भारतको तेलेगु देसम पार्टी (टिडिपी) का प्रमुख चन्द्रबाबु नायडू आन्ध्र प्रदेशका मुख्यमन्त्री बनेका छन्।
बुधबार उनले चौथो कार्यकालका लागि आन्ध्र प्रदेशको विजयवाडामा आयोजित एक समारोहमा मुख्यमन्त्रीको शपथ लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनीसँगै जनसेनाका प्रमुख पवन कल्याण, नायडूका छोरा नारा लोकेशसहित २२ जनाले पनि शपथ लिएका थिए।
कल्याणलाई उपमुख्यमन्त्रीको पद प्रस्ताव गरिएको छ।
जनसेनालाई तीन र भारतीय जनता पार्टी (भाजपा) लाई एउटा मन्त्रालयको प्रस्ताव गरिएको पनि समाचारमा उल्लेख छ।
१७५ सिटको विधान सभामा मुख्यमन्त्रीसहित २६ जना मन्त्रीहरू राख्न पाइन्छ।
बुधबारको शपथ ग्रहण कार्यक्रममा भाजपाका नेता एवं संघीय मन्त्री अमित शाह, जेपी नड्डा लगायत सहभागी भएका थिए।
त्यस्तै रजनीकान्त, चिरञञ्जिबी लगायत कलाकारहरू पनि समारोहमा उपस्थित थिए।
नायडू पहिलो पटक सन् १९९५ मा मुख्यमन्त्री बनेका थिए। उनी त्यतिबेला दुई कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए।
सन् २०१४ देखि सन् २०१९ सम्म पनि उनी मुख्यमन्त्री बनेका थिए। सन् २०१९ को निर्वाचनमा उनले हारेका थिए। त्यतिबेला उनी विपक्षी दलका नेता भएका थिए।
सन् २०२४ को निर्वाचनमा नेशनल डेमोक्रेटिक अलायन्समा रहेर टिडिपीले चुनाव लडेको थियो। एनडिएले लोक सभामा २९३ सिट ल्याउँदा टिडिपीले १६ सिट ल्याएको थियो।