यूरोपेली राष्ट्र माल्टामा कार बम विस्फोटनमा एकजना महिला पत्रकारको मृत्यु भएको छ। ५३ वर्षीया पत्रकार डेफिने करुआना गालिजियाको सोमबार मृत्यु भएको हो।
आफ्नो घर बिडनिजाबाट निस्केर मोस्टा भन्ने ठाउँ नजिकै पुग्दा भएको कार बम विस्फोटनमा उनको मृत्यु भएको हो। खोज पत्रकारितामा ख्याति कमाएकी उनी सरकारको तीव्र आलोचना गर्ने लेखिका पनि थिईन्।
उनका छोरा म्याथ्युले भने, ‘यो सरासर हत्या हो। न्याय र सुशासनको लागि उभिनाले मेरी आमाले यो सजाय पाउनुपर्यो।’ निराश हुँदै उनले थपे, ‘यो राज्य नै माफियाहरूको अखडा हो।’
उनी नियमित रूपमा ब्लग लेख्ने गर्थिन्। उनले वर्तमान सरकार र मुलुकमा बढेको भ्रष्टाचार र दण्डहीनताको तीव्र विरोध गरेर लेखहरू लेख्ने गर्थिन्। प्रधानमन्त्री जोसेफ मस्कटको नाम पानामा पेपरमा आउनमा उनको पनि सशक्त हात रहेको बताइने गरिन्छ।
माल्टा प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। बीबीसीले जनाएअनुसार सरकारले भने अहिलेसम्म औपचारिक रूपमा केही बोलेको छैन।