हालै बसेको प्राज्ञ सभा बैठकले प्राध्यापक डाक्टर सूर्यप्रसाद सुवेदीलाई नेपाल प्रज्ञा-प्रतिष्ठानको मानार्थ प्राज्ञ निर्वाचित गरेको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषदले गरेको मनोनयनका आधारमा प्राज्ञ सभा बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याती तथा गौरव बढाउन उल्लेख्य प्राज्ञिक योगदान पुर्याएको र स्वयं पनि अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक ख्याती प्राप्त गरेको व्यक्ति भन्दै उक्त निर्णय गरेको हो।
नेपालका प्रसिद्ध इतिहासविद प्राध्यापक डाक्टर महेशराज पन्त र प्राध्यापक सुवेदी दुवैलाई प्रज्ञा-प्रतिष्ठानको मानार्थ प्राज्ञ निर्वाचित गरिएको हो। आफ्नो विधामा मूर्धन्य व्यक्तित्त्वका रूपमा स्थापित अत्यन्तै थोरै व्यक्तिलाई मात्र नेपाल प्रज्ञा-प्रतिष्ठानले मानार्थ प्राज्ञ निर्वाचित गर्ने परम्परा छ। यसैले गएको आठ-दस वर्ष अन्तरालपछि मात्र यसरी नेपालका दुई मूर्धन्य प्राज्ञिक व्यक्तित्व मानार्थ प्राज्ञ निर्वाचित गरिएको प्रतिष्ठानले जनाएको छ।
नेपालको प्रतिष्ठित राष्ट्रिय संस्थाले आफूलाई मानार्थ प्राज्ञ निर्वाचित गरेकोमा गौरवान्वित भएको प्राध्यापक सुवेदीले बताएका छन्।
बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक सुवेदीलाई अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार क्षेत्रमा आफ्ना कृतिद्वारा योगदान गरेको भन्दै गत वर्ष अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको थियो। यस वर्ष हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो।
लमजुङबाट नेपाल ल क्याम्पस हुँदै बेलायतको अक्सफोर्ड र हल विश्वविद्यालयमा अध्ययन गरेका प्राध्यापक सुवेदीले संसारका पाँच वटा देशका सात वटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन्। उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य देशलाई पनि कानुनी सल्लाह पनि दिएका छन्।