सामान्यतया बेलायतमा हुने नेपाली कार्यक्रममा नयाँ पुस्ताका नेपाली किशोर किशोरीको उपस्थिति शून्य प्रायः रहन्छ। पहिलो पुस्ताका बयस्क नेपाली पद र भाषणको आत्मरतिमै रमाउने कुरा कुनै नौलो रहेन।
भाषणबाजीमै दिन बिताउने त्यस्ता कार्यक्रममा एकाध अनुभव बटुलेका तन्नेरीले नेपाली कार्यक्रमहरु लाई 'बोरिङ' को संज्ञा दिने गर्छन्।
संगठित हुनु र आफ्नो समुदायको लागि केही गर्ने कुरालाई भने उनीहरु सकारात्मक नै मान्छन्। तर, पुस्तान्तरको कारण प्रमुख हुन सक्छ उनीहरुले अविभावकद्वारा आयोजित कार्यक्रममा अरुचि देखाउने गरेका छन्। पछिल्लो समय बेलायतमा नयाँ पुस्ताका किशोर किशोरी स्वयम् संगठित हुने र सामुदायिक हितको लागि क्रियाशील हुने अभ्यासमा जुटेका छन्।
यसै क्रममा बेलायतभरका विभिन्न ४० विश्वविद्यालयका झण्डै ४ सय नेपाली युवा विद्यार्थीको भेलामा एक कार्यक्रम सम्पन्न भएको छ। सबै बेलायती विश्वविद्यालयमा अध्ययनरत नेपालीलाई जोड्ने एक अभियानका क्रममा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
'मर्जिङ नेपसक्स' नाम दिइएको अभियानको पहिलो औपचारिक कार्यक्रममा ट्यालेन्ट शो गरिएको थियो। जसमा युवा विद्यार्थीहरुले नृत्य, गायन, अभिनयका साथमा प्रवचनलगायतका प्रतिभा प्रस्तुत गरेका थिए।
बर्मिगहमको वुल्भरह्याम्पटनमा शनिबार सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रमा अवस्थित ४० विश्वविद्यालयका झन्डै ४ सय विद्यार्थीले सहभागिता जनाएका थिए ।
बेलायतका सबै नेपाली युवाहरुबीच साझा नेटवर्क कायम गर्ने लक्ष्यका साथ युवाहरुले यो अभियान अघि बढाएका हुन्।
बेलायती विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीले गठन गरेका नेप्लिज सोसाइटीकै माध्यमबाट सबै नेपाली विद्यार्थीसम्म पुग्ने लक्ष्यमा अभियान छ।
अहिलेसम्म विभिन्न ४० विश्वविद्यालयसम्म पुगिसकेको उनीहरू बताउँछन्। यो अभियानले विभिन्न प्रिजेन्टेसन तथा नेटवर्किङको कार्यलाई अघि बढाउँदै आएको छ।
सबै नेपाली युवा विद्यार्थी तथा प्रोफेसनलहरुको नेटवर्कका माध्यमबाट सामाजिक एवम् यहाँको नेपाली समुदायको सामाजिक स्तरोन्नति गर्ने लक्ष्यमा युवा छन्।
बेलायतबाट नेपालमा स्किल ट्रान्सफर गर्नेदेखि नेपालका दुर्गम भेगसम्म बेलायतबाट स्वयमसेवी खटाउने योजना उनीहरुले बनाएका छन्।
मेन्टरिङ स्किम, त्रैमासिक म्यागेजिन प्रकाशन र कार्य समिति निर्माणको तयारी अहिले उनीहरुले गरिरहेका छन् ।
'खासमा हाम्रो नयाँ पुस्तालाई यो नेटवर्कमा जोडेर आपसी हितको लागि काम गर्ने योजनाले हामी यो अभियानमा लागेका हौँ', अभियान्ता मध्येका किरण कँडेलले सेतोपाटीसँग भने, ‘हाम्रो उमेर समूहका धेरै नेपाली विद्यार्थी बेलायतका विश्वविद्यालयमा अध्ययनरत छन, उनीहरुलाई पहिले संगठित गरिसकेपछि हाम्रो उद्देश्यमा रहेर काम शुरु गर्छौ।’
अभियानले के कस्ता उद्देश्य राखेको छ भन्ने प्रश्नमा उनले स्कुल पछि विश्वविद्यालयमा अध्ययन गर्न जानेको सूचनामुलक गतिविधि सञ्चालन गर्ने, ग्र्याजुएटसलाई रोजगार सम्बन्धी सूचना उपलब्ध गराउनेदेखि बेलायतस्थित नेपाली समुदायको हितमा काम गर्ने कुरा 'मर्जिंग नेपसक्स' को प्राथमिकतामा रहेको बताए।
उनले 'ज्ञाप ईयर' को समयमा नेपालका दुर्गम गाउँ ठाउँमा स्वयं सेवा गर्न चाहनेहरुको लागिसमेत 'प्ल्याटफर्म' सृजना गर्ने जस्ता क्रियाकलापमा आफूहरुको ध्यान पुगेको बताए। ‘उद्धेश्य त धेरै छन हेरौं के कति गर्न सकिन्छ, सबैको सहयोगमा नेपाल र नेपाली कै लागि केही गरौँ भन्ने हो', कँडेलले भने ।
नेपाली संघ संस्थाहरुको सहकार्यमा कार्य गर्न आफूहरू ईच्छुक रहेको उनीहरूले बताए। कार्यक्रम पछिको प्रतिक्रिया भने सहभागीले एनआरएन लगायतका संस्थाले आफूहरूलाई नेटवर्कमा ल्याउन चुकेको प्रतिक्रिया दिएका थिए।