हामी घरमा नेपाली भाषा भन्दा अरु बोल्दैनौं तै पनि मेरो चार बर्षको छोरो नेपाली नबोली अग्रेजी मात्र बोल्छ | नेपालमा स्कुल पढेर आएकी मेरी भान्जी केहि बर्षमै नेपाली “कखरा” लेख्न बिर्सिन। मेरो मित्रको जवान छोरो “अंकल ब्रो –नेपालीको कार्यक्रममा किन जाने? भन्दै आइतवार उसका साथीसंग चर्च तिर लाग्छ”। यस्तै धेरै कथा छन् नेपाली परिवारका।
गत एक्काइस बर्षमा यहि न्यु-योर्कमा नेपालीको संख्या निकै बढेको मेरो आँखाले हेरिरहेको छ। सामाजिक संघ संस्थाका अध्यक्ष र प्रतिनिधिले खचाखच भरिने हरेक नेपाली कार्यक्रममा “यँहाका नेपाली एक हुनुपर्छ”, “हाम्रो भेष भुषा र संस्कृति जगेर्ना गर्नुपर्छ”, “हाम्रा बाल बच्चालाई नेपालसंग कनेक्शन राख्नुपर्छ”, “अमेरिकामा हाम्रो शक्ति देखाई यहीको राजनैतिक बातावरण बनाउनुपर्छ” आदि इत्यादि चर्का चर्की भाषण भैरहेका छन्।
कुरा धेरै गरियो, तर खोई त काम कहिले गर्ने हो? कसले गर्ने हो? को बाट शुरु गर्ने हो?
मैले त शुरू आँफैबाट गर्नुपर्छ भन्दै अहिले कस्सिएर लाग्ने न्युयोर्कका सामाजिक अभियन्ताहरु संग हातेमालो गरेको छु। न्युयोर्कमा कम्युनिटी सेन्टर निर्माणार्थ आर्थिक सहयोग र सामाजिक सहिष्णुता जुटाउने क्रममा न्युयोर्ककै ज्याक्सनहाइटस स्थित भारतीय मुलको स्वामित्वमा रहेको सत्यनारायण मन्दीरमा भैरहेको श्रीमदभागवत महापुराण सप्ताहमा मेरो परिवारले ३०,३६५ डलर सहयोग गर्ने निर्णय गरिसकेको छ।
साथीहरुले सोध्नुहुंदैछ - किन त्यत्रो रकम सहयोग? त्यसले त् अमेरिकामा एउटा घर किन्न डाउन पेमेन्ट नै हुन्छ। स्टकमा लगानी गरे भोलि मिलियन बन्नसक्छ। नेल स्टोर, ग्रोसरी स्टोर खोले मालिक भईन्छ। एउटा मर्सिडिज गाडीनै आउछ। नेपालमा लगानी गरे दिन दुइगुना रात तीनगुना बढेर अरबपति भईन्छ। केहि नगरेर बैंकमै राखेपनि तिस लाखको कमाईले नेपालमा बसी बसी खान पाईन्छ। अरुले भन्नुभएको छ “नेपालको बाढी पिडितलाई दिएको भए अझ राम्रो हुने थियो”।
हजुरहरु सबैको कुरो यथार्थ हो - तर मेरो कुरो बुझेको खोई? मेरो सम्पति बढाएर म एक्लै मिलियनर बनेपनि समाज परिवर्तन हुने छैन। मैले अरु केहिलाई सम्ब्रिद्द बनाउन सकें भने समाज अवश्य परिवर्तन हुन्छ। कोहि आर्थिक रुपमा समृद्द हुन अगाडी उसको पारिवारिक, सामाजिक र आध्यात्मिक सोचमा बिकाश हुनैपर्छ।
न्युयोर्कमा बन्ने कम्युनिटी सेन्टर हाललाई सामाजिक, सांस्कृतिक र आध्यात्मिक रुपमा नेपालीहरुको बिकाशमा लागेपनि यसको दिर्घकालिन उदेश्य भनेको सबैलाई आत्मनिर्भर बनाउने र आर्थिक बिकाश गराउने थलोको रुपमा नै रहनेछ। अर्को तिर भूकम्प वा बाढी पिडितलाई हामीले हरतरहबाट सहयोग पुर्याइरहेका छौं। अमेरिका भर नेपाली कम्युनिटी सेन्टर बन्नु भनेको आजको मात्र समस्या हल गर्नु होइन, भविष्यमा नेपालमा भैपरी आउने प्राकृतिक प्रकोपको लागि सहयोग जुटाउने एउटा बलियो भण्डार खडा गर्नु हो।
