नेपाली दिदी बहिनी राता-राता कपडामा सजिएर कार्यक्रम स्थलमा जम्मा भए। उनीहरुलाई विदेशीहरुले पनि अनौठो मानि हेरेका थिए। दिदी बहिनीहरुको पहिरनले संकेत गर्यो तिजको रमझम।
झण्डै डेढ़ वर्षदेखि संसार नै ठप्प जस्तै छ। कोरोना महामारी पछि यसपालिको तिजमा डेनमार्कका नेपाली दिदीबहिनीहरु खुलेर रमाउन पाए।
शनिबार साँझ कोपनहेगनको एक हलमा नेपाली दिदी बहिनीहरु भेला भएर रमाइलो मात्रै गरेनन् स्वास्थ्य सचेतना पनि फैलाए।
यसको मेलो मेसो जुराएको थियो, महिलाहरुको संस्था क्रियटिभ नेप्लिज वमन डेनमार्कले। हरेक कार्यक्रम भिन्न शैलीले गर्ने यो सक्रिय संस्थाले यसपालिको तिज कार्यक्रम पनि फ़रक तवरले गर्यो।
कार्यक्रमका सहभागी सबैलाई कोरोना पास लिएर आउन अनुरोध गरिएको थियो। र कडाइका साथ लागु पनि गराइयो। नेपालीसँगै केही डेनिस पनि सहभागी भए। नारीहरुसित उनिहरु पनि रमाए।
‘हरेक वर्ष हामिले भिन्न तवरले तिज मनाउँदै आएका छौं, लाष्ट एयर कोरोनाले भएन यसपालि भने स्वास्थ्य सचेतना फैलाउँदै रमाइलो गरियो’, क्रियटिभकी अध्यक्ष श्रेया महर्जनले भनिन्।
तिज कार्यक्रममा सहभागी महिलाहरुलाई लक्षित गरि आरुषबाट आएकी गाइनोलोजिस्ट सेसेलियाले स्वास्थ्य जानकारी समेत दिएकी थिइ्न्।
उनले बच्चा जन्माउने उमेरका महिलाहरूले आफ्नो गर्भाशय जाँच गर्नु पर्नेमा जोड़ दिएकी थिइ्न्। ‘रमाइलो संगै हेल्थमा पनि ध्यान दिनुपर्छ भनेर गाइनोलोजिस्टको प्रस्तुतिसंगै दर खाएर र नाचगान गरेर तिज मनाएका हौं’, संस्थाकी महासचिब सरु पाण्डेले बताइन्।
के देश के विदेश तिजको रमझम बढ्दो छ। महिलाहरुको बिशेष पर्व तिजले देशको सिमाना काटेको छ। जहा नेपाली नारी पुगेका छन्, त्यहाँ तिजको रन्को छ।
प्रदेशमा भए पनि दिदीबहिनीहरु तिजको अवसरमा भेट्ने, मनका कुरा गर्ने, तिजे गितमा नाच्ने गाउने र रमाइलो गरे। दिदी बहिनीहरुलाई हौसला बढाउन कार्यबाहक नेपाली राजदूत तिर्थ अर्याल पनि कार्यक्रममा सहभागी भएका थिए। १२० जना भन्दा बढ़ी कार्यक्रममा सहभागी थिए।
नेपाली कला र संस्कृति जहाँ भए पनि भुल्न नहुने भन्दै अर्यालले शुभकामना दिए।
कार्यक्रममा कोपनहेगन महानगर पालिकाकी लर्ड मेयरकी उम्मेदवार सोफिया एन्डरसनले पनि भनाई राखेकी थिइ्न। गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी लगायतले कार्यक्रममा धारणा राखेका थिए।
नेपाली भान्छाघर रेष्टुरेण्डले दर खुवाएको कार्यक्रममा सिता विश्वकर्मा र विनीता घिमिरेले सन्चालन गरेको नेपाली कल्चरल सामग्रीको पसल स्मार्ट वयरले पनि स्टल राखेको थियो।
सहभागी डेनिस अतिथीहरुलाई नेपाल प्रवर्धनका सामाग्री प्रदान गरिएको थियो।
क्रियटिभ डेनमार्कको नेपाली समाजमा फरक पहिचान बनाएको सामाजिक सस्था हो, जसले हरेक कार्यक्रम फरक तवरले गर्छ, हिसाब पारदर्शी देखाउछ अनि बचत रकम नेपालका महिला, बालबालिका र जेष्ठ नागरिकको लागि शिक्षा र स्वास्थ्यमा सहयोग गर्छ।
कार्यक्रमबाट सङ्कलन भएको रकमबाट खर्च कटाएर बाँकी रहेको रक़म समाजसेवामा खर्च गर्ने महासचिब पाण्डेले बताइन्।