छोराछोरीहरू पढ्ने विश्वविद्यालयमा कहिलेकॉहि पुगेर त्याहॉको शैक्षिक वातावरण र स्तर हेर्दैगर्दा कल्पना गर्छु हामीले पढेको किर्तिपुरको रमणिय स्थानमा ३००० भन्दा बढी रोपनी क्षेत्रफलमा अवस्थित देशका नेता,प्रशासक र धेरै नीति निर्माण र कार्यान्वयन तहका जनशक्ति उत्पादन गरेको हाम्रो त्रिभुवन बिश्वबिध्यालय कहिले यस्तो हुने होला।
अमेरिकी उच्च शिक्षा कुनै काम वा विषयप्रतिको बौद्धिक र भावनात्मक निष्ठा,समाजप्रतिको आदर,राम्रो चरित्र,सेवा र विषयवस्तुमा दक्षता जस्ता सिद्धान्त र मुल्यहरुको वरिपरि केन्द्रित भएको हुन्छ।उच्चशिक्षाको प्रवेशमा नै कुन विषय पढ्ने,किन पढ्ने र उक्त विषय पढेपछि सम्बन्धित विद्यार्थीको भविष्य र समाजकोलागि के फरक पर्छ भन्ने जस्ता प्रश्नहरूमा विद्यार्थीहरू स्पष्ट हुनुपर्छ। पाठ्यपुस्तक र शिक्षक केन्द्रित अध्ययन भन्दापनि अमेरिकामा स्व:अध्ययन अर्थात् खोज, अध्ययन अनुसन्धानमा आधारित पठनपाठनमा जोड दिइने हुँदा विद्यार्थीहरूमा जागिर,पेसा वा व्यवसायका लागि आवश्यक समिक्षात्मक,सृजनशील,तार्किक र विश्लेशणात्मक शैक्षिक गुणहरूको विकास भइरहेको हुन्छ जुन देश विकासमा चाहिने गुणात्मक शिक्षाका महत्त्वपूर्ण विशेषताहरू हुन।
अनुशासनमा आधारित शैक्षिक वातावरण,कक्षाहरू र निरन्तरको शैक्षिक परामर्शले विद्यार्थीहरूका सम्भावित करियरका आयामहरूलाई स्पष्ट दिशानिर्देश गर्नुको साथै उनीहरूलाई शिक्षाको बहुआयामिक क्षेत्रको सम्भावना खोज्नसक्ने,नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने योग्य र उत्पादनशिल जनशक्ति बनाईदिन्छ। सबै विषयहरूका सैद्धान्तिक र व्यवहारिक ज्ञान आर्जन गर्न सक्ने अध्ययन अनुसन्धान केन्द्र र दक्ष र पेसाप्रति प्रतिबद्ध प्रोफ़ेसरहरु अमेरिकी विश्वबिध्यालयका आधारभूत कुराहरू हुन। स्वयंसेवकको रूपमा विभिन्न सामाजिक कार्य (Community service) गर्नु विद्यार्थीहरूको अध्ययनको एक भाग र सामाजिक दायित्व बनिरहेको हुन्छ।विद्यार्थीहरूको शैक्षिक तथा समग्र व्यक्तित्व विकास यस्तै कुराहरुलेनै हुने हुन ।
यदि कुनै व्यक्ति अमेरिकी शैक्षिक व्यवस्था वा विश्वविद्यालयको बारेमा सामान्य जानकारी राख्छ, कोही त्यहॉ अध्ययन अध्यापन गर्छ वा कसैका छोराछोरीहरू त्यहॉ पढ्छन् भने उसलाई थाहा होला एउटा युनिभर्सिटी सिस्टमभित्र धेरै विद्यार्थी संघसंगठनहरु हुन्छन्। राजनैतिक सङ्गठन त बत्ती बालेर खोज्नुपर्छ। कुनै प्राध्यापकले राजनैतिक प्रभाव र दबाबको सामना गर्नुपर्दैन। त्यसैले त प्राध्यापकहरू राम्रा छन् । स्थापित शैक्षिक मूल्य र मान्यता राम्रो छ ।शैक्षिक उत्पादन राम्रो छ । उत्पादित जनशक्ति संसारभरि बिक्छन् र देश, समाज र विश्वकालागि काम लाग्छन् ।अमेरिका संसारभरिका धेरै बिध्यार्थीहरुको उच्च शिक्षा अध्ययनको रोजाई त्यसै भएको होइन।
गतवर्ष हामी बस्ने सहरको टेक्सस ए एण्ड एम विश्वविद्यालय (TAMU)मा अमेरिकाका पाँच भू.पू. राष्ट्रपतिहरू एकै मञ्चमा भेला भए । उनीहरूको मुख्य उद्देश्य अमेरिकाका विभिन्न राज्यमा गतवर्षका प्राकृतिक विपतमा परेकाहरूलाई मानवीय सहयोग जुटाउनु र राष्ट्रिय एकता क़ायम गर्नु थियो नकि कुनै राजनैतिक कुरा गर्नु । सानो सहरको ठुलो शैक्षिक संस्थामा यसरी राजनेताहरू भेला भएर विश्वलाई नै शैक्षिक संस्थाको महत्त्व, समाजसेवा र एकताको संदेश दिएका थिए । शैक्षिक संस्थाको गरिमा यस्तै कुराहरूले बढ्ने हुन् ।
