विश्वका कैयन मुलुकमा धार्म र जातिका नाममा युद्ध हुने गर्छ, भैरहेको छ। मानवता र सहिष्णुता भुलेर धर्म र जातको नाममा विभाजनहुँदै एक आपसमा झैझगडा गरेर समाजलाई नै कुरूप बनाउनेलाई हामीले देख्दै र भोग्दै आईरहेका छौ।
ब्रह्माण्डमा अझै पनि एउटा धर्म मान्नेले अर्को धर्म मान्ने मानिसलाई दुश्मनको नजरले हेर्नेको कमी छैन। तर, जात र धर्मभन्दा माथि उठेर एकले अर्कोलाई सम्मान गर्दै मानवता प्रदर्शन गर्नेहरूको संख्या पनि कम छैन। यसको एउटा गतिलो उदाहरण हुन् 'गैर आवासीय नेपालीसंघ'का नेपालीहरू।
मुस्लिम धर्मावलम्बीको महान पर्व 'रमजान' को अवसरमा युएई दुबईको अल्कुज भन्ने स्थानमा पुगेर त्यहाँ रहेका विभिन्न देशका करिब पाँच सय मुस्लिम धर्मावलम्बी बिदेशी कामदारलाई ईफ्तारी (खाना) खुवाई एनआरएनए युएईका नेपालीले धार्मिक सहिष्णुता,आदर र सम्मानको गतिलो छाप छोड्न सफल भएका छन्।
करिब एक महिनासम्म चल्ने मुस्लिम समुदायको रमजानमा यसरी नेपालीहरुले क्याम्प (लेबर बस्ने घर) मै पुगेरसँगै खानाखाँदै र खुवाउँदै गरेक्क दृश्य साच्चिकै लोभलाग्दो थियो। नेपालभित्रै जात र धर्मको नाममा भैरहेका विभिन्न नकारात्मक सोच र कार्यलाई चिर्न पनि एनआरएनए युएईले एउटा मुस्लिम देशमा गर्न खोजेको यो कार्य उदाहरणीय कार्यका रूपमा प्रस्तुत भएको छ।
रोजगारीकै सिलसिलामा लामो समयदेखि दुबईमा कार्यरत 'नेप्लिज मुस्लिम सोसाइटी युएई' तथा एनआरएनए युएईका सदस्य समिम खानको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रमलाई 'गैर आवासीय नेपाली संघ युएई राष्ट्रिय समन्वय समिति' संगै युएईमै रहेको काठमाडौं प्यालेस रेस्टुरेन्ट,सिल्भर रेस्टुरेन्ट, लुम्बिनी गेस्ट हाउस,चौतारी रेस्टुरेन्ट दुबईलगायतले सहयोग गरेका थिए।
प्रवासमा नेपालीका हकहित र सहयोगका लागि स्थापना भएका विभिन्न संघसंस्था मध्य युएईमा रहेको 'गैर आवासीय नेपालीसंघ' पछिल्लो समय युएईमा सक्रियतापूर्वक समाजिक कार्यमा अगाडि बढिरहेको छ। दु:खमा परेका नेपालीको उद्दारदेखि नेपाली बस्ने विभिन्न ठाउँमा पुगेर निःशुल्क स्वास्थ शिविर कार्यक्रमसंगै विभिन्न जनचेतनाका कार्यक्रम गर्दै आएको छ।