बेलायतका व्यावसायिक लगानीकर्ताले आफूहरू नेपालमा लगानी गर्न उत्सुक रहेको बताएका छन्।
नेपाली दूतावास लन्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहिबार नेपाली दूतावास लन्डनमा ‘नेपाल लगानी सम्मेलन’ मा लगानीकर्ताले यस्तो धारणा राखेका हुन्।
नेपालमा लागानी गर्ने सम्भावित लगानीकर्तालाई लक्षित गर्दै आयोजित कार्यक्रममा नेपाल लागानी बोर्डका कार्यकारी निर्देशक , बेलायतको आन्तरिक लागानी विभागका निर्देशक, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीका लगानीकर्ता लगायतले सम्बोधन गर्दै नेपाल नाफामुलक लगानीको लागि उपयुक्त गन्तब्य रहेको बताएका छन्।
सम्मेलनमा बिभिन्न सरोकारवाला कम्पनी तथा सरोकारवाला निकायका अधिकारीले लगानी तथा प्रतिफलका तथ्यांक प्रस्तुत गरेका थिए।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको सम्भावना औल्याएका थिए।
राजदूत आचार्यले नेपाल सरकार नेपालमा वैदेशिक लगानीलाई सहज बनाउन क्रियाशील रहेको बताउँदै नेपाल आर्थिक सम्वृद्धीको दिशामा अघि बढेको जानकारी दिए। उनले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरेका थिए।
बेलायतको आन्तरिक व्यापार विभागका ‘मेनुफ्याक्चरिङ इनर्जी एन्ड इन्फास्ट्रक्चर’ का निर्देशक रोडनी ब्राक्लीले बेलायतबाट नेपालमा हुने लागानी दुवै देशको लागि फाईदाजनक रहेको बताउदै यसमा बढावा दिनु पर्नेमा जोड दिए।
उनले आफ्नो विभाग लगानीकर्तालाई सल्लाह सुझाव र सहयोगको लागि तत्पर रहेको बताए। साथै उनले लगानीबाट प्राप्त हुने मुनाफामा दोहोरो कर प्रणाली खारेज हुनु पर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले नेपाल वैदेशिक लागानी लागि उपयुक्त गन्तब्य रहेको बताए।
निर्देशक भट्टले नेपालमा हाइड्रो, यातायात, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रको सम्भावना औंल्याउँदै यी क्षेत्रमा लगानी गर्न आग्रह गरे। साथै उनले सिमित संख्याका ठूला परियोजना भन्दा ठूलो संख्यामा साना लगानीलाई उत्प्रेरित गर्न लागिएको जानकारी दिए।
कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लागानी सम्बन्धी विस्तृत प्रस्तुतीहरु दिएका थिए। प्रस्तुतीमा नेपाल लगानी बोर्डले आगामी १० वर्षभित्र नेपालमा ५ वटा अन्तर्राराष्ट्रिय विमानस्थल, र वार्षिक ५ मिलियन पर्यटन भित्राउने लगायतका लक्ष्य लिएको जनाईको थियो।
कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले नेपालमा लगानीका चुनौतिको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा डोल्मा ईम्प्याक्ट फण्डका संस्थापक कार्यकारी अधिकृत टिम गोचरले नेपाल लगानीको लागि प्रसस्त सम्भवाना रहेको मुलुक भएको बताउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे।
उनले नेपालमा लगानीको क्षेत्रमा सामान्य चुनौति रहे पनि प्रतिफल प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे। उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य भएको समेत बताए।
सम्मेलनलाई सम्बोधन गदै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीले हाइड्रो, बैंकिङ, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण सृजनामा संयोजन गरिरहेको जानकारी दिए।
कार्यक्रममा ब्रिटिस नेपाल चेम्बर अफ कर्मका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रका लगानीकर्ता, व्यवसायिक कम्पनी आवद्ध पदाधिकारी, नेपाली ब्यावसायीका साथै पत्रकार, समाजसेवी लगायतको उपस्थिति थियो।