भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएका छन्।
गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले सुरू गरेको भ्रष्टाचारीहरूको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएका हुन्।
अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका विदेशी एजेन्सीले जानकारी दिएका छन्।
गएका केही हप्तायतादेखि उनीहरूमाथिका अभियोगको छानबिन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ। भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहेका हुन्।
उनलाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो। पछि उनीमाथिको अभियोग प्रमाणित नभएको भनेर मुक्त गरिएको बताइएको छ।
उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए। थुनामुक्त भएपछि पनि उनले भ्रष्टाचारविरोधी कारवाही सुरू गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताएका छन्।
राजकुमार तलाल साउदी अरेबियाका सबैभन्दा धनाढ्य वर्गका व्यक्तिहरूमा पर्दछन्। युवराज मोहम्मदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरूलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएका आरोप लगाइएको थियो।
राजकुमार तलालजस्तै अरु पनि केही संभ्रान्तहरू जेलबाट छुटेको बताइएको छ। कतिपय व्यक्तिहरूको आरोप प्रमाणित नभएको त कतिपय धरौटीमा छुटेको पनि बताइएको छ।