भारतको केरल राज्यको वायनाडमा भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुगेको छ।
भारी वर्षाका कारण मंगलबार बिहान १ देखि ४ बजेबीचमा गएको पहिरोमा परी वायनाडको मेप्पडी र निलाम्बुरमा गरी १४८ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
पहिरोमा एकसय जनाभन्दा बढी बेपत्ता र १९१ जना घाइते भएका छन्।
घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार जारी रहेको बताइएको छ।
पहिरोले वायनाडका गाउँ र वस्ती तहसनहस भएका छन्।
त्यस क्षेत्रमा पर्यटक र कामदारहरू विदेशबाट पनि आउने भएकाले पहिरोमा विदेशी नागरिकहरू पनि परेको अनुमान गरिएको छ।
प्रतिकूल मौसमका कारण खोजी र उद्धारमा समस्या भएको छ। भारतको राष्ट्रिय आपदामोचन बल (एनडीआरएफ), सेना र स्वयंसेवक परिचालन गरी पहिरोमा परेकाहरुको खोजी र उद्धारकार्य भइरहेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार एनडिआरएफका मात्रै ५ सयदेखि ६ सयको संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।
बुधबार पनि वायनाड र आसपासका विभिन्न जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षा हुने भारतको मौसम विज्ञान विभागले जनाएको छ।
केरल राज्य सरकारले प्रतिकूल मौसमबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै वायनाडसहित विभिन्न ११ जिल्लामा शैक्षिक संस्थाहरू बन्द गरेको छ।
केरल सरकारले प्रदेशभरी राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ।
भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन्।