डेनमार्कको राजधानी कोपनहेगन शहरको मुख्य केन्द्र सेन्ट्रल स्टेशनहुँदै गुड्ने सार्वजनिक बस २५० ‘एस’ को स्टेरिङमा सपना खड्काको हात हुनेगर्छ। अर्को व्यस्त रूट नरेपोर्ट हुँदै चल्ने १४ नम्बर बस पनि उनले चलाउने गरेकी छन्। सबैभन्दा व्यस्त मध्येमा पर्ने यो क्षेत्रमा ३ सातादेखि खड्काले बस गुडाईरहेकी छन्।
परदेशी भूमि, डेनिस भाषा तथा प्राविधिक समस्यालाई चिर्दै खड्का सार्वजनिक सवारीको ड्राइभिङ सिटमा पुगेकी हुन्। यहाँ सार्वजनिक सवारीलाई महत्वपूर्ण र भरपर्दो माध्यमका रूपमा हेरिन्छ ।
सुरक्षित, मर्यादित र सम्मानित पेशाको रूपमा बस चालकलाई लिइन्छ। करिब ५ हजार नेपाली रहेको डेनमार्कमा सार्वजनिक बस चलाउने २९ वर्षिय खड्का पहिलो नेपाली महिला हुन्।
नेपाली पुरूष बस चालक भने करिब २० जना छन्। डेनमार्कमा पहिलो नेपाली बस चालक गणेश ढकाल हुन्। ढकाल झण्डै १० वर्षदेखि कोपनहेगनमा बस चलाईरहेका छन्।
बागलुङ घर भएकी खड्का डेनमार्क आएको ५ वर्ष भयो। उनी श्रीमान र २ छोराछोरीका साथ कोपनहेगनमा बस्दै आएकी छन्।
सन् २०१९ मा ‘बी’ सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिएकी उनले बस सम्बन्धि छुट्टै कोर्ष गरेर लिखित र अभ्यासमा पास भएपछि सार्वजनिक सवारी बस चलाउने अनुमति पाएकी हुन्। त्यसपछि ५ दिन तालिम गरेपछि पूर्णकालिन रोजगार पाएकी हुन्।
६ साता श्रम बजार शिक्षा (एएमयू) कक्षा लिएर उत्तिर्ण भएपछि उनी क्यूलिस कम्पनीमा आवद्ध भएकी छन्। डेनमार्कको सार्वजनिक बसको छाता संस्था मुभीया अन्तर्गत क्यूलिस पर्छ। खड्काले यो कम्पनिमा आबद्ध भएर सातामा ४ दिन बस चलाइरहेकी छन्।
‘अरूले गाह्रो हुन्छ भन्ने सुनेकी थिएँ, सोधखोज गरेर मेहनत गरेपछि पास भएँ र जागिर पनि पाएँ’, खड्काले सेतोपाटीसँग भनिन्, ‘कोपनहेगनको मेन सिटी संवेदनशील र व्यस्त छ म यहीँ बस चलाईरहेकी छु।’
यो पेशामा कमाई पनि राम्रै छ। उनले घण्टाको १६१ डेनिस क्रोनर पाउँछिन्।
खड्काले यसअघि अन्य सामान्य काम गर्दै आएकी थिइन्। ‘पहिला २ वर्ष हाउसकिपिङ गरेँ, अलि गतिलो सिपयुक्त स्थायी कामको खोजीमा थिएँ, यता कोर्ष गरेर पास भएपछि पाएँ’, उनले भनिन्।
साना छोराछोरी भएकाले अन्य काममा भनेजस्तो समय पनि नमिल्ने तर यता निश्चित समय हुँदा परिवारलाई पनि प्रयाप्त समय दिन सकिरहेको बताइन्।
यो क्षेत्रमा लाग्न श्रीमान मोहन खड्काले उनलाई पुरा साथ र सहयोग गरेका छन्। ‘डेनिस भाषा सिक्न र सिपयुक्त काम गर्न श्रीमानले सधै साथ र सहयोग गर्नुभयो अनि म सफल भएँ,’ उनले सेतोपाटीसँग भनिन्।
उनका श्रीमान खड्का पनि छोटो समयमा सपनाले काम गरेर देखाएकोमा खुसी छन्। ‘डेनिस भाषा राम्रोसँग सिकिन् अनि बसको कोर्ष पनि छिटै गरेर सफल भइन्, धेरै नै खुसी छु,’ मोहनले सेतोपाटीसँग भने।
उनीहरुका ९ वर्षको छोरी र ६ वर्षको छोरा छन् ।
सार्वजनिक बस चलाउन इच्छुक अन्य महिलालाई डेनिस भाषा सिकेर बसको कोर्ष लिन सपनाले सुझाइन्। ‘यो सुरक्षित र राम्रो पेशा हो, इच्छा हुने दिदीबहिनीले मेहनत गरेर आउँदा राम्रो हुन्छ,’ उनले नयाँ आउन चाहनेलाई सुझाव दिइन्, ‘महिला हुँ भनेर खुम्चिएर बस्न हुँदैन।’
डेनमार्कका पहिलो नेपाली बस चालक गणेश ढकालले नेपाली महिला पनि बस चलाउने पेशामा आएकोले खुसी व्यक्त गरे। हरेक दक्ष पेशामा नेपाली बढ्दै जानुपर्नेमा उनले जोड़ दिए ।
‘सपना बहिनीले पब्लिक बस ड्राइभिङ पास भएर जागिर पाएकोमा खुसी लागेको छ,’ कोपनहेगनको वातावरणमैत्री सार्वजनिक बस ५ ‘सी’ का चालक ढकालले भने, ‘सिपयुक्त हरेक पेशामा हामी नेपाली जोडिँदै जानुपर्छ।’