नेपालमा गर्भासय क्यान्सर रोगबाट ग्रसित महिलाहरूको सहयोगका लागी अमेरिकाको डालसमा हालै स्थापना भएको 'कमला शाक्य फाउन्डेसन'ले आज सम्पन्न गरेको 'फण्ड रेजिंग डिनर' मा करिब ३२ हजार अमेरिकी डलर सङ्कलन भएको छ।
स्थानीय समाजसेवी स्वर्गीय कमला शाक्यको नाममा स्थापित सो फाउन्डेसन'ले पहिलो चरणमा नेपाल स्थित धुलिखेल अस्पताल सँग सहकार्य गरी गर्भासय क्यान्सर सँग सम्बन्धित स्वास्थ्य जाँच उपकरण ( कोल्पस्कोपी) खरिद गर्ने योजना अनुसार 'फण्ड रेजिंग डिनरको आयोजना गरेको थियो।
उल्लेख्य मात्रामा सहभागी भएका स्वर्गीय शाक्यका पारिवारिक सदस्य तथा पारिवारिक मित्रहरू, स्थानीय सामाजिक संस्थाका प्रतिनिधिहरू र स्थानीय ब्याबसायीहरुले सयुंक्तरुपमा ३२ हजार डलर सङ्कलन गर्दै आवश्यक परे भविष्यमा पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
संकलित रकममा स्वर्गीय कमलाका पति स्वयम्भु शाक्य र उनको परिवारले थप सहयोग गरी निकट भविष्यमा नै कोल्पस्कोपी मासिन खरिद गरी धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने जानकारी कमला शाक्य फाउन्डेसनका प्रतिनिधि तथा शाक्य परिवारका पारिवारिक मित्र सुरज पौडेलले कार्यक्रममा दिएका थिए।
विगत लामो समय देखि गर्भासय क्यान्सरसँग लडी रहेकी कमला शाक्यले अप्रिल महिनाको १८ तारिखका दिन यो संसार छोडेकी थिइन्। स्वर्गीय शाक्यको इच्छा अनुसार नै नेपाली महिलाहरूको सहयोगका लागी फाउन्डेसनका नाममा काम सुरु गरिएको स्वर्गीय शाक्यका पति स्वयम्भु शाक्यले बताए। 'फण्ड रेजिंग डिनर'मा सहभागी भएर आफूले सोचेको भन्दा पनि बढी माया स्थानीय नेपाली समुदायले देखाएर आफ्नी दिवङ्गत श्रीमतीको अन्तिम इच्छालाई साकार गराउन मद्दत गरेको आफू यो समुदायको सदाभरको ऋणी भएको स्वयम्भुले सुनाए।
अमेरिकन संस्कृति अनुसार आज मनाइएको 'मदर्स डे'को सन्दर्भ पारेर आयोजित सो कार्यक्रमको सुरुवात समस्त जीवित र दिवङ्गत आमाहरूलाई सम्झँदै स्वर्गीय कमला शाक्यको तस्बिरमा दीप प्रज्वलन गरेर सुरु गरिएको थियो। कार्यकर्ममा स्थानीय विभिन्न सामाजिक सङ्घ-संस्थाका प्रतिनिधिहरूले फाउन्डेसनको सफलताको कामना गरेका थिए।
यो पनि पढ्नुहोस्: