उत्तर प्रदेशको अमेठी लोकसभा सिटमा कंग्रेस आईका किशोरी लाल निर्वाचित भएका छन्।
यहाँ भारतीय जनता पार्टीकी नेतृ तथा नरेन्द्र मोदी सरकारकी मन्त्री स्मृति इरानी पराजित भएकी छन्।
बिबिसीका अनुसार किशोरी लालले इरानीलाई ६७ हजार १९६ मतले पराजित गरेका हुन्।
कंग्रेसका लाल गान्धी परिवार निकट मानिन्छन्।
सन् २०१९ अघिसम्म अमेठी गान्धी परिवारकै सिट मानिन्थ्यो।
सन् २०१९ को लोकसभा निर्वाचनमा कंग्रेस आईका तत्कालीन अध्यक्ष राहुल गान्धी पराजित भए। त्यसअघि तीन पटकसम्म राहुलले अमेठीबाटै चुनाव जितेका थिए।
२००४ अघि सोनिया गान्धी, सञ्जय गान्धी र पूर्वप्रधानमन्त्री राजीव गान्धीले अमेठीबाटै चुनाव जितेका थिए।
सन् २००४ देखि लगातार जित्दै आएको अमेठी सिटमा २०१९ मा राहुलले नमिठो हार बेहोर्नुपरेको थियो।
राहुल गान्धीलाई पराजित गर्दै अमेठीलाई गान्धी परिवारको विरासतबाट अलग गरेपछि इरानीको राजनीतिक उचाइ थप बढेको थियो। त्यतिबेला राहुल गान्धी ५५ हजारभन्दा बढी मतले पराजित भएका थिए।
गान्धी परिवारको विरासत तोडेपछि मोदी नेतृत्वको सरकारमा उनी महिला तथा बालबालिका मन्त्री बनेकी थिइन्। उनी त्यसअघि पनि मानव संसाधन र सञ्चारमन्त्री बनेकी थिइन्।
मन्त्री हुँदा भने इरानी पटकपटक विवादित बनिन्। सञ्चार मन्त्री हुँदा पत्रकारहरूमाथि कारबाही गर्ने निर्णयदेखि नक्कली प्रमाणपत्र विवादमा उनी मुछिएकी थिइन्।
यसपालि पनि अमेठी सिटमा कंग्रेसका राहुल गान्धी उम्मेदवार बन्ने चर्चा चलेको थियो। त्यसो हुँदा अमेठी फेरि चर्चाको विषय बनेको थियो।
तर आफूनिकट किशोरी लाललाई अमेठीमा उम्मेदवार बनाएर राहुल उत्तर प्रदेशको रायबरेली गएपछि कंग्रेस केही निराश भएको थियो। पछि उनले केरलको वायनाड सिटबाट पनि उम्मेदवारी दिए।
यी दुवै सिटबाट राहुल निर्वाचित हुने निश्चित भइसकेको छ।