बसबाट ओर्लेपछि सरासर हिँडेँ । तिहारले गर्दा भिमाद बजार खचाखच थियो । महिला केटाकेटीहरु सर्यांग मर्यांग गरिरहेका थिए । त्यो भीडलाई छिचोलेर निस्केँ । सानो घोडेटो बाटो भए तापनि अपरिचित भने थिएन । दिदीको हातको टीकासहित सयपत्री र मखमलीको माला लगाएर यमराजबाट मुक्त हुने आशीर्वचन लिनका लागि म घरबाट बिहानै प्रस्थान गरेको थिएँ । बाटो ठाडो पनि थिएन, तर्पाइँतर्पाइँ थियो । दिनभरिको थाकाइले सूर्यले पनि आफ्नो अनुहार लुकाउने प्रयास गरिरहेको थियो । जसका कारण शरदकालीन घामको मधूरो किरण मेरो निधारमा ठोक्किइरहेको थियो भने मेरो छाया मलाई पछ्याइरहेको थियो । साँझ गोधूलीजस्तै प्रतीत भइरहेको थियो ।
पर डाँडामा पुग्दा मानिसहरु उकालो उक्लिरहेका थिए । उनीहरुका ठूल्ठूला जीजिविषाहरु थिएनन् । काठमाडौका मानिसहरु के भन्छन् र केल गर्छन् भन्ने पनि उनीहरुलाई राम्रैसँग थाहा थियो । बिहान बेलुका रेडियो नेपालबाट आउने एकोहोरो किसिमको सूचना र समाचार सुन्ने बाहेक अरु माध्यम पनि थिएन । सात बजेको समाचार सुनेर नै आआफ्ना धारणा बनाउँथे र चिया दोकानमा भोलिपल्ट आआफ्ना राजनीतिक वृत्तका तर्कहरु प्रस्तुत गर्थे ।
म निरन्तर हिँडिरहेको छु । मलाई अझै दुइ घन्टा हिँड्नु छ । सूर्यास्तपछि झ्याउँकीरीका कर्कसे स्वरहरु लगातार कानमा परिरहेछन् । मन्द हावाको वहावले सालका झरेका पातहरु यताउति चलमलाउँदा मनमा एक किसिमको रोमान्च भइरहेको थियो भने कताकति डर पनि उत्पन्न भइरहेको थियो ।
अहँम् ...एक जना मानिस मभन्दा निकै पछाडि खोकेको आवाज सुनेँ । पछाडि फर्केर हेरेँ एकजना वृद्ध पुरुष थाप्लामा डोको बोकेर आइरहेका थिए । म एकछिन रोकिएँ । एकान्तमा साथी भेटेजस्तै भयो । मनमा अलिकति सान्त्वना पनि आयो । कहाँ पुग्ने होलान् ? कतै मेरी दिदीको घरतिरै जाने पो हुन् कि भन्ने पनि लाग्यो र उनलाई कुरिरहेँ । उनले मलाई देखेका थिएनन् । कतिखेर घर पुगेर यो भारी बिसाउँ भन्ने चिन्ता उनको मनमा थियो होला । छोराछोरी र स्वास्नीका मनग्य मागका पोकाहरु डोकामा कति हालेर आएका होलान् । कति माग पूरा गर्यो होला र कति मागहरु छोट्याएर आएको होला । तैपनि मलाई लाग्यो त्यो डोकोमा सबैका केही न केही मागहरु अवश्य पनि अटेका होलान् । कतिखेर घर पुगेर आफ्नै हातले सहरबाट ल्याएको केही खाने कुरा र लत्ता कपडा बाँड्ने इच्छा थियो होला ।
‘बा, कता जानुहुन्छ ?’ मैले सोधेँ । अचानकको मेरो सोधाइले ऊ तस्र्यो । नाम्लोको फेर समाएर मतिर पुलुक्क हेर्यो । निधारमा बगिरहेका पसिना पुछ्यो ।
‘किहँु जाने ।‘
‘तल्लो कि माथिल्लो ?’
