नेपाली राजदूतावास युएइले बिहिबार अबुधाबीमा विशेष समारोहको आयोजना गरी संविधान दिवस मनाएको छ।
समारोहमा एसियाली, अफ्रिकी, युरोपेली र अमेरिकी मुलुकका २३ राजद"तसहित ४५ देशका कुटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अबुधाबीस्थित होटल कन्टिनेन्टलमा आयोजित संविधान दिवस समारोहमा नेपाल आदिवासी जनजाति महासंघ आबद्ध शेर्पा किदुंग युएई , नेवा पुच: युएई , तामाङ समाज युएई , तमु समाज युएई , नेपाल मगर संघ युएई , सुनुवार समाज सेवा समिति र सुदूरपश्चिम सेवा समाज लगायतका संस्थाले नेपाली सांस्कृतिक भेषभुषा र बाजागाजासहित झाँकी प्रदर्शन गरेका थिए।
समारोहमा विदेशी कुटनीतिक नियोगका पाहुनाहरूलाई नेपाल मगर संघले पञ्चे बाजा बजाएर स्वागत गरेको थियो। त्यस्तै, सुदूरपश्चिम सेवा समाजले देउडा भाकामा नेपाल र नेपालीको गर्विलो इतिहास वर्णन गरेका थिए। यसैगरी नेवा : पुच युएइले उपत्यकामा मनाइने इन्द्रजात्राको कथा अनुसार हात्ती ऐरावतको प्रतिमूर्ति बनाइ प्रदर्शन गरेका थिए।
समारोहमा विदेशी नियोगका प्रतिनिधिहरूलाई स्वागत गर्दै नेपाली कार्यवाहक राजदूत सागर फुयाँलले नेपाली जनताको ठूलो संघर्षबाट प्राप्त संविधानको कार्यान्वयन नेपाली जनताले चाहे जसरी नै भइरहेको उल्लेख गरे। उनले संविधानको कार्यान्वयन सुरू भएसँगै नेपालमा पर्यटन र विदेशी लगानीको लागि सुरक्षित वातावरण तयार भएको बताए।
संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको अवसरमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको छ। युएइको स्थानीय परिवेशलाई ध्यान दिँदै युएइमा १ दिन ढिला गरी संविधान दिवस मनाइएको हो।