डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ आगामी महिना मध्यपूर्वको यूएईमा प्रर्दशन हुने भएको छ ।
लमजुङ समाज यूएईको आयोजनामा आबुधाबी, शाहरजा र दुबई शहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुन लागेको हो ।
लमजुङ समाजका महासचिव शिवजंग गुरुङका अनुसार, जुन १५ तारिख दिउँसो २ बजे आबुधाबीस्थित अल अहलिया अस्पतालको हल, जुन १६ तारिख बिहान १० बजे शाहरजास्थित मम हाउस रेष्टुरेण्ट र सोही दिन दिउँसो २ बजे दुबईस्थित सिल्भर स्पोन रेष्टुरेण्टमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनका लागि कार्यक्रम तय गरिएको छ ।
प्रदर्शनबाट उठेको रकम लमजुङको परोपकारी कार्यमा खर्च गरिने महासचिव गुरुङले बताए ।
नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।
‘यो वृत्तचित्र फिल्म यूएईमा पनि प्रदर्शन हुन लागेकोमा असाध्यै खुसी लागेको छ,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘यसले मध्यपूर्वमा रहेका नेपाली र विदेशी नागरिकको मन जित्नेछ ।’