‘तल्लो ।‘
‘ए, म पनि त्यतै जान ला ।’
‘दिदीलाई लिन जान ला हो कि कसो ?’
‘होइन, धेरै भयो दिदीको हातको टीका नलाएको । यसपाली दिदीकोमा नै टीका लगाउने भनेर आको ।’
‘अनि दिदी को पर्नुभयो कुन्नि ?’
‘कोपिला ।’
‘ए कोपिला ।’ उसले लेघ्रो तान्यो ।
‘चिन्नुहुन्छ र ?’
‘किन चिन्दैन हो एउटै गामको मान्छेलाई ?’ उसले भन्यो । अनि मलाई ढुक्क भयो ।
अनि हामी बिस्तारै हिँड्न थाल्यौँ । ऊ मेरो भर र म उसको भर जस्तै भयौँ । उसको डोकोको भारी गर्हौ भए पनि मनभित्र असिम आनन्दका रेखाहरु दौडिएको भान मलाई परिरहेको थियो ।
‘के ल्याउनुभएको नि डोकोमा ?’
‘तिहार लाग्यो बाबु । छोराछोरीको माग । स्वास्नीको माग । के गर्नु एकजनाको कमाइ । यी पर्वहरु नि किन आउँदा हुन् जस्तो लाग्छ कहिलेकाँही त ।’ चाउरी परेको निधारबाट चोरी औँलाले सिनित्त पसिना पुछेर भुइँमा फाल्दै भन्यो ।
‘त्यसो होइन बा । पर्व त आउनुपर्छ नि । यही पर्वले त खुसी दिन्छ, भेटघाट हुन्छ । आफन्तसँगको मैत्री गाढा हुन्छ । यसले उत्साह र उमंग दिन्छ । यस्तै साँस्कृतिक पर्वहरुले त हामीलाई जोडिरहन्छ । टाढा नजिकको भेद हटाउँछ । आसै आसाहरुको मेल त रहेछ जीवन । यही आसाले त मानिसलाई बाँच्न सिकाइरहन्छ । त्यही खुसीले त मानिस उत्साही बनिरहन्छ नि ।’
‘हुन त हो बाबु ।’
‘पर्वहरुले ल्याउने भनेकै खुसी र उमंग त हो नि । तिहार नआएको भए यति टाढा म आउँथे होला र ? अनुमान गर्नुस् त मजस्ता लाखौँ मानिसहरु यताबाट उता र उताबाट यता गरिरहेछन् । चलायमान भइरहेछन् । संस्कृति र परम्परा कति प्यारो हुन्छ है मानिसलाई । तपाई आफैलाई हेर्नुस् न यो डोको तपाईले पिढीमा बिसाएर छोराछोरीहरु तपाईको काखमा लुटपुटिन आउँदा तपाई कम्ती खुसी हुनुहोला । तपाईले श्रीमतीलाई दिएको यो सानो फरियाले उहाँ कति खुसी हुनुहोला । ती साना खुसीहरुले तपाईलाई कति ठूलो खुसी दिन्छ नि ।’
बूढाले निच्च दाँत देखाए र टाउको हल्लाए ।
कुरा गर्दागर्दै हामीले निकै बाटो काटेछौँ । मेरो दिदीको घर पनि आयो । अनि म उनीसँग बिदाबारी भएर दिदीको घर छिरेँ । बाहिर तगारो लगाएको थियो । त्यसलाई खोलेर बिरालाको चालले भित्र पसेँ । गोठमा एउटा भैँसी थियो । मलाई देखेर भैँसीले नाकको फोहाराबाट ठूलो सास निकाल्यो ।
