डेनमार्कस्थित आरहूस विश्वविघालयकी प्राध्यापक करीन भ्यालेन्टिनले बुधबार नेपाल सम्वन्धि २ पाना अपील फेसबुकमा पोष्ट गरिन्। जहाँ धेरैले चासो दिंदै राम्रो पहल भएको प्रतिक्रिया दिए।
नेपालमा कोभिड-१९ ले समस्या बनाएको भन्दै मानवीयताको हिसावले स्वास्थ्य सामग्री सहयोग गर्न डेनमार्क सरकारलाई अनुरोध गरिएको छ। डेनमार्क सरकार र यहाँका राजनीतिक पार्टीलाई पनि गम्भीर बन्न र सहयोग गर्न भ्यालेन्टिनको अग्रसरतामा अपील सार्वजनिक भएको हो।
यो विषयले यहाँका सञ्चार माध्यममा पनि ठाउँ पाएको छ। सो विषय २० मे का दिन डेनमार्कको संसदमा दर्ता समेत भएको छ।
‘नेपालमा मानवीयता सम्बन्धी सहायता अपील’ विषयमा संसदमा दर्ता भएको हो। अब संसदमा छलफल प्रश्चात नेपालमा स्वास्थ्य सहायता सम्बन्धी निर्णय गर्ने बुझिएको छ। पहलकर्ता भ्यालेन्टिनले नेपालमा सहयोग सम्बन्धी आफुहरुको अपीलमाथि डेनिस संसदकै ध्यानाकर्षण भएको बताउँदै छिट्टै सहयोग पनि हुने विश्वास व्यक्त गरिन्।
‘मैले सम्पर्क गरेका धेरै राजनीतिज्ञहरूले समर्थन गर्दै सहयोगको आश्वासन दिएका छन्’ उनले भनिन्, ‘मैले विहिवार दिउँसो अपीललाई संसदको एक समितिमा पठाएँ, आशा छ कि चाँडै सकारात्मक सहयोग हुनेछ।’
डेनमार्कका परराष्ट्र मन्त्री येपे कोफुल र विकास मन्त्री फ्लेमिंग म्युलर मोर्टेन्सनलाई सम्बोधन गरि लेखिएको अपीलमा नेपाललाई तुरून्तै सहयोग गर्न अनुरोध गरिएको छ।
नेपाल र नेपालीलाई माया गर्ने विज्ञ, लब्ध प्रतिष्ठित तथा डेनमार्कका विभिन्न विश्वविघालयका प्राध्यापक २१ डेनिस र ३ नेपालीको नाम अपीलमा उल्लेख छ।
कोभिड-१९ का कारण नेपालको अवस्था गम्भीर बन्दै गएको भन्दै मानवीयताको हिसावले छिटो सहयोग गर्नुपर्नेमा जोड़ दिइएको छ।
‘नेपाल र नेपालीलाई माया गर्ने हामीहरुको अपील छ, नेपाललाई अहिले सहयोगको आवश्यकता छ’ अपीलमा लेखिएको छ, ‘कोभिड-१९ ले नेपालको अवस्था गम्भीर छ, छिटो डेनमार्क सरकारले मानवीयताको हिसावले सहयोग गरोस।’
केही दिन अघि कोभिड-१९ बाट ग्रस्त भारतलाई डेनमार्क सरकारले ५ मिलियन डेनिस क्रोनर सहयोग गरेको थियो। अपीलमा सो कुरा पनि उल्लेख छ। ‘केही अघि कोभिडबाट समस्यामा परेको भारतलाई सहयोग गरेको हामीले देखेका छौं, त्यसको हामी प्रशंसा गर्छौ र त्यस्तै अवस्थाबाट नेपाल पनि गुज्रिएको छ, सहयोगको आवश्यकता छ।’
साथै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगको लागि अन्तराष्ट्रीय समुदायलाई अनुरोध गरिरहेको र धेरै देशले सहयोग पनि गरेको अवस्थामा डेनमार्कले पनि छिटो भन्दा छिटो स्वास्थ्य सामग्री सहयोग गर्नुपर्नेमा जोड़ दिइएको छ।
नेपाल र भारतबीच १८ सय ८० किलोमीटर लामो र खुल्ला सिमाना रहेको तथा संस्कृति र भाषा पनि मिल्ने भएकाले कोरोना पनि नेपालमा फैलिएको अपीलमा बताइएको छ।
प्राध्यापक भ्यालेन्टिन नेपाललाई नजिकबाट चिन्ने डेनिस नागरिक हुन्। उनी नेपालका विभिन्न विषयमाथि प्राज्ञिक खोज अनुसन्धान गरेकी छन्। डेनमार्कमा रहेका नेपालीसँग पनि नजिक रहेर सहयोग, चासो र चिन्ता राख्ने गर्छिन। नेपाली प्राय: कार्यक्रममा सहभागी समेत हुन्छिन्।
यसैगरि, नेपालमा कोभिड-१९ विरुद्ध सहयोगको लागि डेनमार्क लागि नेपाली राजदूत युवनाथ लम्सालले पनि पहल भैरहेको जानकारि दिए। उनको कार्यक्षेत्र नर्वे, स्विडेनबाट पहल भैरहेको छ भने फिनल्याण्डबाट केही सहयोग नेपाल गएको छ। ‘फर्मल्लि पहल भै रहेको छ सहयोग जाने विश्वास छ।’ लम्सालले भने। काठमाण्डौमा रहेको डेनिस राजदूतावास २०१६ मा भारतको दिल्लीमा सरेको छ।
नेपाली विज्ञ/वैज्ञानिकहरुको संस्था नेपाल साइन्टिफिक प्यानलका संयोजक डा.रवी क्षेत्रीले पनि नेपालमा सहयोगको लागि आफ्नो ठाउँबाट प्रयास गरेको जानकारी दिए। ‘यहाँको प्रतिष्ठित अर्गानिइजेसन नोर्भो नोर्डिस्क र अन्य डेनिस कम्पनिमा पनि कोभिड-१९ विरुद्ध नेपाललाई सहयोग गर भनेर अनुरोध गरेको छु पोजेटिभ रेस्पोन्स पाएको छु, हेरौं केही होला।’ उनले भने।
डेनमार्कमा रहेका नेपाली राजनीतिक तथा सामाजिक केही संघ/संस्थाहरुले पनि आर्थिक संकलन अभियान अघि बढाएका छन्। ‘कोरोनासंग लड्न स्वास्थ्य सामग्री खरीदका लागि भनेर यहाँका विभिन्न नेपाली संघ संस्थाहरुले रक़म जम्मा गरि रहेका छन।’ एनआरएनए डेनमार्कका उपाध्यक्ष इन्द्र पनेरुले जानकारि दिए।