बिहानको समय दिवा–बस थानकोट हुँदै नागढुंगाबाट ओरालो लागी सकेको थियो। मेसँगैको सिटमा बसेकी एउटी अधबँैसे आइमाई आफ्नै सुरमा बोल्दै थिई– ‘छि ः यो बस पनि कति कुदाएको मलाई त चक्कर लाग्ला जस्तो भयो।’
अघि सम्म कुनै ध्यान नदिएको मैले पनि ऊतिर यसो फर्केर भनेँ–‘झ्यालतिर बस्नु हुन्छ र?’ हजुरलाई धन्यवाद! भन्दै जुरुक्क उठेर झ्यालतिरको सिटमा सर्दै भनी– ‘मलाई त अलिकति हावा नआए बसमा हिँड्दा रिंगटा लागेर आउँछ।’
म नयाँ बसपार्कबाट चढेको भएपनि ऊ चाहिँ कलंकीबाट चढेकी थिई। म भन्दा अगाडिका केहि सिटहरू खालि थिए तर पनि ऊ मेरो छेवैमा बस्न आई। मलाई खासै अचम्म लागेन किनकि जुन सिटमा बसेपनि उसको आफ्नो इच्छा न हो। केही समयको सन्नाटापछि ऊ बोली– ‘हजुर कहाँसम्म हो?’
‘म बुटवल, हजुर नि?’
मेरो प्रश्न नटुङ्गिदै जवाफ फर्काई– ‘मेरो घर हेटाँैडा हो, माइती चितवन तर अहिले बसाइ काठमाडौँमा छ। अहिले माइती घर चितवन जाँदै छु।’
एउटी अपरिचित आइमाईको लामो उत्तरले मलाई पनि कताकता केही बोलूँ–बोलूँ जस्तो लाग्न थालिसकेको थियो। तर कुरा कहाँबाट सुरू गर्ने अन्योलमा थिए। यत्तिकैमा उसके फेरी प्रश्न गरी– ‘तपाईँको घर बुटवल नै हो? अनि कहाँ के गर्नु हुन्छ नि?’
‘हजुर मेरो घर बुटवल नै हो म कोरिया छु अहिले छुट्टीमा नेपाल आएको।’ कोरिया? उसले अलि अचम्म मानेको स्वरमा बोली। ‘किन तपाईलाई विश्वास लागेन र?’ मैले प्रश्न गरेँ। ‘होइन होइन मेरो श्रीमान पनि पहिले कोरिया हुनुन्थ्यो त्यही भएर हो। ए ए अनि अहिले कहाँ घरमै हुनुन्छ ? ’
अहिले काठमाडौंमा सानोतिनो पसल गरेर बसेका छौ ,राम्रै गुजारा चलेको छ। मलाइ लाग्छ सकेसम्म परिवार छाडेर कोहि पनि विदेश नजाओस्, तपाइको परिवार कहाँ हुनुन्छ नि? उसले छोटो कुराकानीमै धेरै प्रश्न गर्न थालेकोमा म अअचम्मित हुदै थिए।
मेरो परिवार बुटवलमै छन्, श्रीमतीले सानोतिनो जागिर गर्छिन्। अनि तपाईँको श्रीमान फेरी कोरिया जानु हँुदैन अब? मेरो प्रश्न नसकिदै उसले जवाफ फर्काई,नाइँ–नाइँ अब कहिले विदेश जानु हुँदैन अब हामी कहिले नछुट्टिने कसम खाएका छौँ। अघिसम्म त्यति ध्यान नदिएको म अब भने झुक्याएर बेला–बेलामा उसको अनुहारतिर हेर्थेँ।
मंगोलिएन अनुहारकी ऊ, हेर्दा असाध्यै राम्री थिई। लाग्थ्यो– जवानी र रूपको लागि सायद प्रकृतिले अतिरिक्त समय खर्चेको हुनुपर्दछ। हल्का हरियो रंगको टिसर्ट अनि निलो जिन्स पाइन्टमा सजिएकी ऊ हेर्दा बीस बाइस वर्षे ठिटी भन्दा कम देखिन्नथी। म कताकता केके सोचेर आफैँमा टोलाएछु। तपाईँको नाम के नि? उसको प्रश्नले मलाइ एक्कासी झस्कायो अरुण, अनि तपाईँको नि ? मैले प्रतिप्रश्न गरेँ । मेरा नाम धेरै छन् तर मेरो श्रीमानले राखेको नाम चैँ ज्योति हो। किन नि एकै मान्छेको धेरै नाम? देख्दा एउटा मान्छे भएपनि समय र परिवेशले उसलाई फरक फरक नाम दिँदो रहेछ।
आखिर मैले हिम्मत राखेरै भएपनि केही कुरा खोतल्ने मनसाय बनाए। कोरियाको कमाइ राम्रै हुन्छ नि किन अझै दुइचार वर्ष बस्न दिएको त राम्रो हुन्थ्यो नि यसरी कसम नै खानु पर्छ र भन्या ! मैले पनि ठट्याउलो पारामा सोधेँ। त्यस्तो होइन श्रीमानले कमाइ गरेको कसलाइ पो मन पर्दैन र तर मेरो जीवन–कथा अलि फरक छ। अब हामी कहिले छुट्टिएर बस्ने छैनौँ। उसले यति भन्दै गर्दा ममा भने झन् कौतुहलता बढ्दै थियो के होला उसको फरक जीवन–कथा? एकमनले सोचे ह्या किन चहियो नचिनेको मान्छेको कहानी। तर मेरो मनमा कौतुहलताले भने छाडेको थिएन।