म आँगनमा पुगेँ । घरको ढोकामा ताला लगाएको थियो । रात कालो भइसकेको थियो । दिदी, दिदी भनेर दुइतीन पटक बोलाएँ । तैपनि दिदीको प्रतिउत्तर आवाज आएन । यताउति आँखा डुलाएँ । सयपत्री र मखमली आँगनको डिलमा ढकमक्क फुलेका थिए । मेरो नाकमा त्यसका सुवास आएर ठोक्कियो । ती फूलले मलाई नै कुरेर बसेजस्तो लाग्यो । त्यतिखेरै हावा चल्यो । मेरो आगमनमा फूल हाँसे र नाचेजस्तै लाग्यो । म थपक्क आँगनको छेउमा खरले छाएको मन्दिर जस्तो एउटा सानो विश्रामस्थलमा थियो, त्यहीँ बसेँ ।
रात छिप्पिँदै गयो । यमपञ्चकको दिन । टाढा टाढा गाउँमा एकाध बत्तीहरुले मेरो नियास्रोलाई मारिरहेका थिए । बारीमा लहलह कोदो झुलेको थियो भने कान्लामा उभिएका सुन्तलाका बोटबाट सुन्तला हल्लिरहेको थियो । रात अझै गाढा कालो हुँदै गयो । अधेरोले गर्दा त्यो घर भूतबंगलाजस्तै देखियो । तैपनि दिदी आउनुभएन । म अधैर्य भएँ । तर अरु केही उपाय पनि थिएन । भोक लागेर आयो । तिर्खा पनि थियो । पानी यताउति छ कि भनेर हेरेँ । पिढीको अंखोरामा अलिकति पानी बचेको रहेछ । आमाले जतनले झोलामा सामल भनेर राखिदिनुभएको सेल रोटी झिकेर त्यही पानीसँग खाएँ र झोलालाई सिरानी बनाएर पल्टिएँ । शरीर एकदमै थाकेको थियो । उता टाढा गाउँमा मादल र खैजडीसँगसँगै देउसी रे र भैलीराम भनेको एकोहोरो आवाज आइरहेको थियो । यो सुन्दासुन्दै कुन मेसोमा त्यही गुन्द्रीमा निदाएछु थाहै भएन ।
सपनीमा दिदी आउनुभयो । मलाई अँगालोमा बेर्नुभयो । भित्र लग्नुभयो । ढिपिरी बाल्नुभयो । मधुरो प्रकाशमा पनि दिदीको अनुहार चन्द्रमा जस्तै उज्यालिएको थियो । अनि दिदीले भन्नुभयो ‘बाबु, तँ आइस् । मलाई त स्वर्गै पाएजस्तो भएको छ । मेरो छाती खुसीले ढक्क फुलेको छ । पर्खनुमात्रै पर्दोरहेछ दुःखीका पनि त दिन फिर्दारहेछन् । उहाँले मलाई निकैबेर हेर्नुभयो । मैले पनि निकैबेर दिदीको अनुहार हेरेँ । त्यहाँभित्र घाँस दाउरा गरेका अतीतका विम्वहरु नाच्न थाले । अनि मलाई गलैँचामा राख्नुभयो । तेलको रेखीले घेर्नुभयो । टाउकोमा तेल, निधारमा टीका र गलामा मखमलीको माला लगाइदिँदै लामो उमेरको आशीष दिनुभयो भन्नुभयो ‘हे यमराज तँ मेरो भाइलाई लिन नआइज ।’ मैले पनि दिदीलाई टीका लगाउन तम्सेको मात्र थिएँ कुकुर भुकेको आवाजले झसँग भएर ब्युँझेँ । त्यहाँ कोही पनि थिएन ।
अनि म झट्टपट्ट उठेँ । बिहान भइसकेको रहेछ । ओहो कस्तो सपना देखेँ हँ । आफूलाई नियालेँ । म उस्तै थिएँ । सिँगारिएको घर लमतन्न उभिरहेको थियो । दिदीको छिमेकी हुनुहुन्थ्यो तल्लो घरमा । अनि म त्यतै गएँ ।
घरवेटी आमै पिढीमा कुचो लगाउँदै हुुनुहुन्थ्यो भने बा हुक्का तान्दै हुनुहुन्थ्यो । मेरो अचानकको आगमनले उनीहरु अमम्मित भए ।
‘ए बाबु पो आउनुभा रैछ । कहिले आउनुभाको हो ?