हेर्नुस, आजभोली न्युयोर्कको ज्याक्सन-हाइटस साथीभाईलाई भेट्ने थलो बनेको छ। कंहा भेट्ने भन्दा “ज्याक्सन हाइटस”।साँझ रेष्टुरेन्टमा भेट्यो – मदिरा सेवन गर्यो। कसैको टीका टिप्पणी गर्यो। आर्थिक नष्ट गर्यो र उस्तै परे आफ्नो क्यारेक्टरको पनि नष्ट गर्यो।
न्यु-योर्कमा कम्युनिटी सेन्टर बनेपछि भेटघाट स्थल रेस्टुरेन्ट होइन, नेपाली कक्ष हुनेछ, पारिवारिक जमघट हुनेछ। मदिरा सेवन होइन पारिवारिक भोजन हुनेछ। हालै भर्जिनियाको एक भारतीय मुलको स्वामित्व रहेको मन्दीरमा नेपाली तिजको दिन दुई हजार भन्दा धेरै महिला जम्मा भई तिजको गित गाएर नाच्न खोजे।
बाल बच्चाहरु रमाइलो गर्दै रहे। नाचगान गर्न रोक्न त्याँहा पुलिस सम्म बोलाईएको कुरा साथीभाईले सुनाउनुभयो जबकी हरेक महिलाले १० डलरको दरले भेटी दिई पुजा गर्दा मन्दिरलाई २० हजार डलरसम्मको आम्दानी भएको रहेछ। के हामी नेपाली संग आफ्नो संस्कृति अनुसारको कार्यक्रम गर्न सक्ने आफ्नै सामाजिक भवन बनाउन पैसा छैन र? छ तर किन जुट्न सकेन त्यो सहयोग? किनकि हामी दुरदृष्टिले हाम्रो भवनको महत्व देख्न नसकी आँफै सामर्थ्यवान हुँदाहुँदै तत्कालको समस्या गुजार्न अरुको दासत्व स्वीकारी रहेछौं।
केहि महिना अघि एनआरएन अमेरिकाको स्टेप कमिटी द्वारा डा. महावीर पुन संग रिसर्च सेन्टर बनाउने बारे अन्तरक्रिया कार्यक्रम गर्न खोज्दा मैले स्थल नै पाउन सकिन। मुश्किलले सर्तहरु राखेर मिलाइएको हल महँगो मात्र होइन दुखदायी रह्यो। सामाजिक संस्थाहरु निकै रहेको न्युयोर्क शहरमा एउटा आशा लाग्दो आफ्नै कम्युनिटी सेन्टर हुनुले सामाजिक अभियन्ता र सहभागीलाई आफ्नोपना र सामिप्याताको आभाष मात्र होइन आर्थिक सहुलियत दिलाई सबै पक्षको जित गराउछ। बहु-सांस्कृतिक नेपालीपनको अमेरिकामा स्थायी सम्रक्षण गर्न सकिन्छ। साँझ र सप्ताहन्तमा हाम्रा बाल बालिकालाई नेपाली शिक्षा, व्यवाहारिक अनुशाशन, आचरण, सुरक्षा र जानकारीको पाठशाला बनाउँन सकिन्छ। जवान बिध्यार्थीलाई अमेरिकी अध्ययन अध्यापनमा भएका चुनौती र परिवर्तनका बिषयमा अन्तरक्रिया गर्ने स्थायी स्थलको ग्यारेन्टी हुन्छ।
नयाँ आगन्तुकलाई सहयोग पुर्याउने चौतारी बन्नेछ। बृद्द बुवा आमालाई आफ्नोपन महशुस गराउने र आध्यात्मिक चिन्तन गर्ने आरामदायी स्थल बन्ने छ। सामाजिक अभियंतालाई अन्तरक्रिया गर्ने गराउने स्थल मिल्नेछ। बिबाह, ब्रतबन्ध, जन्मदिन, दशैँ, होली, ल्होसार, इत्यादि पर्व आफ्नै संस्कृति झल्काई मनाउन कुनै रोकतोक हुने छैन।
सरकारी र राजनैतिक भ्रमणमा अमेरिका पाल्नुहुने पाहुनालाई स्वागत गर्ने नेपाल सरकारकै भावना बोकेको स्थल हुनेछ। अन्तर्राष्ट्रिय संघ संगठनले कार्यक्रम गर्ने मिटिंग हल हुनेछ।
