टेक्सस राज्यको डालस सहर स्थित नेपाली समुदायले आफ्नो धर्म, संस्कृति र भाषा जगेर्ना गर्ने क्रममा एक फड्को मारेको छ। डालसमा बढ्दो नेपाली आप्रबासीहरुको चाप लाई मध्यनजर गर्दै भविष्यमा एक नयाँ र ठुलो मन्दिर स्थापनाका लागी स्थानीय युलेस सहरमा थप २० रोपनी जमिन खरिद गरेको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र ( एनसीएससी ) ले जनाएको छ।
अमेरिकामा रहेका नेपाली समुदायहरूले आ-आफ्ना सामुदायिक केन्द्रहरू स्थापनाको पहल गरिरहेका बेला डालसको नेपाली समुदायले भने आफ्नो साबिकको केन्द्रका लागि लिइएको बैङ्क ऋण समेत चुक्त्ता गरेको छ।
नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र ( एनसीएससी ) ले चार वर्ष अघि खरिद गरेको मन्दिर सहितको सामुदायिक भवनको बैङ्क ऋण मध्यको बाँकी करिब एक लाख अमेरिकी डलर चुक्ता गर्दै ७ लाख डलर बराबरको सम्पत्ति सम्पूर्णरुपमा आफ्नो बनाएको हो।
हाल खरिद गरिएको जमिन सँग सँगै अन्य ३० रोपनी जमिन ७ वर्ष अघि खरिद गरिएको थियो। पुरानो र नयाँ गरी एनसीएससी सँग यूलेश सहरमा मात्र अब झन्डै ५० रोपनी जमिन भएको छ भने अरभिंग सहरमा १३ रोपनी जमीनमाँ करिब १० करोड नेपाली बराबरको भवन समेत छ। " हामीले वर्तमान भवनका लागी बैङ्क सँग लिएको ऋण मध्यको बाँकी रकम चुक्ता गर्नुका साथै युलेसमा थप जमिन खरिद गर्यौ " एनसीएससी बोर्ड अफ ट्रष्टीका उपसभापती मनोज सिग्देलले बताए। नयाँ जमिन साढे तिन लाख डलरमा खरिद गरिएको सिग्देलले जानकारी दिए।
जमिन खरिदका लागी ( एनसीएससी ) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै एनसीएससी बोर्ड अफ ट्रष्टीका सभापति विनय अर्यालले डालसको नेपाली समाजका लागी यो क्षण अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्दै यो पुण्य कार्यमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।