भारतको कश्मिर राज्यको रजौराबाट मध्यरातमा एक सैनिक क्याम्प छोडेर भागे।
१४ वर्षसम्म ‘गोर्खा पल्टन’ भनेर चिनिएका भारतीय सेनाका यी जवान त्यसै वर्ष कतार पुगे। कारण थियो, कतारस्थित अमेरिकी सैनिक क्याम्पको सुरक्षा गर्नु।
यो सुरक्षा गार्ड पनि उनको विगत भइसक्यो।
अहिले उनी कतारका नामी व्यवसायी हुन्।
नाम हो, प्रवीण गुरुङ। चितवनमा जन्मे–हुर्केका।
भनिन्छ, जन्मँदै हरेक नेपालीले निधारमा कुन्नि कति हजारको ऋण बोकेर आउँछ!
त्यो ऋण त छँदैछ, त्यसपछि आफ्ना सपना, परिवारका सपनाले बोक्ने खर्च। त्यति मात्र होइन, दुई छाक खान पनि धौ–धौ नेपाली अधिकांश छन्। यी र यस्तै सामान्य जीवनयापनका लागि नेपाली ‘लाहुर’ धाउन थालेको वर्षौं भइसक्यो। जाने ठाउँ अलि फराकिलो भयो होला, नत्र त्यही लाहुर हो, अहिलेको वैदेशिक रोजगारी। उद्देश्य उस्तै–उस्तै हो, जुन हरेक नेपालीलाई थाहा छ।
‘अधिकांश नेपाली निधारमा वैदेशिक रोजगारीको टाँसो लिएर जन्मन्छ’ अहिले यसो भन्दा फरक नपर्ला!
वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश खाडीमा कार्यरत छन्। त्यसमध्ये पनि अधिकांश निर्माणकार्यमा मजदुरी गर्छन्।
त्यही कतारमा यस्ता नेपाली पनि छन्, जो ठूला व्यवसायी भइसके। मध्यरातमा भारतीय सेनाको जागिर छाडेर भागेका गुरुङ ती ठूला व्यवसायमध्ये एक हुन्। जो १४ वर्षअघि अरुजस्तै मजदुरीका लागि कतार छिरेका थिए। कतार जानकै लागि उनी मध्यरातमा सैनिक क्याम्प छोडेर भागेका थिए।
‘ग्रिन ग्रास ट्रेडिङ कन्ट्राक्टिङ’ अन्तर्गत कतारभरी २३ वटा कम्पनी, पाँचतारे होटलमा ‘हेल्थ एन्ड फिटनेस क्लब’, समुद्रमा पानी जहाज। गुरुङ यिनका मालिक हुन्।
कुनै समय थियो, बेलायती सेनाको चमकले उनी लोभिएका थिए।
गजबहादुर र गोपीमाया गुरुङका एक्ला छोरा प्रवीणले गाउँबाटै एसएलसी सके। पढ्ने बेला छाती तन्काउनतिर लागे। क्याम्पस हापिदिए। करिब एक वर्ष अभ्यास गरेपछि छाति नपाउन गए। तर, भर्ती हुन पाएनन्।
न पढाई, न लाहुरे!
परिवारले पनि पढाईलाई भन्दा लाहुरलाई बढी जोडबल गरेको थियो। उनले फेरि प्रयास गरे। फेरि पनि फाल्दियो!
कसैले सुनाइदियो, ब्रिटिस लाहुरे हुनभन्दा इन्डियन लाहुरे हुन सजिलो छ। ‘फेल’ भएको रन्कोमा बत्तिएर भरतपुर पुगे। छाति नपाए।
बेलायतीले नपत्याएको भारतले पत्यायो!
