शुक्रबार बरदुबईको सिल्भर स्पोन रेस्टुरेन्टमा 'नेपाल पत्रकार महासघं' युएई शाखाले आफ्नो १०औं वार्षिकोत्सव भव्य रुपमा मनायो। कार्यक्रममा सहभागी जनाउन महासघंको निमन्त्रणा स्वीकार्दै नेपालबाट युएईसम्म पत्रकारिता केन्द्रका सम्पादक तथा महासंघका पूर्व अध्यक्ष शिव गाउँले आएका थिए। त्यस्तै महासघंले कार्यक्रममा उपस्थितिको लागि 'नेपाली राजदूतावास युएई'लाई कार्यक्रम हुनुभन्दा झन्डै तीन साता अगाडि निमन्त्रणा पत्र पठाएको थियो। तर, पत्रकारको निमन्त्रणा पत्र पाएपछि ईमेल गर्दै कार्यवाहक राजदूत नेत्र बहादुर टन्डनले 'यस्ता कार्यक्रममा सहभागी हुने चलन नभएको भन्दै जवाफ फर्काएका थिए।
त्यसो त कार्यवाहक राजदूत युएईका हरेकजसो नेपालीका पसल उद्घाटन, विभिन्न समाजका कार्यक्रमहरुमा रिवन काट्न नपुगेको भने बिरलै देखिन्छ।
पत्रकारसँग किन रूष्ट दूतावास?युएईमा रहेका पत्रकारहरुले मानव तस्कर र हुण्डी ब्यापारीको बारेमा पछिल्लो समयमा निरन्तर कलम चलाउँदै आएका छन्दलाल विरुद्ध पत्रकारहरुको निरन्तर फलोअपको कारण धेरै तस्कर, दलालहरू युएईका पत्रकारसँग चिढिएका छन्।
केही समय अगाडि युएईको आबुधावीस्थित मुसाफा भन्ने ठाउँमा मानव तस्कर दलालले अलपत्र पारेका १९ जना नेपालीको मुद्दामा दूतावासका अधिकारीको नेक्सस रहेकोबारे तथ्यसहित समाचार बाहिर आएपछि कार्यवाहक राजदूत टन्डन युएईमा रहेका पत्रकारहरु प्रति ज्यादै असन्तुष्ट बनेका थिए। उक्त समयमा नै टन्डनले पित पत्रकारिता गरेको आरोपसहित प्रेस विज्ञप्ति जारी गरेका थिए।
परराष्ट्र स्रोतका अनुसार राजदूत टन्डन युएईमा अवैध रूपमा पत्रकारिता गरिरहेका नेपालीका कारण समस्या आएको र भविष्यमा पनि यस्ता समस्या आउन सक्ने भन्दै परराष्ट्रलाई इमेल समेत गरेको बुझिन आएको छ।