अमेरिकामा र अन्य देशका यस्ता शैक्षिक संस्थाहरूमा धेरै प्राज्ञिक र बौद्धिक नेपालीहरू हुनुहुन्छ। एकाध बाहेक धेरैजसो गुमनाम आफ्नो अध्ययन ,अध्यापन,अनुसन्धान वा आफ्नै काममा निरन्तर लागिरहनुभएको छ । विदेशमा सिकेको र आर्जन गरेको अनुभव, सीप र ज्ञान नेपालमा काम लागोस्, नेपालमा केही गरौँ, नेपालको राम्रो होस् भन्ने उहॉहरु धेरैको सोच र चाहना भएको मेरो बुझाई छ । मलाई लाग्छ सबै प्रवासी नेपालीहरू नेपाललाई मन, बचन र कर्मले माया गर्नुहुन्छ । आफू जन्मेहुर्केको समाजको लागि सबैले सकेको योगदान गर्नुपर्छ भन्ने भावना सबैको छ र प्रत्यक्ष अप्रत्क्ष रूपमा मन बचन र कर्मले गरिरहनु भएकोपनिछ । यो कुरा नेपाल सरकारले बुझ्नुपर्छ।
अमेरिकी र विदे़शका विश्वविद्यालयहरूमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले पनि नेपाली कला संस्कृतिलाई बचाउन,नेपाललाई विभिन्न माध्यमबाट विश्वमा चिनाउन व्यक्तिगत र उनीहरूका संघसंगठन मार्फ़त पर्यटन राजदूतको भूमिका निर्वाह गरिरहेका छन् । सम्बन्धित पक्षको ध्यान यिनीहरूलाई सहयोग र प्रोत्साहन गर्न तर्फ जान ज़रूरी छ।
कतिपय विषयका विज्ञहरू,अनुभवी मान्छेहरू विदेशमा आर्जन गरेको ज्ञान, सिप र अनुभव लिएर नेपाल फर्कन चाहनुहुन्छ भने कति फर्केर राम्रो गरिरहनुभएको पनि छ। यसको अर्थ नेपालमा पनि धेरै विषयका विज्ञहरू नभएको भने होइन तर ऊहॉहरुलाई आफ्नो ज्ञान र योग्यतालाई स्वतंत्ररुपमा देशहितमा प्रयोग गर्ने वातावरण राज्यले कति बनाईदिएको छ, वृत्ति विकासका अवसरहरू कति छन् जस्ता कुराहरूको मूल्याङ्कन गर्ने बेला आएको छ। उदाहरणको रूपमा बाढी पहिरो र भूकम्प आएको बेला पेशागत ज़िम्मेवारी पूरा गर्ने सवालमा त्यस्ता विज्ञहरूका विज्ञताक प्रयोग देशले नगरेको, राजनीतिक दल र नेताको प्रभाव र दबाबमा काम गर्नुपरेको भन्ने कुराहरू उनीहरू स्वयम्ले भन्दैगर्दा प्रस्ट हुन्छ ।शिक्षा,प्रशासन र कुनै पनि पेसा राजनीतिबाट टाढै रहनुपर्छ।
देशले संमृद्धिको दिशा लिदैछ । सबै नेपाली नमिले देश बन्दैन । राज्य र स्थानीय सरकारका जनप्रतिनिधीहरुले आफ्नो क्षेत्रका विदेशमा बस्ने विभिन्न विषयका विज्ञहरू र नेपालमा केही राम्रो काम गरौँ भन्ने भावना भएकाहरुको तथ्याङ्क राखेर, नेटवर्क बनाएर सम्भव भए विभिन्न सेमिनारको आयोजना गरेर बोलाउने, त्यो नभए ऊहॉहरु नेपाल आएको बेला छलफल, अन्तरक्रिया र गोष्ठिहरु गरेर त्यस्तो अनुभव, ज्ञान र सीप नेपाल र नेपालीको हितमा प्रयोग गर्न तर्फ सोच्ने बेला आएको छ भने अर्कों तर्फ विदेशिएको श्रम र सीपलाई नेपाल फर्कने वातावरण बनाउने तर्फ सम्बन्धित सबै गम्भीर भएर लाग्न जरुरी छ ।
अन्त्यमा नेपालको संमृद्धि र विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, गुणस्तरिय उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न, विज्ञान प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवम् व्यावहारिक र समय सापेक्ष बनाउने कुरामा नेपालको उच्चशिक्षा स्तरीय र गुणात्मक विदेशको शिक्षाबाट प्रभावित हुनुपर्छ ।विश्वविद्यालयहरूमा सुधार र विकास हुनुपर्छ। देश विकासमा चाहिने प्राविधिक र अन्य जनशक्ति उत्पादन गर्ने कुनै राजनीतिले नछोएको पवित्र र उत्कृष्ट शैक्षिक केन्द्र हाम्रा विश्वविद्यालयहरू हुनुपर्छ ता कि एम.ए. को प्रमाणपत्र थन्क्याएर कुनै बेरोज़गार युवा विदेशिनु नपरोस् र विदेशमा विद्यावारिधि गरेको कुनै नेपालीले नेपालमा गएर काम गर्न कुनै नेताको चाकरी गर्नु नपरोस् । नेपाली विश्वविद्यालयबाट असल र सफल जनशक्ति उत्पादन होउन् ।