उत्तर प्रदेशको गोरखपुरदेखि मेघालयको सिलोङसम्म एक वर्षको तालिम चल्यो। तालिम सकिनेबित्तिकै ‘ड्यूटी’का लागि बिहारको राँची पुर्याइए। राँचीमै छँदा कारगिल युद्व सुरु भयो। उनको पल्टन जम्मु–कश्मिरको कारगिल पुग्यो। दुई महिना लामो चलेको भारत–पाकिस्तान युद्वमा प्रवीणले आफ्नो युद्व कौशल देखाए।
‘त्यो मेरो पहिलो युद्ध अनुभव थियो,’ प्रवीणले ती दिन सम्झिए, ‘त्यति धेरै डर कहिल्यै लागेको थिएन। घरको एक्लो छोरो, फर्किन्न कि भन्ने लागेको थियो। तर युद्धमा होमिनु जरुरी थियो नै।’
मनको डरको चिसो हटाउन उनले स्कुले किताबमा पढेका तथा सुनेका नेपालीका वीरताका गाथा सम्झिएछन्। ‘हटी हैन डटी लड्ने नेपालीका बानी हुन्छ’ मनमा राखी आफूलाई सुरो बनाएछन्।
युद्ध सकिएपछि गुरुङको टोली राजस्थान सरुवा भयो। राजस्थान पुगेको ६ महिनामै गुरुङ कश्मिर बोलाइए। ठाउँ थियो, रजौरा।
रजौरामा ड्यूटी चलिरहेको एक साँझ कतारबाट दिदीले फोन गरिन्। अमेरिकी सैनिक क्याम्पमा कार्यरत दिदी–भिनाजुले आफूले जस्तै जागिर खान कतार बोलाए। पल्टनको काम, तुरुन्तै छुट्टी मिल्ने छाँटकाँट थिएन। निवेदन दिएको दुई–तीन महिनामा अनुमति पाइन्थ्यो। त्यो पनि ठेगान थिएन।
गुरुङको दिमाग घुम्यो। मध्यरातलाई आफ्नो साथी बनाए र क्याम्प छाडे। यो घटना घटेको आउँदो जुलाईदेखि १४ वर्ष पुग्दैछ। १४ वर्षअघिको १४ जुलाईकै दिन उनी छनोटका लागि काठमाडौं ओर्लिएका थिए।
उनी सुरक्षा गार्डमा छनोट भए।
‘छनोट भएपछि घर गएको त आफूभन्दा पहिल्यै भारतीय पल्टनका दुई जवान मेरो घर पुगिसकेका रहेछन्,’ प्रवीण हाँस्दै सुनाउँछन्, ‘मलाई खोज्दै आएका रहेछन्। घरायसी समस्या देखाएर उम्किएँ।’
आफू कतार पुगेको केही वर्षमै श्रीमतीलाई पनि उतै लगे। नर्सिङ पढेकी श्रीमतीले सुरुमा आफूले जानेको काम गरिन्। केही वर्षमा गुरुङ दम्पत्तिले व्यापार गर्ने योजना बुन्यो।
सुरक्षा गार्डको काम चलिरहेका बेला गुरुङले दोहामा थकाली खानाको रेष्टुरेन्ट खोले, समसारा थकाली भान्छाघर नाममा। सोचेभन्दा राम्रो मुनाफा दिएपछि गुरुङले जागिर छोडिदिए।
थकाली रेष्टुरेन्ट उनका लागि पैसाको बोट रोपेजस्तै भयो। त्यसबाट आएको मुनाफा निर्माण व्यवसायमा लगानी गरे। त्यो अर्को बोट भइदियो। अहिले उनीसँग यस्तै पैसाका २३ वटा बोट छन्। यी कम्पनीले कतारमा ठूला भवन तथा पुलहरु बनाउने काम गर्छ।
पाँचतारे होटलको ‘हेल्थ एन्ड फिटनेस क्लब’ र समुद्री जहाज उनले भर्खरै रोपेका नयाँ बोटहरु हुन्, जसमा पनि नाफाले कोपिला हालिसकेको छ।
गुरुङ मेहनती त छन् नै। निःसन्देह यो सफलता उनकै मेहनतको प्रतिफल हो।
उनी आफैंचाहिँ के भन्छन् त? यसको जस केलाई देलान्?
‘श्रीमतीको सहयोग र बाबु–आमाको साथ,’ उनी भन्छन्, ‘यी तीन, जसले मलाई यो ठाउँसम्म आइपुग्न धकेलिरहे।’
त्यसपछि उनी आफ्नै असन्तुष्टीलाई ठूलो कारक मान्छन्।
‘तर, त्यो गुनासोको रुपमा होइन, अहिले गरेभन्दा राम्रो गर्ने खालको,’ उनी भन्छन्, ‘सबै ठिकै छ भनेर सन्तोष मानेर बस्न नहुँदो रहेछ। बोर्डिङ स्कुल पढ्न पाएको थिएँ, सेनाको जागिरबाट पनि राम्रै पैसा आउँथ्यो, यता आएपछि त्योभन्दा बढी कमाउँथेँ। यतिले पुगेकै छ भनेर बसेको भए म त्यहीँ हुन्थेँ।’
गैर–आवासीय नेपाली संघ, कतारका पूर्व उपाध्यक्षसमेत रहेका गुरुङ संघको मध्य–पूर्व उप–संगठनका उप–संयोजक पनि हुन्।
गुरुङ नेपालमा पनि लगानी गर्न चाहन्छन्। तर, उनी अझै ढुक्क भने हुन सकेका छैनन्। मन फुकाएर लगानी गर्ने वातावरण अझै नबनेको उनको दुखेसो छ। सरकारले बन्द–हड्तालजस्ता समस्या सधैंका लागि हटाउने प्रण गरे आफू मात्र नभइ विदेश बस्ने थुप्रै नेपाली व्यवसायी घर फर्किन्थे भन्ने लाग्छ उनलाई।
त्यसो त उनी पुरै निराश भने छैनन्। नेपालका लागि केही सपना साँचेका छन्। तर कसैलाई सुनाइहाल्ने सोचेका पनि छैनन्। सायद त्यसलाई मनमनै हुर्काउँदैछन् उनी।