आफू परदेशिएको पनि दशक पुग्न लागिसकेछ। यसपटक भने मेरा आमाबुबा आउनुभएको छ। त्यसैले दशैंतिहार मेरा लागि विशेष बन्ने नै भयो। दशैंतिहार मनाइरहेको पलमा एउटा कुराले मनको रमाइलो नै विथोल्यो।
मैले हर्सोल्लासले चाडपर्वहरू मनाइरहँदा मेरा गाउँलेहरूको निधार खाली छ। कानमा जमारा छैन। गलामा माला छैन। उनीहरूले रोजगारीका लागि गरिएको सम्झौताका कारण दशैंतिहार पर्व मनाउन पाएनन्। दशैंतिहार मात्र होइन जन्मेदेखि मृत्युपर्यान्तका कुनै पनि संस्कारगत कुराहरूबाट उनीहरू बन्चित छन्।
यसखालको प्रतिबन्धले उनीहरूको जीवन चल्न थालेको पनि दुई दशक नाघिसक्यो। जतिखेर ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले टीम नेपाल ग्रुपले चौरजहारी अस्पताल सञ्चालनमा ल्याएको थियो हो, त्यसैबेलादेखि उनीहरूका दशैंतिहारहरू खोसिन सुरू भएका हुन्। त्यतिनै बेला मेरा गाउँलेहरूले रोजगारीको लागि दशैंतिहार लगायतका धार्मिक संस्कारहरू प्रयोगमा ल्याउन नपाउने भएका हुन्।
मलाई राम्रोसँग थाहा छ। स्वास्थ्य सेवाको पछाडि क्रिश्चियन धर्म प्रचारको अभियान लुकेको थियो। पत्रकारिताका सुरूका दिनमा मैले यो विषयलाई समाचारमार्फत बाहिर ल्याएको थिए। मैले समाचार बनाउँदा पनि रोजगारी पाएका मेरै गाउँलेहरु मसँग खुबै रिसाएका थिए। व्यक्तिगतरूपमा उनीहरूमध्ये कतिले त बोलचालै बन्द गरेका थिए।
उनीहरू मसँग नबोल्दा मलाई दुख लाग्दैनथ्यो बरु उनीहरूको रोजगारी बचाउनका लागि गरिएको सम्झौता र धर्मसंकटको विषयले मलाई पीर परिरहेको थियो। यहाँ काम गर्ने माथिल्लो जिम्मेवारी पाएकाले त मलाई अस्पतालमा प्रतिबन्ध लगाउने कोसिस पनि नगरेका होइनन्। त्यो कुरा अहिले पनि सम्झिदा दुख लाग्छ । मेरो कोसिस उनीहरूको जागिरी खोसियोस भन्ने पक्कै थिएन।
उनीहरूले नोकरी गर्दा धर्म र संस्कार खोसिएकोमा मेरो विरोध थियो। उनीहरूको धार्मिक स्वतन्त्रता खोसिएकोमा मेरो असन्तुष्टि थियो। त्यसो त म र मेरो परिवारका लागि मात्र होइन मेरा जिल्लावासी र छिमेकी जिल्लाहरू जाजरकोट, सल्यानवासीहरूका लागि यो एकमात्र सुविधा सम्पन्न अस्पताल थियो र छ पनि। आधुनिक एवं महंगो प्रविधि यहाँ छ। सुरूमा विदेशी नागरिकहरू खटिएरै सञ्चालनमा ल्याएको यो अस्पताल माओवादी द्वन्द्वका कारण उनीहरूले आफूले तालिम दिएका स्थानीयहरूलाई छोडेर गएको पनि दशक नाघिसकेको छ। तर, क्रिश्चियन संस्कार नअपनाएसम्म त्यस ठाउँमा जागिरी नमिल्ने प्रावधान आजका दिनसम्म लागू छ।
