भारतमा सम्पन्न लोकसभा निर्वाचनको सबै चुनाव क्षेत्रको परिणाम सार्वजनिक भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए गठबन्धन) ले २९३ सिट जितेको छ। त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३१ सिट जितेको छ।
अन्य पार्टीहरूले १७ सिट जितेका छन्।
भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले अघिल्लो पटक ३५२ स्थान जितेको थियो। उसले अघिल्लो पटक एक्लै ३०३ सिट जितेको थियो। यसपटक उसले ६३ स्थान गुमाएको छ।
कंग्रेस आईले सन् २०१९ को निर्वाचनको तुलनामा उल्लेख्य सुधार गरेको छ।
कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले अघिल्लो पटक ९४ स्थानमात्र जितेको थियो। कंग्रेस आई एक्लैले ५२ स्थान जितेको थियो। अहिले ४६ सिट थपेको हो।
कुल ५४३ सिटमध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
मुख्य निर्वाचन आयुक्त राजीव कुमारका अनुसार १९ अप्रिलदेखि सुरू भई विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेका थिए। यीमध्ये महिला मतदाताको संख्या ३१ करोड २ लाख छ। यसपालि ५८.५८ प्रतिशत मतदान भएको थियो।
भारतमा गत शनिबार अन्तिम चरणको मतदान सम्पन्न भएको थियो। त्यसअघि १९ अप्रिलमा पहिलो चरण, अप्रिल २६ दोस्रो चरणको, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो चरण, मे २० मा पाचौं चरण, मे २५ मा छैटौं चरणको मतदान भएको थियो।