उत्तर कोरियाले फेरि जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। नेपाली समयअनुसार बिहीबार राति राजधानी प्योङयाङबाट पूर्व दिशामा जापानी आकाशमा क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरिया र जापान सरकारले पुष्टि गरेको छ।
दक्षिण कोरियाले जनाएअनुसार उक्त क्षेप्यास्त्र करिब ७७० किलोमिटर उचाइमा थियो र यसले कुल ३७०० किलोमिटर दूरी पार गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख छ।
तीन साताअघि मात्रै उत्तरले जापानी आकाशमा गरेको क्षेप्यास्त्र परीक्षण गरेको थियो।
जापानको होक्काइदो सहर हुँदै गएको उक्त क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
बिहीबारै उत्तरले जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमय’ बनाउने धम्की दिएको थियो। यसका लागि आफूहरुले परमाणु हतियार प्रयोग गर्ने बताउँदै उत्तरले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले गरेको निर्णयलाई ‘पैसामा बिकेका देशहरुले अमेरिकाको आदेश पालना गरेका’ भनेको थियो।
संयुक्त राष्ट्र संघले अमेरिकाको पहलमा उत्तरविरूद्ध कडा नाकाबन्दी लगाएको छ। यस नाकाबन्दीअन्तर्गत मुख्यरुपमा तेल निर्यातमा कडाइ र उत्तरको दोस्रो ठूलो निकासी क्षेत्र टेक्सटायल प्रतिबन्ध गरिएको छ।