नेपाली र विश्व भरिका अन्य व्यक्ति, समुह र सम्प्रदाय संग सहकार्य गर्ने बिचार राख्ने र भेट्ने स्थल हुनेछ। नेपाली संगीत प्रशिक्षक् द्वारा नेपाली र बिदेशी बालबच्चालाई नेपाली मादल, बाँसुरी र सारंगी बजाउने तालिम दिने स्थल हुनेछ। नेपालमा प्राकृतिक प्रकोप हुदा वा अमेरिकामै भईपरी आउदा हाम्रो आकाश्मिक सहयोग बटुल्ने, सहानुभूति प्रकट गर्ने र एकजुट हुने यो थलो बन्ने छ। यो एउटा यस्तो नेपाली नमुना घर हुनेछ जुन नेपाली भावना अनुसार सबै नेपाली समुदाय, धर्म, भाषा, बर्ग, लिंग, तह र क्षेत्रको प्रतिनिधित्व रहने गरि जुगौ जुग यहि न्युयोर्कमै रहिरहनेछ।
न्युयोर्कमा मात्र नभई यो अभियान अमेरिकाका अन्य प्रमुख राज्यहरुमा पनि फैलिरहेको छ। क्यालिफोर्नियाको लस एन्जलस र टेक्सासको डलासमा सामुदायिक भवन सुचारु भई बिभिन्न सामाजिक कार्यक्रम सहित नेपालीहरु लाभान्वित भैरहेको हामीले देखेकै छौं। म्यासेचुसेट्सको बोस्टन र नर्थ क्यरिलोनाको हाईपोइन्ट मा हालसालै महापुराण लगाई कम्युनिटी सेन्टर निर्माणार्थ ठुलो सहयोग संकलन भैसकेको छ।
क्यालिफोर्नियाको सन् फ्रान्सिस्को, टेक्सासको ह्युस्टन लगायत अन्य राज्यमा पनि नेपाली सामुदायिक भवन बनाउने पहल भईरहेको छ। यी नेपाली सामुदायिक केन्द्र बनाउनको लागि जोडदार पहल गर्न म सबैमा बिनम्र अनुरोध गर्दछु। हिरा मौकामा फोड्ने हो।
अहिले न्युयोर्कमा हिरा फोर्ने बेला आएको छ। म कुनै ब्यापारी होइन, प्रोफेशनल काम गरेर सरकारलाई ट्याक्स तिरी, आफ्नो घरको मोर्टगेज र बिलहरु तिरी परिवारको खान खर्च, आफ्नो पढाई खर्च, बच्चा को पढाइ शुल्क र अन्य इमर्जेन्सी र एनआरएन अन्तर्गतका समाजसेवा को खर्च कटाएर बचेको पैसा नै दिएको हु। माथिका दैनिकी खर्चमा काँही न काँही कटौती गर्न सकिन्छ –त्यहि कटौती नै लामो समय पछि ठुलो रिजर्भको रुपमा जम्मा हुन आउछ।
सहयोग गर्न तपाइँ हाम्रो आत्माले सामाजिक आवश्यकताको महसुस गर्नुपर्छ। धन होइन, मन बलियो हुनुपर्छ। म आँफै बसेको न्युयोर्कमा एउटा सामुदायिक भवन अति नै आवश्यक छ – मेरो परिवारको लागि, तपाइंको परिवारको लागि र हामी सबैको परिवार बसेको यो समाजको लागि। अब भन्नुस, यो कार्यको शुरुवात मैले र तपाईले नगरे कसले गर्ला, अहिले नगरे कहिले लाई कुर्ने? आउनुहोस, सक्नेले धेरै सहयोग गरौ, नसक्नेले थोरै भएपनि गरौ तर गर्न चाहिँ सबैले केहि न केहि गरौँ।
चाडै नै एउटा शनिवार बिहान हाम्रा बालबच्चा आफ्नै सामुदायिक भवनको प्राङ्गणमा खेलेको हेर्दै भवनभित्र प्रवेश गरि कोठाको पाठशालामा नेपालका भाषाहरु सिकेको, मादल र सारंगी बजाएको हेर्दै हेर्दै पुच्छर को आध्यात्मिक हलमा गएर हाम्रा गुरुहरु द्वारा संचालित योगा कक्षामा सम्मिलित हुन म आतुर छु।