आफ्नो धर्मसंस्कार छाडेर क्रिश्चियन बन्नु त्यहाँ काम गर्नुको पहिलो सर्त बनेको छ जुन अहिलेसम्म जारी छ। यो अस्पताल विदेशीहरूको स्वार्थमा खडा गरिएको थियो भने मलाई जिवनकै ठूलो पीडा भैरहन्थ्यो। यदि त्यसो भएको भए मेरा जिल्लावासीहरू मात्र होइन उमेरले डाँडामाथीको घाम भैसकेका मेरा आफ्नै आमा बुवाले अकालमै ज्यान गुमाउनु पर्थ्यो।
मेरा वैनीले बच्चा जन्माउन नसकेर ज्यानै गुमाउन सक्थिन्। मेरा काकाको खुट्टा भाँचिदा लंगडो हुनुपर्ने थियो र कमाई गर्न मेरा गाउँलेहरू मुग्लान पस्नुपर्ने थियो। उनीहरूका पढेलेखेका केटाकेटीहरू बेरोजगारी समस्याले पिल्सिरहनुपर्थ्यो। कतिले मैले जस्तै परदेश रोज्नु पर्ने थियो। तर त्यसो भएन। जे भो राम्रै भयो। मैले सहेर बसे।। मेरो कलमको प्रभाव पनि खासै रहेन। म र मिडियाका अरु साथीहरूको आवाजलाई पनि कसैले सुनेनन्।
स्थानीय नागरिक समाज अधिकारकर्मी कसैले यो विषयमा वास्ता गरेनन्। जनप्रतिनिधिहरूको ध्यान यसमा गएन। मेरा गाउँलेहरू स्वयंले आफ्नो अन्याय भएको महसुस गरेनन् फलस्वरुप अस्पताल बन्द भएन। त्यसैले उनीहरूको रोजगारी बचेको छ आजसम्म।
मेरा सिमित गाउँलेहरूको रोजगारीका कारण मैले मात्र होइन अरु थुप्रैले यो अन्यायलाई टुलुटुलु हेरेर बसिरहे। आफ्नो अनुकूलतामा प्रतिनिधिहरूले समेत बोलेनन् यो अन्यायको विरोधमा। अथवा देशले बोलेन यस विषयमा। मलाई याद छ अघिल्लो वर्षमात्र राष्ट्रियताको मुद्दाले चर्चित नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण गरेका थिए।
अस्पतालको सुविधाको विषयमा पहल गर्ने वाचा दिएर गएका थिए, त्यो बाचा पूरा गरे पनि होलान्। तर त्यही अस्पतालमा रोजगारीको नाममा रोजगारदाताले जबरजस्ती धर्मशोषण गरेको कुरामा उनलाई कसैले थाहै दिएन होला। मलाई उदेग लाग्छ, आजसम्म पनि त्यो समस्या, त्यो अन्याय जस्ताको तस्तै छ। विभिन्न किसिमका अन्याय अत्याचारको विरुद्ध चालिएको माओवादी आन्दोलनले प्रभावित जिल्लामा बस्ने मेरा गाउँलेहरूको धार्मिक स्वतन्त्रताको विषयलाई देखेन। बरु कहिले टिका लगाउने र कहिले नलगाउने भन्दै धार्मिक परम्परालाई आफू अनुकूल प्रयोग गरिरह्यो।
त्यो पनि राम्रोसँग थाहा छ कि माओवादी आन्दोलनताका गोली लागेर घाइते भएकाहरूको लागि भगवान थियो यो अस्पताल, नत्र कतिको ज्यान गुम्नसक्थ्यो। यो विषयलाई लगभग स्वयं स्तम्भकारले पनि बिर्सिसकेको विषय हो। काठमाडौंमा रहँदा विशेष चाडवर्षको बेला बल्झिन्थ्यो यो विषय।
