लोक सभाको मत परिणाम आउन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो प्रतिक्रिया दिएका छन्।
मंगलबार चुनावी परिणाम आउन थालेपछि मोदीले तेस्रोपटक एनडिएलाई विश्वास गर्दै इतिहास रचेकोमा जनतालाई धन्यवाद ज्ञापन गरेका छन्।
'जनताले लगातार तेस्रो पटक एनडिएमा विश्वास गरेका छन्,' उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'यो भारतको इतिहासमा एउटा ऐतिहासिक उपलब्धि हो।'
उनले सवा ८ बजे राष्ट्रको नाममा सम्बोधन गर्दैछन्।
यस्तै, जनताको आकांक्षा पूरा गर्न विगत एक दशकमा भएका राम्रा कामलाई निरन्तरता दिने समेत उनले बताएका छन्।
प्रधानमन्त्री मोदीले कार्यकर्ताहरूको असाधारण प्रयासको तारिफ गरेका छन्।
'म हाम्रा सबै कार्यकर्ताहरूलाई उनीहरूको कडा परिश्रमको लागि पनि सलाम गर्दछु,' उनले लेखेका छन्, 'शब्दहरूले उनीहरूको असाधारण प्रयासहरूमा कहिल्यै न्याय गर्दैनन्।'
मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन्।
आज सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टीका उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यहाँ कंग्रेस आईले अजय रायलाई उम्मेदवार बनाएको थियो। राय लगातार दोस्रो पटक मोदीसँग पराजित भएका हुन्।
सन् २०१९ को निर्वाचनमा मोदी ६ लाख ७४ हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए।