमा सहयोग पुर्याउने बिभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा लन्डनलगायत बेलायतका बिभिन्न स्थानबाट नेपाली संघसंस्था, सामाजिक तथा व्यवसायिक व्यक्तित्व सहित उल्लेख्य रुपमा समुदायका प्रतिनिधिहरु सहभागी थिए ।