परदेशिएपछि त्यो विषयलाई कसैले याद पनि गराएन। भुलिसकेको यो विषयलाई यसपटक पुन: सम्झना गराइदिए बुवा आमाको उपस्थितिमा मनाएको यसपटकको दशैंतिहारले। उहाँहरूसँग यस्तै गाउँघरको बारेमा गन्थन मन्थन गर्दै गर्दा निस्कियो यो विषय फेरि। र, गाउँलेहरूले भोगिरहेको अन्यायको विषयले मेरो मनमा अशान्ति फैलायो फेरि। त्यहाँ रोजगारी गर्ने मेरा गाउँले आफन्तहरूले दशैंतिहार मनाउन नपाएको कुराले मेरो दिमागमा एकपटक पुन: हिर्कायो नराम्रोसँग।
क्रिश्चियन धर्मसँग साटिएको उनीहरूको रोजगारीको विषयमा अब एउटा बहस प्रारम्भ गरिनुपर्छ। कम्तिमा स्थानीय मिडियाहरूले यसबारे बोल्नुपर्छ। त्यहाँको नागरिक समाजले यसबारे चासो लिनुपर्छ। जनप्रतिनिधिहरूले आफ्ना जनताको आवाजलाई न्याय दिलाउनुपर्छ। स्वयं पीडितहरूले यसबारे मुख खोल्नुपर्छ। त्यहाँ रोजगारी पाएका मेरा गाउँलेहरूले आफ्नो धर्म खोसिएको विषयमा उनीहरूको जागिरि खोसिनुहुँदैन। तर यो विषयको बहस र विरोध अस्पताल बन्द गर्ने सर्तमा गरिनुहुँदैन।
यो विषयको वकालत गर्दा जनप्रतिनिधिहरूको भर जनतालाई नहुन सक्छ। निर्वाचनको मौसम पनि छ। जनप्रतिनिधि बन्ने दौडमा उनीहरूले यो विषयलाई तोडमोड गरे भने नागरिक समाज र मिडियाले यसमा दूधको दूध, पानीको पानी छुट्याईदिनुपर्छ।
अरु सबै कुरा उत्कृष्ट छ यो अस्पतालमा, मात्र स्वास्थ्य सेवाको नाममा धार्मिक स्वतन्त्रता खोस्न पाईदैन। यदि कसैलाई सकारात्मक हिसाबले प्रभाव पारेर स्वतन्त्ररूपमा आकर्षित गर्न सकिन्छ तर कुनै सर्त र वाध्यात्मक परिस्थितिमा कसैको अधिकार खोस्न पाईदैन।
स्वयं त्यहाँ नोकरी गर्ने मेरा सिमित गाउँलेहरूले आफ्नो स्वार्थमा अरु गाउँलेहरूको मात्र होइन देशको मौलिक धार्मिक स्वतन्त्रताको विषयलाई ओझेलमा पारिराख्न पाईदैन। त्यसो त देश धर्मनिरपेक्ष भैसकेको छ। धार्मिक स्वतन्त्रताको हिसाबले मानिसहरू धर्म परिवर्तन गर्न सक्छन्। तर यसको मतलब यो भने पक्कै होईन कि धर्म परिवर्तनका जवरर्जस्त र वाध्यात्मक बनाइन्छ । मलाई राम्रोसँग थाहा छ कि ती मेरा गाउँलेहरूले स्वतन्त्ररूपमा धर्म परिवर्तन गरेका होइनन्।
रोजगारी दिनुपूर्व उनीहरूलाई आइतबारको दिन क्रिश्चियन प्रवचन र पूजामा बोलाइन्थ्यो। बाइबलको प्रवचनपश्चात हाम्रो राष्ट्रिय जनावर गाईको परिकार खान दिईन्थ्यो। गाउँगाउँमा उनीहरूलाई पठाएर धर्मप्रचारमा लगाइन्थ्यो। यसरी लाग्ने र हिन्दुधर्म अन्तर्गतका जन्ममृत्युपर्यान्तका सबै संस्कार त्याग्नेहरूले मात्र उनीहरूबाट रोजगारी प्राप्त गर्न सक्थे। आफ्नो धर्म छोडेर क्रिश्चियन संस्कार नअंगाल्ने कोहीले पनि त्यहाँ जागिर गरेको मलाई अहिलेसम्म थाहा छैन। यदि जनशक्तिको अभावमा सुरूमा कसैलाई रोजगारी दिएपनि भोलिपल्टैदेखि उसलाई उसको धर्मबाट टाढा बनाइन्थ्यो। जुन आजसम्म कायम छ, अन्यायको कसिको रुपमा।
