कोरोनाविरूद्ध अर्बौ चन्दा संकलन गरेका बेलायती सेनाका पूर्व सैनिक कर्नेल टम मुरको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
सन् २०२० अप्रिल ३० मा सय वर्ष पुगेका वेलायती सेनाका ‘वार भेट्रान’ कर्नेल मुरले कोरोना विरूद्धको लडाईँ लड्न ५ अर्ब भन्दा बढी रूपैयाँ चन्दा संकलन गरेका थिए।
बिबिसीका अनुसार गत साता कोरोना भाइरसको संक्रमण देखिएका उनलाई सास फेर्न गाह्रो भएपछि आइतबार बेडफोर्ड अस्पताल भर्ना गरिएको उनकी छोरी हन्ना इन्ग्राम-मूरले बताइन्।
निमोनिया भएको थाहा पाएपछि उनले परिवारका सदस्यसँग घन्टौं कुराकानी गरेका थिए।
अस्पतालमा उपचारकै क्रममा कर्नेल मुरको मंगलबार राति निधन भएको हो।
उनको निधनमा बेलायतस्थित बकिंघम प्यालेसबाट महारानीले उनको परिवारमा शोक सन्देश पठाइन्।
यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले उनको निधनमा परिवारजनलाई एक शोक सन्देश दिएका छन्।
गत जुलाईमा महारानीले विन्डसर क्यासलमा आयोजित एक विशेष समारोहमा महारानीले उनलाई नाइटहुडद्वारा सम्मान गरेकी थिइन्।
‘क्याप्टेन सर टम र उनको परिवारलाई विन्डसरमा भेट्दा महारानी एकदमै रमाउनु भएको थियो। उहाँको विचार र शाही परिवारका सदस्यहरू उनीसँगै छन् जसले सम्पूर्ण राष्ट्र र विश्वलाई प्रदान गरेको प्रेरणालाई मान्यता दिँदै आएका छन्,’ बकिंघम प्यालेसका प्रवक्ताको भनाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
दोस्रो विश्व युद्वमा बेलायती सेनाकातर्फबाट लडेका योद्धाले कोरोना भाईरस विरूद्ध लडिरहेका वेलायतको राष्ट्रिय स्वास्थ्य सेवालाई करिब ३ करोड ३० लाख पाउण्ड चन्दा संकलन गरिदिएको थियो।
१००० पाउण्ड उठाउने लक्ष्य लिएर सुरू गरेको अभियानमा करोडौं पाउण्ड संकलन भएको थियो।
उनको यो अभियानले गिनिज बुक वर्ल्ड रेकर्डसमेत बनाएको थियो। यसै अभियानबाट उनले मनार्थ कर्णेल पदवी पाएका थिए।
उनको १०० औं जन्मदिनमा बेलायती सेनाले विशेष समारोहको आयोजना गरि विमान परेडले उनको सम्मान गरेको थियो।
सन् २०२० को सुरूतिर बेलायतमा कोरोना महामारी फैलिएपछि सारा बेलायत आक्रान्त भयो।
यस्तोमा क्याप्टेन मुरले कोरोनाविरूद्ध लड्ने एनएचएस संस्थाका लागि आफूले १ हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखे। तर उनको यो योजनामा विश्वभरका मानिसले सहभागिता जनाए। टमको साहसलाई देखेर लाखौं मान्छेले उनको नाममा चन्दा दान गर्न थाले। जन्मदिनसम्म आइपुग्दा ३ करोड ३८ लाख पाउण्ड अर्थात् नेपाली रुपैंयाँ ५ अर्ब भन्दा बढी दान उठेको थियो। उक्त रकम उनले एनएचएसलाई हस्तान्तरण गरिदिए।
टमलाई बेलायतको रक्षा मन्त्रालयले मानार्थ कर्नेल उपाधि दियो। बिबिसीका अनुसार सेना प्रमुख जनरल सर मार्क कार्लेटन स्मिथद्वारा उनको अविश्वसनीय उपलब्धिको सम्मानस्वरुप आर्मी फाउण्डेशन कलेज हेरोगेटको पहिलो मानर्थ कर्नेल पदवी दिइएको हो।