करिब ९ बजेतिर धार्केमा बस रोकियो सबैजना नास्ता खान ओर्लिए। क्रमैसँग बसले पुनः आफ्नो गति लियो। फेरी हाम्रो संवाद सुरू भयो। आखिर केहिबेरको संवाद अनि मेरो जिद्दी पछि उसले आफ्नो फरक जीवन–कथा खोल्दै गई।
ऊ निकै भावुक मुद्रामा बोल्दै थिई। ‘२१ वर्षको उमेरमा मेरो प्रेम विवाह भएको थियो। श्रीमान्ले सानितिनो व्यवसाय गर्नुहुन्थ्यो। म घरको कामको अलावा आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै थिएँ। जे छ त्यसैमा हाँसी खुसी रमाएर बाँचेका थियौँ। लाग्थ्यो संसारमा सबैभन्दा खुसी हाम्रो जोडी छ। करिब २ वर्षपछि बाबु जन्मियो परिवारमा झन् खुसी थपियो। एकदिनको कुरा हो मेरो श्रीमान्ले नेपालमा बसेर खासै प्रगति भएन, साथीभाइले धेरै कमाएर प्रगति गरिसके। आफूलाई पनि भाषा पढेर कोरिया जान इच्छा लागेको बताउनु भयो। सुरूमा त मैले पर्दैन जे छ यसैमा खुसी छौं भनेर उहाको इच्छालाई इन्कार गरँे तर सोच्दै गएँ। आखिर नेपालको दश–बीस हजारको कमाइले के नै हुन्छ र? दुइ चार वर्ष न हो त्यसपछि त सधै संगै बसिन्छ नि।’
‘आखिर त्यो दिन आइपुग्यो मुटु गह्राँै पारेर विमानस्थलबाट बिदाइ गर्दै गर्दा मैले पहिलोपल्ट उहाँको आँखामा आँसु देखिकी थिएँ। म कसरी सम्हालिएँ आफैँलाई थाहा छैन। अबको दिनहरू मलाइ नैराश्य लाग्न थाल्यो। कहिले नछाडेको श्रीमान्ले छाडेर विदेशिँदा आफुलाई सधै एक्लो भएको महसुस हुन थाल्यो। श्रीमानसंगको निरन्तर भिडियो कलले पनि मेरो एक्लोपनामा केही उर्जा थपिएन।’
‘एकदिनको कुरा हो म कलेजबाट फर्किदै थिए बाटोमा फेसबुक खोले अपरिचित मान्छेको रिक्वेस्ट आएको रहेछ। हेरँे कोही पनि म्युचल फ्रेन्ड रहेनछ। उसको प्रोफाइल खोलेर हेरे सबैकुरा राम्रै लाग्यो अनि एसेप्ट गरेँ। हाइ भनेर मेसेज आयो हेल्लो भनेर फर्काए। हाइ–हेल्लो हुँदाहुँदै बेला बेलामा फोन कल हुन थाल्यो। उसले आफ्नो काठमाडौंमा घर भएको र आफू एउटा प्रोजेक्टमा जागिर गर्दै गरेको बताउँथ्यो। बेलाबेलामा हाइ प्रोफाइल भएको फोटोहरू अपलोड गथ्र्याे। हामी कुराकानीलाई निरन्तरता दिन थाल्यौँ । घन्टाँैसम्म भिडियो कल हुन थाल्यो। उसले एकदिन नारायणगढमा भेट्न बोलायो। मैले घरबाट माइत जाने निहुँ पारेर उसलाई भेट्न गएँ। एक्लो पनाले छटपटाइरहेकी मैले उसको सम्पूर्ण प्रस्तावलाइ स्वीकार गरेँ। त्यो रात उसैसँग त्यही होटेलमा बसेर अर्को दिन माइत पुगेर पुनः घर फर्किए। अब हाम्रो भेट निरन्तर हुन थाल्यो। कहिले मुग्लीनमा बोलाउँथ्यो कहिले कुरिनटारतिर बसिन्थ्यो। म पनि घरबाट निस्किनलाई विभिन्न बहाना बनाउन सिकिसकेको थिएँ।’
‘श्रीमान् कोरिया गएको पनि २ वर्ष पुगिसकेको थियो। कमाइ राम्रै थियो। भन्नुहुन्थ्यो, आखिर मैले दुःख गरेको तिम्रै लागि न हो। तिमीलाई आवश्यक परेको खर्च गर, बाबा आमालाई पनि केही पैसा देऊ। बचेको पैसा बैँकमा जम्मा गर म फर्किएपछि केहि गर्नु पर्छ। मैले पनि केहि रकमले गहना जोडँे र बाकिँ पैसा खर्च कटाएर बैंकमा जम्मा गर्दै गरेँ।’
