भारतको लोकसभा चुनाव अन्तर्गत सबै क्षेत्रको अन्तिम परिणाम आइसकेको छ।
बुधबार बिहानसम्म ५४३ वटै लोकसभा चुनावको नतिजा आइसक्दा सत्तारूढ भारतीय जनता पार्टी बहुमतबाट चुकेको छ।
२०१४ देखि एकल बहुमतको सरकार चलाइरहेका मोदी यसपालि गठबन्धन दलहरूलाई पनि मिलाएर लैजानुपर्ने अवस्थामा पुगेका छन्।
बहुमतका लागि २७२ सिट जित्न आवश्यक रहेकोमा भाजपाले २४० सिट जितेको छ। गठबन्धनले भने बहुमत कटाएर २९५ सिट जितेको छ।
कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्।
इन्डिया गठबन्धनले भने यसपालि १३७ सिट बढाएको छ। अघिल्लो चुनावमा उसले ९४ सिट ल्याएको थियो।
यसपालि कंग्रेस एक्लैले ९९ सिट ल्याएको छ। अघिल्लो चुनावमा उसले ५२ सिटमात्रै ल्याएको थियो।
भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४/४ सिट जितेका छन्।
आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन्। बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
यसपालि जित्ने दाबी गरेका चर्चित उम्मेदवारहरू पराजित हुन पुगेका छन्। अघिल्लो निर्वाचनमा उत्तर प्रदेशमा गान्धी परिवारको विरासत मानिएको अमेठी सिट भाजपाकी स्मृति इरानीले जितेकी थिइन्।
त्यतिबेला राहुल गान्धीलाई पराजित गरेकी उनी यसपालि कंग्रेसका किशोरी लालसँग पराजित भइन्।
इरानी मोदी सरकारमा मन्त्रीसमेत थिइन्। कंग्रेसका किशोरी लालले इरानीलाई ६७ हजार १९६ मतले पराजित गरेका हुन्।
अधीर रन्जन चौधरी
पश्चिम बंगालको बहरमपुर सिटमा कंग्रेस नेता अधीर रञ्जन चौधरी पराजित भएका छन्। उनी तृणमूल कंग्रेसका युसुफ पठानसँग पराजित भए। पठानले ५ लाख ३९ हजार २२८ मत ल्याउँदा चौधरीले ४ लाख ३८ हजार १७१ मत ल्याए।
दिनेशलाल यादव
भोजपुरी सुपरस्टार दिनेशलाल यादवलाई भाजपाले आजमगढबाट उम्मेदवार बनाएको थियो। त्यहाँ उनी समाजवादी पार्टीका धर्मेन्द्र यादवसँग पराजित भए। दिनेशलालले ३ लाख ४७ हजार २०४ मत ल्याउँदा धर्मेन्द्रले ५ लाख ८ हजार २३९ मत ल्याए।
मेनका गान्धी
सुल्तानपुर लोकसभा सिटमा भाजपा उम्मेदवार मेनका गान्धी पराजित भएकी छन्। उनलाई समाजवादी पार्टीका रामभुवल निषादले ४३ हजार १७४ मतले पराजित गरेका हुन्। गान्धीले ४ लाख १ हजार १५६ मत पाइन्।
महबुबा मुफ्ती
पिपुल्स डेमोक्र्याटिक पार्टीकी अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबुबा मुफ्ती पनि पराजित भइन्। जम्मु कश्मिरको अनन्तनाग-रजौरी लोकसभा सिटमा उम्मेदवार रहेकी उनले अन्तिम परिणाम आउनु अघि नै पराजय स्वीकार गरेकी थिइन्।
त्यहाँ नेसनल कन्फरेन्सका मिया अटलफले मुफ्तीलाई २ लाख ८१ हजार ७९४ मतले पराजित गरे। मुफ्तीले २ लाख ४० हजार ४२ मत ल्याइन्।
जम्मू कश्मिरकै पूर्वमुख्यमन्त्री ओमार अबदुल्लाह बरमउल्लाह पनि पराजित भए। जम्मू एन्ड कश्मिर नेशनल कन्फरेन्सका उपाध्यक्ष समेत रहेका अबदुल्लाहलाई तिहाड जेलमा सजाय काटिरहेका स्वतन्त्र उम्मेदवार इन्जिनियर अब्दुल रसिदले पराजित गरेका हुन्।
कन्हैया कुमार
कंग्रेस नेता कन्हैया कुमार यसपालि पनि पराजित भएका छन्।
अघिल्लो निर्वाचनमा बिहारको बेगुसराइ लोकसभा सिटमा पराजित भएका उनी यसपालि उत्तर पूर्वी दिल्लीमा पराजित भएका छन्।
अघिल्लो चुनावमा उनी सिपिआईबाट उम्मेदवार थिए। कन्हैया कुमार २०७८ मा कंग्रेस प्रवेश गरेका थिए।
दिल्लीमा उनी भाजपा उम्मेदवार मनोज तिवारीसँग १ लाख ३७ हजार ६६ मतले पराजित भएका हुन्। मनोज तिवारीले ८ लाख २४ हजार ४५१ मत ल्याउँदा कन्हैया कुमारले ६ लाख ८५ हजार ६७३ मत पाए।
दिग्बिजय सिंह
मध्यप्रदेशमा कंग्रेस उम्मेदवार दिग्विजय सिंह राजगढ लोकसभा सिटमा पराजित भए। पूर्वमुख्यमन्त्रीसमेत रहेका उनी भाजपाका रोडमल नागरससँग १ लाख ४५ हजार ५३७ मतले पराजित भएका हुन्। दिग्विजयले ६ लाख १० हजार ६०२ मत ल्याए।
अजय राय
कंग्रेसको उत्तर प्रदेश अध्यक्ष अजय राय पराजित भएका छन्। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग १ लाख ५२ हजार ५१३ मतले पराजित भएका हुन्।
माधवी लता
भाजपा उम्मेदवार माधवी लता हैदरावाद लोकसभा सिटमा पराजित भइन्। त्यहाँ अल इन्डिया मज्लिस-ए- इतिहादुल मुस्लिमीनका अध्यक्ष असदउद्दिन ओवेसी चौथो पटक निर्वाचित भए।
ओवेशीले ६ लाख ६१ हजार ९८१ मत ल्याउँदा लताले ३ लाख २३ हजार ८९४ मत पाइन्।
कंग्रेसको उत्तर प्रदेश अध्यक्ष अजय राय पराजित भएका छन्। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग १ लाख ५२ हजार ५१३ मतले पराजित भएका हुन्।