संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरू आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन्।
गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरू भएको हो ।
सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरू अनौपचारिक रूपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शनिबार जानकारी दिएका छन्।
उत्तर कोरियाली विदेशमन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की पुग्ने सरकारी टेलिभिजनले जानकारी दिएको छ ।
साथै, आइतबार नै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि हेलसिन्की आइपुग्ने जनाइएको छ।
उनीहरूबीच आइतबारै साँझ अनौपचारिक भेटघाट हुने पनि बताइएको छ।
यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ। विदेश मन्त्रालयले यी दुई अधिकारीहरूको भेटवार्ताको चाँजो मिलाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका गएका थिए।
उनको सो भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो।
राष्ट्रपति ट्रम्पले सो वार्ता प्रस्ताव स्वीकार गर्दै उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताएका थिए।
उनले भनेका थिए – हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता सफल हुनेछ र यसले हामीबीचका सबै कुरामा पनि खुलेर कुरा गर्ने अवस्था आउने छ।
उनले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेको कारणले वार्ताका लागि आफू उत्साहित भएको पनि बताएका थिए।
यसबीचमा राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गरेका छन्।
उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो। तर त्यसको मिति भने निश्चित भएको छैन।
त्यसैले यो हेलसिन्की वार्ता त्यस अगाडिको तयारीको लागि तय भएको अनुमान गरिएको छ । उक्त वार्ताको तयारीका लागि यी अधिकारीहरू अगावै भेट्न खोजेका अनुमान गरिएको छ ।
अमेरिका उत्तर कोरिया वार्ताको चर्चा सुरू भएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सफलताका लागि शुभकामनासम्म दिएका छन्। यी दुई देशबीच हुने भनिएको वार्ताको सफलताको कामना उनले यसै हप्ता गरेका छन्।
उता दक्षिण कोरियाली ती विशेषदूतले यसै हप्ता चीनका राष्ट्रपति सि चिनफिङलाई पनि भेटेका छन्।
उनले अमेरिका उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचमा भएको पछिल्लो विकसित घटनाक्रमका साथै वार्ताका बारेमा जानकारी गराएका छन्।
गएको फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरूको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महशुस गरिएको छ।