हामी निरन्तर भेट हँुदै जादा उसले एकदिन बिहे गरेर दुवैजना काठमाडौँमा सुख साथ बस्ने प्रस्ताव राख्यो। म उसको मायामा यति धेरै फसेकी रहेछु कि केही नसोची सहजै स्वीकारँे। ३ वर्षको छोरालाई उसको हजुरआमाको जिम्मा छाडेर माइत जाने निहुँ पारी घरबाट निस्किएँ। हाम्रो योजना बमोजिम ऊ नारायाणगढसम्म लिन आइपुग्यो। त्यो रात हामी काठमाडौँ पुगेर एउटा होटेलमा बस्यौँ। काठमाडौँको आफ्नो घर भाडामा दिएको र एक महिनापछि खाली हुने भएकोले केहि दिनको लागि आफ्नो पुख्र्यौली घर नुवाकोट जानु पर्ने बतायो। मैले सायद आफ्नै मुटुलाई त्यति विश्वास गर्दिनथेँ होला तर उसलाई त्यति विश्वास गर्दथेँ। उसले आफ्ना आमाबाबुसंग सल्लाह गरेको र मलाई सहजै स्वीकार्ने बताउँदै थियो। मेरो घरतिरको मान्छेले खोजी गरे भने अफ्ठेरो पर्ने भन्दै मेरो बैंक खातामा भएको करिब २० लाख रुपियाँ पनि उसले अर्को खातामा जम्मा गरायो। फेरी गाउँमा जाने हो चोर लाग्न सक्छन् गहना पनि यतै कतै बैंकको लकरमा राखौँ भन्ने सल्लाह गरी लकरमा लगेर राखी दियो। दुई दिन काठमाडौंको बसाइपछि हामी नुवाकोट उसको पुर्ख्यौली घरमा पुग्यौँ। घरमा उसका बुढा बाबा आमा मात्रै हुनुहुँदो रहेछ। उहाँहरूले हामीलाई राम्रै स्वागत गर्नु भयो। २ दिन गाउँमा बसेपछि उ प्रोजेक्टको कामले विराटनगर जानुपर्ने भन्दै मलाई घरमा छाडेर निस्कियो। एकदिन मैले खाना पकाउँदै थिए उसको आमाले पछाडिबाट मेरो कपाल सुम्सुम्याउँदै यति राम्री नानी रहेछौ विचरा! त्यो मोरोले फसायो।
‘हाम्रो सन्तानको नाममा एउटा मात्र छोरा हो। काठमाडौंमा कुन्नि के के गर्छ बेला बेलामा ल आमा बुहारी ल्याइदिएको छु भन्दै तिमी जस्तै राम्रा राम्रा नानी ल्याउँछ। अहिलेसम्म तीनवटी ल्याइसक्यो तर कोही पनि बसेनन्। हामीलाई कमाइ दिने छोरा हो केही भनौँ वा गाली गरौँ भने मार्छ कि जस्तो गर्छ। विचरी! तिमीलाई पनि फसाएछ मोराले।’ आमाले यति भन्दै गर्दा मैले आफ्नो अगाडिको सम्पूर्ण वस्तुलाई छाया जस्तो देख्न थालिसकेको थिएँ। मलाइ कता कता चक्कर लागेर आयो। कतै सपनामा पो छु कि भन्ने भान हुन थाल्यो। हिँड्ने बेलामा तोते बोलीले मामु थित्तई आउनु ल भन्दै बिदा गरेको त्यो अबोध छोराको यादले सतायो। ऊ भक्कनिदै थिई– ‘विचरा! आफ्नो जन्मदिने आमा जिउँदै हुँदाहँुदै टुहुरो बनाउने म पापिनी आमा।’
उसले आफैँलाई धिक्कार्दै थिई। उसले यी शब्द बोल्दै गर्दा मलाई भने आफ्नो परिवारको सुन्दर सपना बोकेर विदेशीएका लाखौँ नेपालीलाई सम्झँदै थिएँ।
यात्रुले खचाखच बस आफ्नै गतिमा गुडिरहेको थियो। ऊ निरन्तर बोल्दै थिई– ‘मेरो साथमा घाँटीमा लगाएको एउटा सिक्री र २ हजार रुपैँया बाहेक अरू केहि थिएन। तैपनि म हिम्मत नहार्ने निधो गरेँ। काठमाडौंका गल्ली–गल्लीमा पुगेर उसलाई खोज्ने निर्णय गरँे। एकमनले सोचेँ प्रहरीमा रिपोर्ट गरौँ। तर फेरी सोचेँ होइन यसो गर्नु हँुदैन उल्टै प्रहरीले मलाइ नै खोजिरहेको होला। त्यत्रो धन सम्पत्ति लिएर हिँडेको म कसरी प्रहरीमा जान सक्छु ...।
बस एक्कासी नारायणगढ पुगेर रोकिया।े ऊ ओर्लिने बेलामा भन्दै थिई– ‘मेरो जीवन कथा अनि संघर्ष लामो छ। म अवश्य पनि बताउने छु।’