‘हिजै बेलुका आथेँ । दिदी आउनुहोला कि भनेर कुरेँ तर दिदी आउनुभएन । म त त्यही सुतेछु । अहिले पो थाहा भयो ।’
‘विचरा हेर । यहाँ आउनुपर्दथ्यो नि । कति जाडो भयो होला । दिदीसँग टीका लगाउन भनेर आउनुभएको होला । दिदी त छैनन् ।’
‘कहाँ जानुभएछ त ?’
यतिका वर्ष भयो भाइलाई टीका लगाउन नपाएको भनेर गुनासो गर्दै थिइन् । सधैँ भैँसी भैँसी । यही भैँसीका कारण यताउति चल्न पनि मिलेन भनेर भन्दै थिइन् । हरेक वर्ष तिहारमा यो पटक त भाइ आउला भनेर आँगनभरि फूल फुलाउँथिन् । सधैँ आशा मात्रै । अरुका त दाजुभाइहरु ओहोर दोहोर गर्छन् । मेरो भाइ चाहिँ किन आउँदैन भनेर दुखेसो पोखेर अस्ति निकै बेर धुरुधुरु रोइन् । बाबुआमाले आफ्नो कर्तव्य पूरा गरेर यति टाढा मलाई दिए । म पनि यही लुते धन्दाले जान सकेकी छैन । उताबाट पनि कोही आउँदैनन् । वस् त्यसपछि यो घर कसैले टेकेनन् । अनि आफ्नो भाग्यलाई धिक्कारिन् ।
‘अनि कता जानुभयो त ?’
आँखामा पलाएका आँसुलाई घुटुक्क पिएर मैले सकिनसकि सोधेँ ।
‘खै, भगवान जाने । अरु त कता गइन् होला र ? माइत जाने कुरा गर्थिन् । त्यतै पो गइन् कि ?’
उनको जवाफले मलाई भाउन्न भयो । तैपनि मनलाई शान्त गरेँ । ती घरवेटी आमैले चिया बनाइदिनुभयो । टपरीमा रोटी पनि दिनुभयो । मैले झटपट चिया र एक दुइ ठुन्का सेल रोटी खाएँ र पुनः दिदीको घर पुगेँ । आँगनभरि फुलेका सयपत्री र मखमलीको एक झोलाभरि फूल टिपेर माला गाँसेँ । केराको पात काटेर ल्याएँ । तुलसीमठमा लतपतिएका अवीरका दागहरुलाई बटुलेँ । कमेरो, रातो माटो र कुँडे पकाउने गरेको ताउलोको पिँधबाट कालो रंग निकालेँ र सबै मिलाएर रंग बनाएँ । घरको पिँढीमाथि टाँगिएको दिदीको पुरानो धसिँगरे फोटो उप्काएँ । त्यसलाई पुछपाछ गरेँ । रोएको जस्तो अनुहारमा एकपटक हाँसो आएजस्तो भयो । अनि तुलसीमठमा गएँ र फोटोलाई निधारमा अड्याएर टीका लगाएँ । दिदीको हातबाटै टीका लगाएजस्तै भएको थियो । मलाई स्वर्णीम आनन्द भयो । दिदीलाई नि टीका लगाइदिएँ र मजेरीमा हाँडे ओखर फोरेँ । अलिकति आफूले खाएँ र अलिकति दिदीको फोटोमा अर्पण गरेँ । दिदीलाई आशीष पनि दिएँ र माफी पनि मागेँ । तैपनि मनमा एक किसिमको औडाहा भइरहेको थियो । शरीरबाट चिट्चिट् पसिना आइरहेको थियो । अनि दिदीलाई दिन भनेर ल्याएको एकथान उपहार जबर्जस्ती झ्यालबाट भित्र हुलिदिएँ र त्यहाँबाट हतार हतार घर फर्केँ । घर पुग्दा राती भइसकेको थियो । दिदी भने थालीमा सप्तरंगी टीका बोकेर मेरै बाटो हेरेर बसिरहनुभएको थियो ।
अहिले पनि त्यो तिहार संझँदा मनमा भक्कानो आइरहन्छ ।
वोस्टन, अक्टुवर १८ ।