लगभग आफैँले विर्सिसकेको यो विषय पुन: मैले उठाउने जमर्को गरेको छु। लेखिएकै कारण मलाई भेट्न अमेरिका आएका मेरा वाआमालाई गाउँ फर्किएपछि उपचारमा असहज नगराइयोस् जुन पहिलेका दिनमा गरिएको थियो। साथै मेरो परिवार, आफन्त र गाउँलेहरूको अधिकार नछिनियोस् मैले बोलेका कारण। त्यसो त मलाई यसबारेमा बोल्न हिजो पनि डर थियो। बोलेको भरमा डर हुने हिजोको अवस्था पनि अहिले होइन। राजनीतिकरुपमा धेरै परिवर्तन भएको छ।
चेनताको हिसाबले अगाडि छन् मेरा गाउँलेहरू आज। यो अन्यायको विरुद्ध स्वयं त्यहाँ कार्यरत मेरा गाउँलेहरूले आफ्नो अवस्थाको बारेमा बोल्नसक्ने भएका छन् चाहेमा। मिडियाको पनि पहुँच बढिसकेको छ। यो विषयमा न्याय खोज्ने सबैभन्दा अनुकूल समय बनेको छ जनप्रतिनिधिहरूको निर्वाचन। मैले धरैपछि पुन: उठाउन खोजेको यो विषय व्यक्तिगतभन्दा पनि सामाजिक हो। त्यो धार्मिक स्वतन्त्रताको विषय हो। अन्तत: स्वतन्त्रताको विषय हो। के यो सम्भव छ ? सतप्रतिशत सम्भव छ। म स्वयं क्रिश्चिय धर्म मान्ने देशमा बसेर आफ्नो धार्मिक क्रियाकलापहरूको स्वतन्त्र प्रयोग गरिरहेको छु। निर्धक्क दशैंतिहार मनाइरहेको छु। मैले यहाँ धर्म परिवर्तन गर्नु परेको छैन रोजगारीका लागि न कि मलाई कसैले जबर्जस्ती गरेको छ।
म त स्वतन्त्र छु यहाँ। बरु मेरा गाउँलेहरू आफ्नै देशमा लुटिएका छन् धार्मिक स्वतन्त्रताको अधिकारबाट। आखिर कसले? स्वयं क्रिश्चियन धर्म अगाल्ने देश अमेरिकाबाट नेपालमा राजदूत रहेकी अलाइना बी टेप्लिजले दिपावली मनाएको फोटो सामाजिक सञ्जालमा ‘भाईरल’ बनेको छ।
अमेरिकाले मेरो र मेरा गाउँलेहरूको धार्मिक अधिकारमाथि अन्याय गरेको भए राजदूत भएकी उनले मेरो धर्मको यतिधेरै सम्मान गरेको देख्न समेत पाईदैनथ्यो। आखिर कसले गर्यो त यो अन्याय? यो त सिमित व्यक्तिहरूको समूह हो। त्यसबेला टीम नेपालका नामले चिनिने र अहिले फेरिएको अर्को कुनै नामको समूह हो। र तिनिहरूको धर्मप्रतिको स्वार्थी प्रतिबन्धित मानसिकताको उपज हो। जुन मेरो गाउँ लगायत गोर्खा, लमजुङ लगायतका अरु गाउँहरूमा पनि। अब यसबाट मेरा गाउँलेहरूलाई छुटकारा दिलाउनुपर्छ। न्याय दिनुपर्छ। स्वतन्त्र अवसर दिनुपर्दछ धार्मिक स्वतन्त्रताको हिसाबले।
तश्वीर: गुगल