नेपालका लागि न्यू जिल्याण्डका अवैतनिक वाणिज्य दूत एवम् पर्यटन व्यवसायी लिजा चोग्याललाई न्यू जिल्याण्डको सरकारले सम्मान गरेको छ।
नेपालसँगको सम्वद्ध सुदृढ गर्न निर्वाह गरेको भूमिकाको कदर गर्दै न्यू जिल्याण्डको सरकारले चोग्याललाई ‘न्यू जिल्याण्ड अडर अफ मेरिट’ सदस्यको रुपमा सम्मानित गरेको हो।
वेलिङ्टनमा जेठ ३ गते आयोजित एक समारोहमा न्यू जिल्याण्डका गर्भर जनरल डेम पेट्सी रेड्डीले चोग्याललाई ‘न्यू जिल्याण्ड अर्डर अफ मेरिट’ सदस्यको तक्माले विभूषित गरेका थिए। यो न्यू जिल्याण्ड सरकारले प्रदान गर्ने उच्चतम् पदकहरूमध्ये एक हो। चोग्यालका छोराहरू स्याङ्जे र रिन्छेन पनि समारोहमा उपस्थित थिए।
चोग्यालले सन् २०१० देखि नेपालमा न्यू जिल्याण्डको अवैतनिक दूतको भूमिका निर्वाह गर्दै आएकी छिन्।
२०७२ वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पमा फसेका न्यू जिल्याण्डका नागरिकहरूको खोजी र उद्धारमा चोग्यालले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले भूकम्पपछिको पुननिर्माणका लागि न्यू जिल्याण्डले नेपाललाई उपलब्ध गराएको सहयोगको परिचालनमा पनि सहजीकरण गरेकी थिइन्।
दीगो पर्यटन, हिमालमा फसेका पर्वतारोहीहरूको उद्धार र नेपालको सम्पदा संरक्षणम चोग्यालले निर्वाह गर्दैै आएको भूमिकाको प्रशंसा गरिएको थियो। नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्न छात्रवृत्ति जुटाउने कार्यमा पुर्याएको योगदानको पनि प्रशंसा गरिएको थियो।
सगरमाथा आरोहणको ६५ औं वार्षिकोत्सव मनाउन यसै साता नेपाल आएका न्यू जिल्याण्डका राजदूत जोआना केम्प्कर्स्ले चोग्याल ‘न्यू जिल्याण्ड अडर अफ मेरिट’ पदकको सही हकदार रहेको विचार व्यक्त गरिन्।
‘लिजाले बितेको एक दशकमा अवैतनिक वाणिज्य दूतको रुपमा न्यू जिल्याण्डलाई विशिष्ट सेवा पुर्याएकी छिन्,’ राजदूत केम्प्कर्स्ले भनिन्, ‘न्यू जिल्याण्ड र नेपालको सम्बद्ध सुदृढ गर्न पुर्याएको योगदानको कदर गर्दै न्यूजिल्याण्ड सरकारले लिजालाई यो पदकले सम्मानित गर्दा म निकै सन्तुष्ट भएकी छु।’