बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष शाह बीबीसीबाट प्रसारण हुने मास्टर सेफ यूकेको प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट ८ मा परेका छन्।
मंगलबार प्रसारण भएको ‘रियालिटी कुकिङ शो’ प्रतियोगिताको सेमिफाइनल अन्तर्गतको अर्को चरणमा प्रवेश गर्न सफल भएका हुन्।
मंगलवारको शोमा सन्तोषले नेपालको हिमाली क्षेत्रको खानाको रूपमा बन तरूल सँगै पोलेको कटहर र काक्रोको बियाँ, स्याउको चटनीलगायतका परिकार बनाएका थिए।
सन्तोषले यसअघिका चरण पार गर्दै बीबीसीबाट प्रसारण हुने प्रसिद्ध रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा उत्कृष्ट ८ मा पर्न सफल भएका हुन्।
प्रतियोगिताको पूर्व चरणमा उनले नेपाली मासुको झोल, सिस्नु, बेथे जस्ता तरकारी, तामा र भाङको चटनी, मकैको रोटी, जस्ता परम्परागत नेपाली खानाहरु पस्किएका थिए।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष नै पहिलो नेपाली सेफ हुन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खाना र परिकार पस्किएर नेपालको पहिचान प्रदर्शन गर्न पाउँदा आफूलाई निकै खुशी लागेको उनले बताए।
नेपालका विभिन्न भेग, जाति तथा समुदायका खानाबारे आफ्नो प्रारम्भिक अध्ययनले त्यस्ता नेपाली खानाको विश्वबजारमा सफलताको राम्रो सम्भावना देखिन्छ।
तर नेपाली खानालाई नेपालीले नै ‘अविश्वास र हेलाँ’ गरेका कारण ओझेलमा परेको उनको गुनासो छ।
नेपालका शेर्पाहरूले बनाउने उसिनेको आलुको विशेष सुपदेखि तराईमा बनाइने बगिया, नेवार समुदायको योमरी र थारु समुदायले बनाउने अनेकौँ परिकारसम्म सबैको बेग्लै स्वाद र विशेषता रहेको उनी सुनाउँछन्।
नेपालमा सिराहा घर भएका सन्तोष १४ वर्षको उमेरमै हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर यस सम्बन्धि अध्ययन र विश्वका प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरुमा काम गरेका थिए। सन् २०१० मा बेलायत आएका सन्तोष अहिले यहाँको प्रतिष्ठित रेस्टुरेन्टमा कार्यरत छन्।