पर्थ, प्रवासमा आयोजना हुने मेला र महोत्सवहरू यतिबेला नेपाल चिनाउने मेलाका रूपमा पनि प्रख्यात छन्।
विदेशमा रहेको नेपाली मनहरूलाई आफ्नोपन मेटाउनका साथै विदेशीहरूलाई विविधताले भरिएको सानो मुलुक नेपाल चिनाउन यस्ता खाले महोत्सवहरू उपयोगी बन्दै आएका छन्।
यतिखेर अष्ट्रेलियाको पर्थ नेपाल महोत्सवले सिंगारिएको छ। नेपाल र नेपाली चिनाउने उद्देश्यका साथ एनआरएन पश्चिम अष्ट्रेलियाले यसै शनिबार आयोजना गर्न लागेको पर्थ नेपाल महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। एक दिने महोत्सवमा नेपाली कला संस्कृति झल्काउनेदेखि परम्परागत धूनले सजाउनेसम्मका कार्यहरू हुनेछन्।
‘विदेशमा रहेका नेपालीलाई एकताको सुत्रमा बाध्नुका साथै यहाँ रहेका विदेशीहरूलाई नेपाल चिनाउने र यसको विविधताका विषयमा जानकारी गराउने हाम्रो पहिलो उद्देश्य हो’,एनआरएनका उपाध्यक्ष तथा पश्चिम अष्ट्रेलियाका संयोजक दीपक शर्माले भने।
स्थानीय एलिजाबेथ क्वेमा आयोजना हुने महोत्सवमा करिब १५ हजार दर्शकको उपस्थिति हुने शर्माले बताए।
‘विविधतामा एकता हाम्रो पहिचान भएकोले नेपाल नदेखेका र नसुनेका अष्ट्रेलियनहरूलाई हाम्रो पहिचान दिलाउन यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने।
यस्ता खाले महोत्सवहरूले नेपाल चिनाउने मात्र नभई हाम्रो सम्पदा र भूगोल अनि खानपिनको बारेमा पनि विदेशीले थाहा पाउने कुरा एनआरएन आइसीसी सदस्य राज थपलिया बताउँछन्। थपलियाले देशको माया साच्ने परदेशिएका नेपाली मनहरू जोड्ने माध्यमका रूपमा पनि महोत्सवको भूमिका रहेको सुनाउँछन्।
यस पटक महोत्सवको आकर्षकका रूपमा नेपाली सांगीतिक आकाशमा फरक धारका रूपमा परिचित कुटुम्ब ब्यान्ड रहेको छ। नेपाली परम्परागत धूनहरूलाई पश्चिमी राष्ट्रमा चिनाउने कुटुम्बको यो प्रयासलाई पर्थ महोत्सवले पनि प्राथमिकतामा राखेको छ।
यस पटक पर्थ महोत्सवको मुख्य प्रायोजकका रूपमा केबिए शैक्षिक परामर्श केन्द्र रहेको छ। त्यस बाहेक एक्सपर्ट, इनोभेटिभ एकाउन्टिङ सेलेब्रेसन होम्स, डोम र अष्ट्रेलियन टेक्निकल कलेजले महोत्सवको आयोजनामा सहयोग गरेका छन्।
‘परदेशमा बसेर व्यवसाय गरे पनि हामी नेपाल र नेपालीको पहिचानबाट पर बसेका छैनौं। हाम्रो माटोसँग जोडिएका हरेक कार्यक्रमहरू हाम्रा लागि प्राणभन्दा प्यारा छन्’,मुख्य प्रायोजक केबिएका शम्भु कँडेलले भने।
शनिबार आयोजना हुने महोत्सवलाई सफल बनाउन पर्थमा रहेका नेपाली समुदाय एकजुट भएर अगाडि बढिरहेको महोत्सव आयोजक समितिका प्रवक्ता दीपक शाक्यले बताए।