डेनमार्कको राजधानी कोपनहेगनसँगै जोडिएको रोदोभर कम्यून (नगरपालिका) को आयोजनामा भएको विविधता उत्सवमा नेपालको प्रचार प्रसार गरिएको छ ।
प्रदर्शनीमा नेपाल चिनाउने सामाग्रीको प्रदर्शन, कला संस्कृति तथा पर्यटकीय गन्तब्यको जानकारी र नेपाली खानेकुरा राखिएको थियो।
रोदोभर कम्यूनले हरेक वर्ष यस्तो किसिमको उत्सव गर्दै आएको छ। हरेक देशको कला संस्कृति, खानेकुराको एक आपसमा चिनजान र पर्यटन प्रवर्धन होस् भनेर यस्तो किसिमको उत्सव भएको हो। गएको वर्ष कोरोनाका कारण हुन पाएको थिएन।
उत्सवमा नेपाललगायत करिब १ दर्जन मुलुकको सहभागिता थियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्क महिला फोरमको संयोजनमा नेपाल प्रवर्धन कार्यक्रम २१ अगष्टका दिन भएको थियो ।
सहभागी ययौं डेनिस तथा विदेशीले उत्सवमा नेपालको पर्यटन सम्बन्धमा उत्सुकतापूर्वक जानकारी लिएका थिए भने नेपाली परिकार स्वाद मानेर खाएका थिए।
महिला फोरमका संयोजक मनिषा सिंह कोइरालाले उत्सवका सहभागीलाई नेपाल बारेमा जानकारी गराएकी थिइन्।
‘डाइभर्सिटी फेष्टिभलमा नेपाल बारेमा सहभागीलाई जानकारी दिइयो, रोदोभर कम्युन मार्फत नेपाल र नेपाली चिनाउने उद्देश्य सफल भयो,’ कोइरालाले भनिन्, ‘हामीले तयार गरेका नेपाली खाने परिकारहरु सहभागीले मिठो मानी-मानी खाए, गज्जब भयो।’
कार्यक्रममा सेलरोटी, अचार र खजुरी प्रदर्शन र बिक्रीमा राखिएको थियो।
उत्सवमा सिता विश्वकर्मा र विनीता घिमिरेले सञ्चालन गरेको नेपाली कल्चरल सामग्रीको पसल स्मार्ट वयरले राखेको स्टलमा नेपाली कल्चरल सामाग्री र पोशाकहरु राखिएको थियो । सहभागीले चासो पूर्वक हेर्दै केही किनेका पनि थिए ।
डाइभर्सिटी (विविधता) उत्सवमा पाकिस्तान, टर्की, फिलीपीन्स, घानालगायतको सहभागिता थियो। नेपाल चिनाउने पर्यटकीय पोष्टर, ब्रोसर्स नेपाली राजदूतावास डेनमार्कले उपलब्ध गराएको थियो।
कार्यक्रममा सहभागी एनआरएनए आइसीसी सदस्य अशोक शर्माले जसरी यहाँ सबै जात, धर्म, संस्कृतिको एकै थलोमा प्रदर्शन र एकआपसमा आदानप्रदान भयो नेपालमा सबै बीचमा अन्तरघुलनको लागि यस्तै कार्यक्रमहरू हुनुपर्ने आवश्यकता औंल्याए।
उत्सवमा एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, उपाध्यक्ष जमुना कँडेल, सदस्य विमला शर्मा खरेल, निवर्तमान महिला संयोजक शोभा न्यौपाने र सामाजिक अभियन्ता हरि न्यौपाने लगायत सहभागी थिए।