भिजिट भिसामा युएई ल्याइएका नेपालीको राहदानी धरौटी राखेर दलाल फरार भएपछि सारजाहमा ३ नेपालीको विचल्ली भएको छ।
दैलेखका केशव बहादुर शाही , काभ्रेका देव बहादुर मगर र मकवानपुरका रविन कार्की मार्फत गत अक्टोबर ८ तारिख भिजिट भिसामा जामा युएई आएका मोरङका सुमित कुमार राई र मकवानपुरका मन्जिल बलामीको राहदानी धरौटी राखेर युएईका दलाल रविन कार्की फरार भएपछि उनीहरूको विचल्ली भएको हो।
उनीहरूले नेपालमा प्रतिव्यक्ति २ लाख २० हजारका दरले देवबहादुर मगरलाई रकम बुझाएर युएई आएको बताए। युएई आएर दुवैजनाले रविन कार्कीलाई जनही ३५ सय दिराम बुझाएको सुमित कुमार राईले बताए। कारवासको काममा लगाईदिने र खान, बस्नसहित ओभर टाईमबाहेक १७ सय ५० दिराम तलब हुने आश्वासन देखाएर आफूहरूलाई युएई ल्याइएको उनीहरूको भनाइ छ।
युएई आएपछि आफूहरूलाई सारजाहको एउटा कोठामा राखेर पैसा र राहदानी कार्कीले लिएको सुमितकुमार राईले बताए। केही दिनमा राईको राहदानी फिर्ता दिएपनि बलामीको भने उनीहरूलाई राखिएको घरधनीकोमा धरौटी राखेर कार्की फरार भएका हुन् ।
कार्की फरार भएपछि कार्कीका सहकर्मी अशोक विश्वकर्मासँग राहदानीको विषयमा कुरा गर्दा उनले बलामीको राहदानी घरधनीकोमा धरौटी राखिएको र घरको भाडा नतिरेसम्म नदिने बताएको मन्जिल बलामीले बताए।
आफूसँग राहदानी नभएकोले आफैँ खोजेको काममा समेत लाग्न नसकेको पीडितहरूले बताएका छन्। धेरै पैसा खर्चेर आएको हुनाले तत्काल फर्किन समेत नसक्ने र काममा लाग्न राहदानी नभएकोले ठूलो समस्या भएको उनीहरूले दुखेसो पोखे। कार्कीले लामो समयदेखि कोठाको भाडा नतिरेकाले घरधनीले यहि बुधबारसम्ममा कोठा छोड्न अल्टिमेटम दिएको उनीहरूले बताए । बुधबारपछि बस्ने , खाने निश्चित नभएकोले सडकको वास हुने उनीहरूले दुखेसो पोखेका छन्।
यता सोही समूहबाट ठगिएर ३ महिनाअघि युएई आएका काठमाडौंका राकेशविक्रम थापाको ‘ओभर स्टे’ भएको १२ दिन भइसकेको छ। ओभरटाईम बाहेक २५ सय दिराम तलब हुने भन्दै लाईफ गार्डका लागि केशवबहादुर शाहीलाई ३ लाख ५० हजार रुपैयाँ तिरेर युएई आएको थापाले बताए।
रविन कार्कीले काममा लगाइदिने भनेर पठाएको तर कार्की आफै सम्पर्कविहिन भएपछि आफू विचल्ली भएको उनले बताए। यस विषयमा कार्कीको मोबाईलमा पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। उता नेपालमा रहेका केशवबहादुर शाहीसँग सम्पर्क गर्दा रविन आफ्नो सम्पर्कमा नरहेको र युएईमा काम लगाइदिने सम्पूर्ण जिम्मेवारी रविन र अशोकको भएको बताए।
यस विषयमा नेपाली दूतावास अबुधाबीमा सम्पर्क गर्दा नेपालीहरू भिजिट भिसामा आउँदा भोग्नुपर्ने समस्याहरूबारे जानकार हुँदाहुँदै आउने र यहाँ दुख पाउने गरेको श्रम सहचारी हिरा यादवले बताइन् ।
सिमित स्रोत र साधनको बाबजुद पनि दूतावासले उनीहरूलाई निरन्तर सहयोग र उद्दार गर्दै आएको उनले बताईन्। यद्यपी भिजिट भिसामा आएर समस्या परे त्यसको मुख्य जिम्मेवार आफैँ हुनुपर्ने उनले बताईन् । पीडितहरूले बुधबारदेखि आफूहरूको खाने, बस्ने निश्चित नभएकोले दूतावास , एनआरएनए , पत्रकार महासंघ लगायत स्थानीय सामाजिक संघसंस्थाहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।